कालोबजारी गरिए हदैसम्मको कारबाही गर्छौं : मन्त्री भट्ट

काठमाडौं, २४ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनै पनि अभाव नहुने स्पष्ट पारेका छन् । अत्यावश्यक वस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि उनले चेतावनी दिएका छन् ।   

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले अहिले बजार अनुगमन एकीकृत रुपमा गरिएको पनि स्पष्ट पारे । उनले वाणिज्य विभाग र औषधी विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको सुनाए ।   

उनले भने,‘अहिलेको जनशक्तिले प्रभावकारी रुपमा काम गरिरहेको छ । तर, अझै जनशक्ति थप्नेबारे कुरा पनि भएको छ । यसको लागि हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेका छौं ।’   

यसको साथै, बजार व्यवस्थित्, कालोबजारी र कृत्रिम अभाव रोक्नको लागि गृह मन्त्रालयसँगपनि समन्वय भैरहेको उनले सुनाए ।   

उनले कालोबजारी र बदमासी गर्नेहरुलाई कुनैपनि हालतमा उन्मुक्ति नदिने बताए । उनले भने,‘तिनीहरुलाई सरकारले कुनैपनि हालतमा बचाउँदैन् । हदैसम्मको कारबाही गर्छ । कुनैपनि छुट हुँदैन् ।’   

मन्त्री भट्टले आफूले आजमात्रै पनि एक औषधी पसलमा गएर स्यानिटाईजेशन माग्दा २० रुपैयाँ आईसीको सामानलाई १५० रुपैयाँको बिल बनाएर पठाएको कुरा औषधी पसलले सुनाएको उल्लेख गरे । उनले भने,‘त्यही भएर मैले त सामान नै नबेचेको भनेर भन्नुभयो । अर्को कुरा १५ रुपैयाँ पर्ने मास्क पनि ५० रुपैयाँको बिल बनाएको पनि उहाँले सुनाउनुभयो । हरेकले आफ्नो ठाउँबाट दायित्व पूरा गर्नुपर्छ ।’   

उनले आफूले समेत एक दिनको लागि पुग्ने खाद्यान्न तथा तरकारी ल्याउने गरेको सुनाए । उनले भने,‘आज विहान एकजना सञ्चारकर्मी क्वाटरमा आउनुभएको थियो । उहाँलाई मैले मेरो भान्सामा गएर हेर्न सुझाएको थियो । हामी त विहान चाहिने विहान र बेलुका चाहिने कुरा बेलुका ल्याउने गर्छौं ।’ उनले बजारमा अहिलेपनि नून, तेल, ग्याँसलगायत केहीको पनि अभाव नभएको स्पष्ट पारे । उनले उपभोक्ताहरुले चार महिनालाई पुग्नेगरि स्टक राख्न खोजिएकोले अभावजस्तो देखिएको तर्कसमेत गरे ।   

सरकार कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा नहोस भनेर गम्भिर भएको पनि स्पष्ट पारेका छन् । भारत र चीन दुवैतिरबाट हुनसक्ने समस्याको निराकरण गर्न सरकार गम्भिर रहेको सुनाउँदै उनले भारतको नयाँ दिल्लीमा यसको प्रभाव तथा संक्रमण बढेपछि नेपाल सरकार गम्भिर रहेको पनि विश्वास दिलाए ।   

मन्त्री भट्टले मुख्य–मुख्य नाका तथा भन्सार (स्थलगतमार्ग) अर्थात् सिमावर्ती क्षेत्रमा पनि क्वारेन्टाईन राख्ने व्यवस्था गरिएको स्पष्ट पारे । त्यस्तै, देशभरिका अस्पताललाई आईसोलेशन बेडको व्यवस्था पनि गरिएको उनले सुनाए । देशभरि प्रशिक्षित स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए । उनले भने,‘५२ हजार ग्रामिण स्वास्थ्यकर्मीहरु पनि प्रशिक्षित गरिएको छ । त्यहीअनुसार प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई पनि स्ट्याण्डबाई राखिएको छ ।’   

उनले नेपाल कोरोनाको संक्रमणबाट प्रभावित नभएको दाबी गरे ।   

उनले अहिले नै खाद्यान्नलगयात अत्यावश्यक वस्तुको अभाव हुन्छ भनेर आँत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बताउँदै ग्याँस सिलिण्डर घरमा दश वटास्टोर गरेर नराख्न आग्रह गरे । उनले भरिएको ग्याँस राख्दा दुर्घटना पनि हुनसक्ने भन्दै ग्याँसको अभाव भए आफुहरुलाई खबर गर्न पनि आग्रह गरे ।   

भारतले नेपाललाई औषधीमा प्रतिबन्ध लगाउने निर्णय गरेको सवालमा सोधिएको प्रश्नमा उनले भने,‘हरेक मुलुकले आफ्नो देशमा संकट भएको अवस्थामा अत्यावश्यक वस्तु स्टोर गर्नु सामान्य कुरा हो । भारतले पनि यी–यी वस्तु निर्यात नगर्ने भनेर सूचना जारी गरेको थियो । तर, हामीले भारतसँग कुरा गरेका थियौं । उहाँहरुले पनि अहिले कुनै समस्या छैन् । हामी पठाउँछौं भनेको छ ।’   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *