रत्ननगरलाई लुमन्तीकाे र खैरहनीलाई प्याव्सनको सहयोग

वैशाख २ रत्ननगर । सुकुम्वासीहरुको क्षेत्रमा काम गर्दै आएको लुमन्ती आवासका लागि सहयोग समुहले रत्ननगरको विपद राहत कोषलाई एक लाख रुपैंया सहयोग गरेको छ । रत्ननगर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषलाई लुमन्तीले मंगलबार सो रकम सहयोग गरेको हो ।   

एक लाखको चेक लुमन्ती रत्ननगर कार्य क्षेत्र संयोजक सिंहवहादुर लामाले रत्ननगरका मेयर नारायण वनलाई हस्तान्तरण गरे । सुकुम्वासीको क्षेत्रमा काम गर्ने भएपनि विपदका वेला नगरसँग सहकार्य स्वरुप सो रकम सहयोग गरिएको लुमन्तीका संयोजक लामाले बताए ।   

चेक ग्रहण गर्दै मेयर वनले सुकुम्वासीको क्षेत्रमा दुवै संस्थाबीच सहकार्य भएजस्तै विपदका वेला लुमन्तीले गरेको सहयोग रोग नियन्त्रण तथा राहतको काममा सदुपयोग हुने विश्वास दिलाए । लुमन्तीले विगत ८ वर्षदेखी यहाँका सुकुम्वासी, विपन्न समुदायमा सचेतना मुलक कार्यक्रम, आयआर्जनका कार्यक्रम र आवास निर्माणमा सहयोग गर्दै आएको छ । लुमन्ती र नगरपालिकाले संयुक्त रुपमा कोष समेत बनाएर सुकुम्वासीलाई न्युनतम व्याजदरमा ऋण प्रवाह गरेर आवास निर्माणमा लगानी गरेको छ ।   

खैरहनीको राहत कोषलाई प्याव्सनको सहयोग 

यता खैरहनीको विपद राहत व्यवस्थापन कोषलाई ७५ हजार रुपैया रकम सहयोग भएको छ । निजी विद्यालयहरुको छाता संगठन प्याव्सन खैरहनीले आजै ७५ हजार १ सय रुपैंया सहयोग गरेको हो ।  

नगद ५० हजार र २५ हजार १ सय रुपैयाको चेक खैरहनी प्याव्सनका अध्यक्ष टेकराज अधिकारीले खैरहनीका मेयर लालमणि चौधरीलाई हस्तान्तरण गरे । खैरहनी प्याव्सनको सक्रियतामा नगर भित्रका १३ वटा निजी विद्यालयहरु बाट सो रकम संकलन भएको थियो । रकम हस्तान्तरणका लागि प्याव्सनका पदाधिकारी र सदस्यहरु नगरपालिका पुगेका थिए । 

 रकम सहयोग गर्ने विद्यालयहरुमा ग्लोसाईन एकेडेमी, मेरी गोल्ड इग्लिस वोडिङ स्कुल, इन्टरनेशनल इग्लिस मोर्डन स्कुल, मदरल्याण्ड एकेडेमी, नेशनल आवासीय मावि, नेपाल आर्दश शिक्षा सदन, मोर्डन इग्लिस वोर्डिङ स्कुल, ज्ञानसुदा इग्लिस स्कुल, ओसियन एकेडेमी र कुमरोज एकेडेमी, होली गार्डेन इग्लिस स्कुल, लोटस इग्लिस स्कुल र चितवन आईरिस स्कुल रहेका छन् ।  

रकम ग्रहण गर्दै खैरहनीका मेयर लालमणि चौधरीले विपदका बेला निजी विद्यालयहरुले गरेको सहयोग प्रति धन्यवाद दिँदै यसले विपदमा सबै नेपाली एक हुन्छन् भन्ने सन्देश दिएको बताए । कोरोना भाईरसको सक्रमण देखिएपछि स्थापना गरिएको सो कोषमा हाल सम्म ५ लाख २५ हजार भन्दा बढि रकम सहयोग भईसकेको छ भने एक लाख ५० हजार बराबरको जिन्सी सहयोग प्राप्त भईसकेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *