एक महिनादेखि दर खाएपछि दर खाने दिनको के महत्व रहन्छ र ?

हरितालिका तीज अर्थात् हिन्दू नारीहरुको महान पर्व, जसले नारीहरुलाई एकजुट बनाउँछ । त्यही भिडमा सुख, दुःख, खुशी साटिन्छ । पीडा पोखिन्छ ।  यो चाड भाद्र शुक्ल तृतियादेखि पञ्चमीसम्म मनाइन्छ । विवाह भइ माइतीघर छोडेर गएका चेलिबेटीहरुलाई बोलाएर दर खुवाउने गरिन्छ । तीजमा विशेषगरी भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने, दिदीबहिनी जम्मा भएर नाचगान गर्दै एकापसमा सुखदुखः साटासाट गर्ने चलन छ । विवाहिता नारीहरु श्रीमानको दिर्घायुका लागि यो व्रत बस्छन् भने अविवाहिता नारीहरु राम्रो श्रीमान् पाऊँ भनि व्रत बस्ने परम्परा छ ।   

यो पर्वले परिवार, दिदीबहिनी, दाजुभाइ बिचको आत्मियता बढाएपनि पछिल्लो समय तीज पर्वमा विकृतिले ठाउँ पाएको छ । तीजमा के कस्ता विकृति भित्रिएका छन्, यसको संरक्षण कसरी गर्ने ? व्रत बस्दा के गर्नुहुन्छ, के हुँदैन ? विषयमा प्राध्यापक, सँस्कृतिविद् तथा पूर्व राज्यमन्त्री कान्ता भट्टराईसँग गरिएको कुराकानी संक्षेपः 

तीज कस्तो पर्व हो ?   

हामी नेपाली सँस्कृतिका धनी छौँ । हाम्रो देश साँस्कृतिक विविधताले भरिपूर्ण छ । हाम्रा विभिन्न पर्वहरु छन् । ती पर्वहरुमध्ये तीज पनि एक महत्वपूर्ण पर्व हो । तीज विशेषगरी महिलाहरुले मनाउने पर्व हो ।   

यो दिन गौरीशंकरको आराधना गरिन्छ । तीजको व्रत पतिको दिर्घायुका लागि बस्ने भनिए पनि यसले आफू, परिवार, समस्त जगतको कल्याण गर्छ । यो पर्वले सम्पूर्ण दिदीबहिनी, परिवारको जमघट गराउँछ । यो दिन विवाहिता नारीहरु नारीहरु रातो कपडा, रातो चुरा, रातो टिका, सिन्दुर, गरगहनाहरुले सजिएका हुन्छन् । 

भाद्र शुक्ल तृतियाकै दिन यो पर्व मनाइनुको कारण के हो ?   

विभिन्न धर्मशास्त्र तथा पुराणहरुमा उल्लेख गरिए अनुसार हिमालयकी छोरी पार्वतीले महादेव पति पाउने वरदान पाएकी थिइन् । तर हिमालयले उनको विवाह विष्णुसँग गरिदिन लागेपछि दुःखी हुँदै उनले सो कुरा आफ्ना सखीहरुलाई सुनाइन् । सखीहरुले उनलाई पिताको घरबाट हरण गरेर लगी गौरीघाटमा लुकाई राखे । त्यहीँ उनले महादेवको तपस्या गर्न थालिन् । निराहार व्रत बसिन् । निराहार व्रतका दिन उनको अगाडी स्वयम् महादेव उपस्थित भए र बिवाहका लागि निश्चिन्त बन्न उपदेश दिए । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । त्यसकारण त्यही दिनमा व्रत बस्ने गरिएको हो ।   

तीजलाई हरितालिका पनि भनिन्छ । हरितालिका शब्द ‘हरित र आलिका’ बाट बनेको हो । हरितको अर्थ हरण गरिएकी र आलिकाको अर्थ सखी वा साथी भन्ने हुन्छ । पार्वतीलाई सखीहरुले पिताको घरबाट हरण गरेर लगी लुकाई राखेको र त्यसले गर्दा उनको इच्छा  पुरा भएको हुनाले यसलाई हरितालिका भनिएको हो ।   

यो दिन पुरुषले व्रत बस्छन् कि बस्दैनन् ? धार्मिक शास्त्रले यसबारे के भन्छ ?   

विशेषगरी यो दिन महिलाहरुले व्रत बस्छन् । तर, तीजको व्रत नारीले मात्रै लिनुपर्छ भन्ने कुनै पनि धार्मिक शास्त्रमा उल्लेख गरिएको छैन । पुरुषहरुले पनि व्रत बसिरहेका हुन्छन् । तर, समाजका कारण पुरुषहरुका कतिपय कुरा बाहिर आउँदैनन् । श्रावणी (जनै पूर्णिमा) मा पुरुषहरु व्रत बस्छन् । त्यो व्रत तीजको जस्तै नै हुन्छ । स्वास्थ्यका हिसाबले पनि व्रत बस्नु नारी पुरुष दुवैका लागि हितकर हुन्छ ।   

धार्मिक क्षेत्रमा प्रायः नारी सक्रियता बढी छ । धर्म, सँस्कृतिको संरक्षण गर्न तथा परम्परालाई अटुट बनाउन पनि नारीहरुकै योगदान छ । नारीकै कारण परापूर्वकालदेखिको धर्म सँस्कृति अहिलेसम्म जिवित छ ।   

दर किन खाने ? यो दिन के खान हुन्छ, के हुँदैन ?   

दर भनेको दरिलो पदार्थ हो । आडिलो पनि हुन्छ । यसले तीजको व्रतलाई सहयोग पुर्याउँछ । यसले तन्दुरुस्त राख्छ । हुन त आधुनिकतासँगै यो दिन खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । यो विकृति हो । वास्तवमा यो दिन सात्विक भोजन गर्नुपर्छ । बासी, चिल्लो, अमिलो, पिरो, मसलायुक्त खाना, मदिरा, माछामासु खानु हुँदैन ।   

सामान्यतय दर मध्यरात १२ बजेअघि खाने प्रचलन छ । व्रतका दिन सहज होस् भन्ने हेतुले यो परम्परालाई निरन्तरता दिइएको हो ।   

जुनसुकै व्रतको अघिल्लो दिन फलफुल, सलाद, प्रोटिनयुक्त चोखो, शुद्ध, हलुका खाना खानुपर्छ । खानाबाटै चित्त, आत्मा शुद्ध बन्ने विश्वास रहेको छ । 

   

तीजको व्रतविधि प्रष्ट पारिदिनुस् न ? 

खासगरी विवाहिता नारीले पतिको दिर्घायु र अविवाहिता नारीले सुयोग्य वर पाऊँ भनि तीजको व्रत बस्ने गरेको पाइन्छ । यो दिन बिहान सबेरै उठी स्नान गरी चोखो वस्त्र लगाई शुद्ध मनले नजिकैको शिवमन्दिरमा गई भगवान शिवजीको पूूजा आरधना गरिन्छ । दिनभर तीजको व्रतकथा सुन्ने, नाचगान गर्ने गरिन्छ ।   

व्रतको दिन दिउँसो सुत्नु हुँदैन, पानी खानु हुँदैन, एकपटक भनेपनि नाच्नैपर्छ भनिन्छ, यो कतिको सत्य हो ? 

तीजको व्रत अरु व्रतभन्दा फरक छ । यो व्रत बस्दा सकभर पानी नखानु, निराहार बस्नु भनिन्छ । अशक्त, रोगी, वृद्धा, गर्भवती महिलाहरुको हकमा भने यो नियम लागु हुँदैन । केही नखाइ बस्नुपर्छ भन्ने बाध्यता छैन । सक्नेले निराहार बस्दा राम्रो हो नसक्नेले फलफुल, काँडापानी, दुध खाँदा हुन्छ ।   

व्रत भनेको सुत्नका लागि होइन । रमाइलो गर्ने हो । तीजको व्रतमा त झन् नाच्नुपर्छ । यसले भोक, प्यास, दुःख, पीडा सबै बिर्साउँछ । त्यसैले पनि नाचगान गर्नुपर्छ भनिएको हो । तीजमा मात्रै होइन, सबै पर्वमा नाचगान गर्ने चलन छ ।   

तीज होस् जुनसुकै व्रतमा पनि सहवास गर्नु हुँदैन भनिन्छ, यो सत्य हो या भ्रम मात्रै ? 

यो एकदमै सत्य हो । पवित्र दिन औँसी, पूर्णिमा, एकादशी, ग्रहण लागेको समयमा, महिनावारीको ४ औँ दिनसम्म सहवास गर्नु हुँदैन । व्रत बसेको दिनमा त झनै हुँदैन । शास्त्रले पनि यही भन्छ । यस्तो समयको सहवासबाट गर्भ रह्यो भने खुडे, अपांग, सुस्त मनस्थिती, रोगी बच्चा जन्मन्छ । गर्भवती नारीले ग्रहण लागेको बेलामा शरीरको कुनै अंग चलाइन, छोइन भने बच्चाको शरीरको कुनै अंगमा दाग बस्छ ।   

ऋषि पञ्चमी भनेको के हो ? पञ्चमी नुहाउने विधि के कस्तो छ ?   

यो वर्ष गणेश चौथी र पञ्चमी एकैदिन परेको छ । गणेशको पनि पूजा, रथयात्रा गरिन्छ ।  सप्तऋषि ब्रह्माका मानसपुत्र हुन् । हामी सबै ऋषिका सन्तान हौँ । सम्पूर्ण ज्ञानहरु ऋषिहरुले नै फैलाएका हुन् । हामी सबै ऋषिको ऋणी छौँ । त्यसकारण ऋषिपञ्चमीका दिन विशेषगरी सात ऋषिहरु (सप्तऋषि) को पूजा आराधना गरिन्छ । ऋषिपञ्चमीको अघिल्लो दिन पनि शुद्ध सात्विक भोजन गर्नुपर्छ ।   

त्यस्तै रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीका दिन ३६५ वटा दतिवन, तोकी, माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनुपर्छ भन्ने विभिन्न धार्मिक शास्त्रहरुमा उल्लेख छ । दतिवनले दाँत पनि माझिन्छ ।   

यसका विधिहरु थुप्रै छन् । विशेषगरी ३६५ वटा दतिवनले ३६५ पटक नुहाउने, माटो र गोबरले शरीरका सबै अंगहरु शुद्ध गर्ने, चाल्नीमा गनिएका तिलचामल र जौ राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउने र सप्तऋषिको पूजा गर्ने गरिन्छ । यति गरेपश्चात् व्रत पूर्ण हुने विश्वास रहिआएको छ । माथि उल्लेख गरिएका प्रक्रिया सबै विज्ञान सम्मत छन् । जस्तै दतिवनको कुरा गर्ने हो भने यसले दाँत माझ्दा दाँत किराले खाँदैन । सफा, बलियो हुन्छ ।   

त्यस्तै पूजाको समयमा फुल, नवैद्यदेखि लिएर सम्पूर्ण कुराहरु ३६५ नै चढाउनुपर्छ भन्ने मान्यता पनि छ । गाउँघरतिर अझैपनि यो परम्परा कायमै छ । तर, शहर बजारमा भने यस्तो कमै गरिएको पाइन्छ । मुख्य भनेको आचरण सफा हुनुपर्यो । मनमा छलकपट हुनु भएन ।   

पहिले र अहिलेको तीज पर्वमा के भिन्नता पाउनुहुन्छ ? विकृति भित्रिए जस्तो लाग्दैन ?   

तीजमा निक्कै विकृति आएको छ । एक दुई महिना अघिदेखि नै डिस्को, रेष्टुरेन्टतिर गएर दर खाने प्रचलन छ । दरको नाउँमा उच्छृङ्खलता बढ्दै गएको छ । यो राम्रो होइन ।   

एक हप्तादेखि भनेको ठिकै हो । दिदीबहिनी, साथीभाइको घरमा गएर रमाइलो गर्न सकिन्छ । तर, दर खाने नाउँमा पछिल्लो समय होटेल, रिसोर्ट, रेष्टुरेन्टतिर गएर नाचेर, उफ्रेर, जाँडरक्सी खाएर, जुवातास खेलेर, होहल्ला गरेर तीज मनाइएको पाइन्छ । यसले तीज जस्तो पवित्र पर्वको महिमा, महत्व घटाउँछ । एक दुई महिना अघिदेखि दर खाएपछि शास्त्रमा उल्लेख गरिएको, पात्रोमा तोकिएको दर खाने दिनको के महत्व रहन्छ र ? यसले त देखासिकी मात्रै बढाउँछ ।   

अहिले दिदीबहिनी भेला भएर नाच्ने, गाउने, दुःख सुख पोख्ने भन्दा पनि फेसन र देखासिकी, आडम्बर बढ्दै गएको देखिन्छ । यसको साँस्कृतिक पक्ष, जगेर्ना गर्नेतिर ध्यान गएको देखिँदैन । अझ अहिले त तीजकै लागि भनेर ऋण लिएर गहना किन्ने गरेको पनि पाइन्छ । ऋण बढेपछि घरपरिवारमा अशान्ति छाउँछ ।   

तपाईको पालामा कसरी मनाइन्थ्यो तीज ?   

हाम्रो पालामा तीज पर्व एकदमै सरल किसिमले मनाइन्थ्यो । तीजकै लागि भनेर गहना, लत्ताकपडा किनिएको पनि याद छैन मलाई । तीजकै दिन हामी सबै दिदीबहिनीहरु जम्मा हुन्थ्यौँ । गाउँभरिका दिदीबहिनी मिलेर दर खाने, नाच्ने, गाउने रमाइलो गर्ने गथ्र्यौँ । मिलेर पुजाआजा गथ्र्यौँ । पहिले बुवा, दाजुभाइहरु चेलीलाई लिन जान्थे । दाजुभाइ लिन आइदिए हुन्थ्यो भन्ने हुन्थ्यो । अहिले त फोन गरेर बोलाउने चलन आएको छ ।   

त्यतिबेलाको सामाजिक बनोट नै फरक थियो । मिठो मसिनो खानलाई चाडपर्व नै कुर्नुपथ्र्यो । राम्रो लुगा लगाउनलाई तीज, दशैँ नै कुर्नुपथ्र्यो । अहिले त्यो अवस्था छैन । त्यो अवस्थाबाट उकालो लागिसकेका छौँ हामी । राम्रा लुगा लगाउन, मिठो मसिनो खान पर्व नै कुर्नुपर्दैन अहिले ।   

गीतमा पनि विकृति आएका छन् । पहिलेका तीज गीतमा चेलीका मर्म पोखिएका हुन्थे । अहिलेका गीत कति फोहोरी, उत्ताउला छन् । पहिलेको गीतमा जति मिठास नै पाइँदैन अहिलेको तीज गीतमा ।   

तीज लगायतका चाडपर्वहरुको संरक्षण गर्न राज्यस्तरबाट के कस्ता पहल आवश्यक छ ? 

परम्परा, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व हो । तर अहिले त राज्य नै परम्परा, धर्म, सँस्कृति मास्नतिर लागेको देखिन्छ । देशमा थोरै जो व्यक्ति छन्, उनीहरुको पर्वमा बिदा दिइन्छ । वैदिक सनातनी ९५ प्रतिशत छौँ । तर मुख्य मुख्य चाडपर्वहरुमा नै बिदा दिइएको छैन । मातापिता माथि आदरभाव व्यक्त गर्ने कुशे औँसीमा बिदा दिइएन । रामनवमी, कृष्णाष्टमी, मातातीर्थ औँसी, बिदा हुँदैन । राज्यले हाम्रो सँस्कृतिलाई एकदमै नराम्रो व्यवहार गरिरहेको छ । धर्म सँस्कृति संरक्षणमा सरकार चुकेको छ ।   

पाठ्यपुस्तकमा पनि माता पिताको महत्व, दाजुभाइको सम्बन्ध, पति पत्नीको सम्बन्ध, शासक कस्तो हुनुपर्छ, भन्ने कुरा रामायण, महाभारतमा उल्लेख छ । त्यस्ता पुस्तकहरु पाठ्यक्रममा राख्नुपर्छ । पछिल्लो पुस्ता (विद्यार्थी) हरुलाई थाहै छैन यसबारे । तीज, दशै, तिहार के हो ? यी यावत् पर्वहरुको महत्व केही पनि थाहा छैन उनीहरुलाई । फेसन जस्तो मात्र भएको छ ।   

धर्म नाश गरिएकै कारण, ती शिक्षाबाट बञ्चित गरिएकै कारण अहिले उच्छृङ्खलता बढेको छ । बलात्कार, हत्या, हिंसा, अनैतिकता, भ्रष्टाचार बढेको छ । हाम्रा (सनातन) धर्मका हरेक क्रियाकलापहरु, हरेक प्रयोगहरु विज्ञानसँग सम्मत छन् । सत्कर्ममा बढी जोड दिएको छ । त्यसैले यसबारे ज्ञान दिने पाठ्यपुस्तक ल्याउनुपर्छ ।   

यसको संरक्षणमा जनता पनि जागरुक हुनुपर्छ । धर्म सँस्कृतिबारे अध्ययन गर्ने परिपाटी बढाउनुपर्छ । बाहिरी आडम्बरमा रुमलिनु भएन, भ्रममा पर्नु हुँदैन । धर्म सँस्कृतिमा प्रहार भयो भने भोलि भयावह स्थिति आउन सक्छ । राज्य पनि सचेत हुनुपर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *