गुण सिनेमाका प्रबन्धक भन्छन्–‘सरकारको निर्णय ठिक छ तर हामी घाटामा जान्छौँ’
चैत्र ७, काठमाडौं । नेपालमा कोरोना महामारी आइपुग्न तथा फैलन नदिन सतर्कता स्वरुप सरकारले बुधबार धेरै भिडभाड हुनसक्ने ठाउँहरू वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गर्यो ।
सरकारको सो निर्णयसँगै आज शुक्रबारदेखि लागू हुनेगरी सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, पौडी पोखरी, डान्सबार लगायत स्थलहरू आगामी वैशाख १८ गतेसम्म बन्द रहनेछन् ।
देशभरी १ सय ६० सिनेमा हल चालु अवस्थामा छन् । हल बन्द गर्ने निर्णयसँगै चैत र वैशाखमा रिलिज हुन लागेका चलचित्र ‘प्रेम गीत ३, चपली हाइट, म यस्तो गीत गाउँछु २, नीरफूल, हिरो रिटन्र्स, हिजो आजका कुरा’ ले प्रदर्शन मिति सारिसकेको छ ।
यो अवस्थामा सरकारको उक्त कदमको कसैले मुक्तकण्ठले प्रशंसा गरेका छन् भने कतिपय व्यवसायीले डर र त्रासमा व्यवसाय नै ठप्प पार्न नहुने तथा यो निर्णय गलत भएको तर्क गरिरहेका छन् ।
यद्यपी गुण सिनेमा हलका प्रबन्धक महेश केजुले भने केही समयका लागि सिनेमा हल बन्द गर्ने सरकारको निर्णय सही भएको बताएका छन् । ‘अहिले विश्वभर कोरोनाको महामारी छ । नेपालमा हालसम्म संक्रमण नदेखिएपनि जोखिम उतिकै छ । यस्तो अवस्थामा सरकारले भिडभाड हुने स्थानहरु बन्द गरेर राम्रो गरेको छ’, उनले भने ।
हल तथा कर्मचारी खर्चको व्यवस्थापन गर्न भने कठिन हुने उनले बताए । वैशाखसम्ममा स्थितिमा केही परिवर्तन आउन सक्ने र यदि स्थिति झनै नाजुक भएमा विकल्प खोज्ने उनको भनाइ छ ।
‘वैशाखसम्ममा स्थिति नियन्त्रणमा आउन पनि सक्छ । लामो समयसम्मै कोरोनाको प्रभाव पर्यो भने सरकारसँग हामी सरोकारवाला पक्ष छलफल गर्छौँ र यसको विकल्प खोज्छौँ’– उनले बताए ।
उनका अनुसार हलको मासिक खर्च करिब ११/१२ लाख हुन्छ । आम्दानीको भने कुनै टुंगो हुँदैन । मंसिरदेखि चैत्रसम्मको हिसाब नियाल्ने हो भने आम्दानी शून्य छ । यो अवधिमा दुई वटा चलचित्रबाट मात्रै अलिकति आम्दानी भएको उनी बताउँछन् । १०–१५ दिनमा कोरोना निर्मुल हुँदै गयो भने यो अवधिको कर्मचारीको तलब नकाटिने उनले बताए ।
‘आम्दानी नभएपनि कर्मचारीलाई तलब दिनैपर्छ । विद्युत महशुल तिर्नैपर्छ । यो डेढ महिना हामी घाटामा जान्छौँ । र त्यो समयसम्म पनि स्थिति नियन्त्रणमा आएन, लामो समयसम्म हल बन्द गर्नुपर्यो भने व्यवस्थापनको बैठक बसेर कर्मचारीको तलबबारे निर्णय गर्नेछौँ । साथै सरकारसँग पनि छलफल गर्नेछौँ’, उनको भनाइ छ ।
यी हुन् कोरोना नियन्त्रणका लागि सरकारले बुधबार गरेको १५ निर्णय :