निदाएकाे रातो बाकस
साँझको मलिनो उज्यालोसँगै धने घरको आँगनमा भड्कियो । गोरु खेद्ने लामो लट्ठीले हलोको फालीमा जमेको बाक्लो हिलो खोतलेर झार्यो । दिनभरिको थकाईको लामो सुस्केरा र हलोमा जेलिएको जुवा तल गोठतिर मिल्कायो ।
खै त उर्मिला ! धनेले घरको आँगन, मझेरि हुँदै भान्साकोठासम्म उर्मिलालाई खोज्यो । ल हेर ! कस्तो धुवैँ धुवाँ । के भो आगो सल्केन ?
भान्साकोठाभित्र भौँतारिएको धुवाँको सेतो पर्दाभित्र निस्सासिएकी छिन् उर्मिला । ‘दाउरा चिसो भएर होला मट्टितेल तुक्र्याउ त, आगो हुरर्र बल्छ ।’
‘टुकिको धागो निचोर्दा पनि तुर्केन तिम्रो मुत् !’ उर्मिला राता आँखा बनाउँदै पुत्ताइरहेको चिसो दाउरा ओभानो खरानीमाथि ठोसी रहिन् । खै ! आजपनि ल्याएनौँ मट्टितेल ? भोकै बस, सलाईका काँटी पनि निख्रिसके । अब भोकै सुत ।
धने टवाल्ल पर्छ अनि फोक्सो निचोरेर एउटा लामो सुस्केरा घरको दलिनतिर फ्याँक्छ । बुढेसकालको ढाड जस्तै कुप्रि परेको छ घरको छानो अड्याएको दलिन । खै यो बर्खा त धान्दैन नँया पाली हाल्नुपर्छ तर कसरि ? धने धेरै बेर आँगनको अँध्यारोतिर घोरिन्छ र शरीर र दिनभरको थकाई पिँढिँमा बिसाएर मनमनै हिसाब गर्छ । नुन किन्यो दाल आउँदैन । दाल किन्यो चामल आउँदैन । पकाउने तेल किन्यो बाल्ने मट्टितेल आउँदैन ।
धेरै बेरको सन्नटापछि धनेले विदेशिने निचोड निकाल्यो र उर्मिलालाई सुनायो । हर्खे साहुले देलान् त त्यत्रो ऋण ? दिन्छन्, यहीँ टुक्रो बैना राखौँला । जुनको मधुरो उज्यालो मुनि धनेले बढ्दै गरेको उर्मिलाको पेट सुम्सुम्यायो ! यसको लागि पनि कमाउनु परेन त ? उर्मिला लाजले न्युरि परिन् ।
समय भनेजस्तै भयो । हर्खे साहु ऋण दिन तयार भयो । छुट्टिमा आएको चन्द्रेले कतारको लागि धनेको सबै प्रकृया मिलाइ दियो । दिन बित्यो, रात बित्यो । महिना बित्यो । सँगसँगै धनेको दुःख पनि बित्यो ।
धनेको बिदाईमा उर्मिला पनि एयर्पाटसम्मै पुगिन्। रामरि बस है ! फर्किँदा मट्टितेल लिएर आउँछु ! छुट्टिने बेला धनेले भनेको थियो । उर्मिला भक्कानिएकी थिईन् । धने कतार पुग्यो । अर्को दिनदेखि काममा जान थाल्यो ।
कतारि मालिकहरु दङ्ग परे बलेको मिहेनत र लगनशिलता देखेर । ‘होइन यसलाई मेसिनमा लगाउनु पर्छ, यो बलियो र मेहनती छ’, कतारिको आदेशपछि धने प्याकिङबाट उत्पादनतिर सरुवा भयो । दङ्ग पर्यो ऊ, नेपालका पहाड जत्रा मेसिनहरु देखेर । यो कुरा उर्मिलालाई सुनाउन पाए ! साँच्चि के गर्दै होलिन् कुन्नि ! अब त बर्खा पनि लाग्यो होला । यसपाली त सस्तै भएनि फोन किनेर पठाईदिन्छु । ऋणबाट अलिकति कटाएर बोल्न त पाइएला । राति अबेरसम्म धनेले सोचिरह्यो ।
भोलिपल्ट काम गर्दै गर्दा चलिरहेको मेसिन झ्वाट्ट रोकियो । धनेले अल्मलिँदै रोकिएका मेसिनका फिता नियाल्न थाल्यो । एउटा रडको टुक्रो च्यापिएको रहेछ मेसिन घुमाउने मोटरमा । यस्सो समातेर च्यापिएको रड थुत्न खोज्यो, मेसिन घ्यार्र गर्दै फुन्किन थाल्यो ।
धने मेसिनको फितासँगै घिसारिँदै गयो । करायो । चिच्यायो । अँह धनेको चित्कारले मेसिनको आवाज जित्न सकेन । क्षणभरमै ऊ किमा पारिएको मासुको डल्लो भयो ।
साउने झरि थामिएको छैन । उद्रिएको छानोबाट पानीको धारो नियालिरहेकी छिन् उर्मिला । पाली धानेको दलिन झनै कुप्रिएको छ । पुर्लुक्क चुलोतिर फर्किन्, ओसिएको दाउरा अझै सल्कियको छैन । भित्ताको प्वालभित्र घुस्रिएर बसेको दियोमा मट्टितेलको गन्द्द । साँच्चि कहिले आउलान् धने ? मट्टितेल लिएर उर्मिला यादमा एकोहोरिईन् ।
फुलेको पेटमा कसैले लात्ति हान्यो पुर्लुक्क हेरिन्, छोरा होला कि छोरि ! अगाडिको दुःख भुलेर मुसुक्क हाँसिन् । साउने झरि बर्सिरहेको आँगनमा एकै साथ थुप्रै पाईलाहरू बज्रिए । उर्मिला छक्क परिन् ।
घोप्टिएका शिरहरू बोकेर गाँउलेहरू रातो बाकस पछाडि उभिरहेका छन् । बाकस पछाडिबाट हर्खे साहु अघि सर्छ र चाँपि खोल्छ । शान्त निदाइरहेको रातो बाकसभित्र धने फर्किएको छ । पाँचकिलो अट्ने थैलोभित्र !
उर्मिला अचेत हुन्छिन्। निलो मसिभित्र उर्मिलाका अचेत औँलाहरु चोपिन्दिन्छन् हर्खे साहुले । डामिदिन्छन् घर लिलामीको सेतो कागजमा । गाँउलेहरू आवाज विहिन । मात्रै मुखा मुख गर्छन् ।
(लेखक अशाेक डुम्रे हाल दक्षिण कोरियामा कार्यरत छन्)