१६ वर्षमै प्रेम विवाह, १९ मा बिछोड : पति कारागारमा, पत्नी अस्पतालमा

बैतडी, १९ असार । ‘बिहाबारी २० वर्ष पारि’ भन्ने नारा र कानुनी व्यवस्था भए पनि बैतडीकी जानकी साउदको १६ वर्षमै लक्ष्मण साउदसँग प्रेम विवाह भयो । जीवनभरि सँगै बाँच्ने र सुखी जीवन बिताउने कसम खाएका प्रेमीले दुई वर्ष नपुग्दै जानकीलाई धोका दिई अर्की केटीसँग लागे । सोह्रै वर्षमै प्रेमी खोजेर बिहे गरेकी जानकी १९ वर्ष नपुग्दै छुट्टिनु प-यो । त्यति मात्र होइन, जानकीले मायाको चिनो छोरी पनि जन्माइन । परिवारमा खुसीको साटो झन् दुःखका दिन सुरु हुनथाले । बहुविवाह गरेका कारण प्रेमी लक्ष्मण हाल थुनामा छन् भने जानकी अस्पतालको बेडमा । यो घटना जिल्लाको पुरचौडी नगरपालिका–६, भूमिराजको हो । लक्ष्मणले गएको मङ्सिरमा अर्की युवतीसँग विवाह गरेपछि उनी कानुनको फन्दामा परे । 

 

जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीका अनुसार लक्ष्मण बहुविवाहको कसुरमा पुर्पक्षका लागि थुनामा छन् । तीन वर्षअघि कक्षा ८ मा पढ्दै गर्दा जानकीको लक्ष्मणसित प्रेम बस्यो । विवाहपछि जानकीको पढाइ छुट्यो तर प्रेमी लक्ष्मणले भने पढाइ जारी राखे । कक्षा ११ मा पढ्दै गर्दा लक्ष्मणले आफ्नै कक्षामा पढ्ने अर्की १७ वर्षीया युवतीसँग दोस्रो प्रेम विवाह गरे । नयाँ प्रेमिका घर भिœयाएपछि लक्ष्मणले जेठी श्रीमती जानकीलाई घर छोड्न दबाब दिए । जानकीको पेटमा बच्चा हुर्कंदै थियो । गएको मङ्सिरमा छोरी जन्मेपछि जानकीको जीवनमा खुसीको सट्टा थप सङ्कट थपियो । 

null

लक्ष्मणले दोस्रो विवाह गरेपछि जानकीको माइती पक्षले प्रहरीमा उजुरी दिए । यो कुरा जानकीलाई थाहा थिएन । बहुविवाह गरेका कारण लक्ष्मण कानुनको कठघरमा उभिन पुगे । प्रहरीले लक्ष्मणलाई पक्राउ परेर जिल्ला सदरमुकाम ल्यायो । लक्ष्मणलाई बहुविवाह गरेको कसुरमा कारागार चलान गरियो । लक्ष्मणले धोका दिए पनि जानकी अझै पनि लक्ष्मणलाई अझै माया गर्छिन र भलाे चिताउँछिन् । प्रेमी जेल चलान भएकोमा जानकी दुःखी छिन । जिल्ला अस्पतालमा सानी छोरी काखमा राखेर बसिरहेकी जानकी भन्छिन् ‘माइतीले उजुरी गरेका हुन् । लक्ष्मणले तनाव दिए पनि जेल हाल्नुपर्छ भन्ने मैले सोचेकी थिइनँ । उहाँ जेलमा हुनुहुन्छ, म अस्पतालमा छु, घरपरिवार र माइतीबाट कोही पनि भेटघाट गर्न आएका छैनन्, अब म कता जाऊँ ?’ 

दुई महिनाअघि प्रेमीको मुद्दाबारे बुझ्न बैतडी पुगेकी जानकी बच्चाको स्वास्थ्यमा समस्या भएपछि जिल्ला अस्पतालमा भर्ना भइन । अस्पताल भर्ना हुँदा उनका घरपरिवार र माइती पक्षबाट भेटघाट गर्न र सन्चो बिसन्चो सोध्न कोही पनि आएका छैनन् । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो छ । अस्पतालले घर जान भने पनि जानकीले आफ्नो जाने ठाउँ कतै नभएको भन्दै अस्पतालमै बस्न अनुनयविनय गरिन । जिल्ला अस्पताल बैतडीले उनलाई खान र बस्न दिएको जानकारी जिल्ला अस्पताल बैतडीका डा. जगदीश विष्टले दिए । 

मानवीय नाताले दुई महिनासम्म अस्पतालले खान र बस्न सहयोग गरे पनि लामो समय अस्पतालमा राख्न नसकिने डा. विष्टको भनाइ छ । जिल्ला समन्वय समितिसँग जानकीलाई महिला पुनःस्थापना केन्द्रमा राख्नेबारे सल्लाह भइरहेको डा. विष्टले बताए । जुनी–जुनी सँगै बाँच्ने कसम खाएका प्रेमीले छाडेर अर्को विवाह गरेर पछि घर–परिवार र माइती पक्षले समेत साथ नदिँदा अस्पतालमा बसेर जानकी दुःखका आँसु बगाइरहेकी छिन् । गहभरि आँसु पार्दै जानकी भन्छिन्, “जाने ठाउँ र पुग्ने गन्तव्य कहीँ छैन । म कहाँ जाऊ ?” आजको सरल पत्रिकामा गोकर्ण दयालले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *