व्यापार घाटा डरलाग्दो स्थितिमा

काठमाडौं, साउन ५ । व्यापार घाटा डरलाग्दो स्थितिमा पुगेको छ । गत आर्थिक वर्षको जेठ महिनासम्म व्यापार घाटा ८ खर्ब २७ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको जेठ महिनासम्मको देशको वर्तमान आर्थिक स्थितिमा व्यापार घाटाको डरलाग्दो तथ्यांक देखाइएको हो ।

जेठ महिनासम्म समीक्षा अवधिमा कुल वस्तु आयात ३०।९ प्रतिशतले बढेर ८ खर्ब ९६ अर्ब ५७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १।६ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा ६८ अर्ब ६२ करोड रुपैयाँकोमात्रै वस्तु निर्यात भएको छ ।

समीक्षा अवधिमा भारतबाट ३९ प्रतिशत, चीनबाट १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३।४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६ खर्ब ३३ अर्ब ४२ करोड पुगेको छ ।

खुद ट्रान्सफर आय ७ खर्ब ७५ अर्ब ६४ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा मूल्यवृद्धिमा भने निकै सुधार देखिएको छ । जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २।८ प्रतिशत कायम भएको छ । २०७३ जेठ महिनामा सो मुद्रास्फीति ११।१ प्रतिशत रहेको थियो ।

गत वर्षको उच्च आधार मूल्य र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण नै मुद्रास्फीति सहज भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ११।९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *