भारतको १४ औं राष्ट्रपति बने रामनाथ कोविन्द

“काठमाडौं, साउन ५ । भारतको राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा कोविन्दले ६६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी मिरा कुमारले भने ३४ प्रतिशत मत प्राप्त गरेकी छन् ।

भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित कोविन्दलाई सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धनले आफ्नो उम्मेदवार बनाएको थियो । विपक्षी कंग्रेस आईको गठबन्धनले पूर्व सभामुख मिरा कुमारलाई उठाएको थियो ।

नवनिर्वाचित राष्ट्रपति कोविन्द दलीत समुदायका हुन् । वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल जुलाई २४सम्म रहेकाले नवनिर्वाचित राष्ट्रपति कोविन्दले जुलाई २५ मा शपथ लिने कार्यक्रम रहेको छ ।

भारतमा राष्ट्रपतीय निर्वाचन ‘इलेक्टोरल कलेज’द्वारा गरिने व्यवस्था छ । यो ‘इलेक्टोरल कलेज’ निर्वाचन मण्डलमा लोकसभा, राज्यसभा र विधान सभाका सदस्यहरु रहने गर्दछन् । जसमा जनसंख्याको आधारमा सांसदहरुको मतको मूल्य कायम गरिएको हुन्छ ।

लोकसभा र राज्यसभाका सदस्यहरुको मतको मूल्य बराबर हुन्छ । तर, विधानसभाका सदस्यको मतको मूल्य भने राज्यको जनसख्ंयाको आधारमा तय हुन्छ । राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशत मत आवश्यक हुने गर्दछ ।

विहारका पूर्व गभर्नरसमेत रहेका कोविन्दको जन्म सन् १९४५ अक्टोबर १ मा उत्तर प्रदेशको कानपुर देहातमा भएको थियो । उनले कानपुर विश्वबिद्यालयबाट एलएलबी र बीकमको पढाइ पूरा गरेका छन् ।

सन् १९७७ देखि १९७९ सम्म दिल्ली हाईकोर्टमा केन्द्र सरकारको वकिल रहेका उनले सन् १९८० देखि १९९३ सम्म ‘स्ट्न्याडिङ काउन्सिल’मा बसेर काम गरेका थिए ।

त्यस्तै, उनी सन् १९७१ मा दिल्ली बार काउन्सिलमासमेत मनोनीत भएका थिए । उत्तर प्रदेशबाट राज्यसभाका लागि सन् १९९४ मा सांसद चुनिएपछि निरन्तर १२ वर्षसम्म राज्यसभाका सांसद रहेका थिए । (एजेन्सी)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *