तिहारमा चितवनको फूल उत्पादनले ८० प्रतिशत माग पूरा

कात्तिक १५, भरतपुर । चितवनको फूल उत्पादनले यस वर्षको तिहारमा यहाँको झन्डै ८० प्रतिशत माग पूरा गर्ने भएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवनले पछिल्लो समय जिल्लामा फूल खेती फस्टाउँदै गएको हुनाले यहाँको अत्यधिक माग कम हुँदै गएको जनाएको छ । 

फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष प्रकाश पन्तले फूलखेतीमा किसानको आकर्षण बढिरहेको बताए । उनले भने, ‘यसमा पनि अझ तिहारमा मालाको रुपमा बढी प्रयोग हुने सयपत्री र ग्लाडिओलस फूलको खेती बढी भएको छ ।’ 

null

अध्यक्ष पन्तका अनुसार यसवर्ष चितवनमा झन्डै ५० बिघामा फूलखेती भइरहेको छ । गत वर्ष ४०–४२ बिघामा फूलखेती भएको थियो । अध्यक्ष पन्तले भने, ‘५ वर्षअघि चितवनमा २५ बिघामा फूलखेती भएको थियो, अहिले यसको डबल भएको छ ।’ 

चितवनमा सबैभन्दा बढी २५ बिघामा सयपत्री, १५ बिघामा ग्लाडिओलस, ५ बिघामा मखमली, २ बिघामा गोदावरी, १ बिघामा गुलाफ, १० कठ्ठामा जरवेरा फूलको खेती भइरहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । चितवनका फूलखेती गर्ने किसानहरुले यस वर्षको तिहारका लागि सयपत्री, गोदावरी र मगमली फूल तयार पारिसकेका छन् । 

परम्पराअनुसार धनकी लक्ष्मीलाई चढाउन कमलको पूmल चाहिने भए पनि चितवनमा भने कमल फूलको व्यावसायिक उत्पादन नभएको अध्यक्ष पन्तले बताए । 

‘गत वर्ष चितवनमा ३० प्रतिशत फूल बाहिरबाट आयात भएको थियो, यसवर्ष २० प्रतिशतभन्दा बढी फूल बाहिरबाट मगाउनु पर्दैन’, अध्यक्ष पन्तले भने, ‘अब थप २५ बिघामा तिहारमा प्रयोग हुने फूलखेती गरियो भने यहाँको मागलाई सजिलै धान्छ ।’ 

यसवर्ष चितवनमा ५० हजारवटा माला बन्ने फूलको माग हुने अनुमान गरिएको छ । गत वर्ष ४० हजार वटा माला बन्ने फूलको माग थियो । यसवर्ष आफ्नै घरमा निजी प्रयोजनका लागि लगाइएको फूल पनि राम्रो भएको हुनाले फूलको माग धेरै नबढ्ने एसोसिएसनले जनाएको छ । 

तिहारको समयमा चितवनमा देशबाहिरबाट समेत कृत्रिम फूलहरु आयात हुने गरेको छ । यसबाहेक धादिङ, गोर्खा, लमजुङ लगायतका ठाउँहरुबाट पनि चितवनमा फूल आयात हुन्छ । 

भरतपुर ७ मा सयपत्री फूलखेती सामूहिक रुपमा गरिएको छ । सयपत्री फूलखेती समूहका अध्यक्ष ईश्वर श्रेष्ठले २ वर्षदेखि सामूहिक रुपमा फूलखेती गरिएको बताए । उनले भने, ‘डेढ बिघामा सामूहिक फूलखेती गरिएको छ, यसवर्ष झन्डै १५ हजार माला बन्ने फूलखेतीको उत्पादन हुन्छ ।’ उनले ५ हजारको फूलको अर्डर आइसकेको बताए । 

बाहिरबाट फूल आयात भए पनि आफ्नो व्यवसायलाई कुनै असर नगर्ने उनको भनाइ छ । उनले भने, ‘प्राकृतिक फूलको माग छ, यसवर्ष पनि फूलको माग धान्न मुस्किल पर्छ ।’ उनको समूहले खुद्रा, होलसेलका रुपमा फूल बिक्री गरिरहेको छ । 

किसानहरुले फूलखेतीमा आकर्षण गर्न सरकारले बीउबिरूवा सुलभ रुपमा उपलब्ध गराउनुपर्ने, अनुदानहरु दिनुपर्ने बताएका छन् । स्थानीय तहले पनि फूलखेती गर्ने किसानका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने वातावरण बनाइदिन किसानहरुले माग गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *