अब धनकुटा देखि धरानसम्म जीपलाईनमा सरर !

फागुन २४, धरान । साहसिक खेल पर्यटनको रुपमा रहेको जीप लाइन अब धरानमा ब्यवसायिक रुपमा शुरु भएको छ । धनकुटाको भेडेटारदेखि धरानको देवीस्थानसम्म शनिबारबाट ब्यवसायिक रुपमा साहसीक खेल जीपलाइन शुरू भएको छ ।   

जीप लाइन धनकुटाको भेडेटार चोकबाट सुरु भएर धरान–४ देवीथान ल्याण्डिङ प्वाइन्ट राखिएको छ । 

साहसिक खेलको रुपमा रहेको जीपलाइनको शनिबार एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले जीपलाइनले प्रदेश १ को मात्रै नभएर समग्र पर्यटन क्षेत्रमा टेवा पुर्याउने बताए । साथै मन्त्री राईले पर्यटन वर्ष २०२० लाई लक्षित गरी ‘जीप लाइन’ शुरूवात भएको बताए । 

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, साँगुरीगढी गाउँपालिकाका प्रमुख कुमारजंङ्ग याक्खा, होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धरान–४ का वडाध्यक्ष मानबहादुर राईलगायतले साहसिक पर्यटनमा अर्को इट्टा थपिएको बताए । यसले भेडेटार र धरानको आर्थिक संमृद्धिमा टेवा पुग्ने उनीहरूको भनाई छ । 

जिपलाईनका सञ्चालक तथा वल्र्डवाइड प्रा.लि.का प्रमुख केदारबहादुर थापाले प्याराग्लाइडिङ पछि जीप लाइन साहसिक खेल भित्रिएको बताए । उनका अनुसार यो बञ्जी जम्पजस्तै साहसिक खेल हो ।   

सञ्चालनमा आउने जीप लाइनमा तीन प्रकारका साहसिक खेल रहेका छन् । कम्पनीले एकजना मात्रै खेल्न मिल्ने गरी क्लासिक जीपलाइन, दुईजना अर्थात् प्रेमजोडी एकैपटक खेल्न मिल्ने गरी कप्पल जिपलाइन र सुतेर अनि हात फिँजाएर खेल्न मिल्ने सुपरम्यान गरी तीन प्रकारको साहसिक खेल सञ्चालनमा ल्याएको छ ।   

पर्यटकहरुको आफ्नै रोजाई र इच्छाका आधारमा जीप लाइनको मज्जा लिन सकिने व्यवस्था रहेको सञ्चालक विवश भण्डारीले जनाए ।  

६ सय ५० मिटर लामो जीपलाइनमा करिब ३५ देखि ४५ सेकेण्डसम्म मज्जा लिन सकिन्छ । ७ महिना अघिदेखि वल्र्ड वाइड ग्रुप नेपाल धरानले निर्माण शुरु गरेर अहिले सञ्चालनमा ल्याएको हो । प्रा.लि.का सञ्चालक केदार थापा, यम राई, डोलिका लिम्बू, विवश भण्डारीले दुई वर्ष अध्ययन गरेर जीपलाइन साहसिक खेलको शुरूवात गरेका हुन् । करिब ३ करोडको लगानीमा यो खेल सञ्चालन भएको हो । 

जीपलाइनमा जोडीले जिपलाइङ गरे १८ सय, सुपरम्यानको १५ सय र क्लासिकको १२ सय रूपैयाँ मूल्य तोकिएको छ । जीपलाइनमा १० वर्षदेखि ७५ वर्ष उमेरसम्मले मज्जा लिन सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *