११ औँ इक्यान शैक्षिक मेला सुरु
“
साउन ५, काठमाडौँ । ११औं इक्यान शैक्षिक मेला बिहीबारबाट सुरु भएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा राजधानीको भृकुटीमण्डपमा सुरु मेलाको उद्घाटन नेपालका लागि श्रीलंकाली राजदूत डव्लु एस परेराले गरिन् ।
उद्घाटन कार्यक्रममा बोल्दै राजदूत परेराले विद्यार्थीलाई करियर निर्माणमा शैक्षिक मेला फलदायी हुने भन्दै इक्यानले गरेको कार्यक्रको प्रशंसा गरिन् ।
उनले विदेशका कलेज तथा विश्वविद्यालयका शिक्षाका राम्रा स्वरुपहरु नेपालमा पनि लागू गराउनेतर्फ इक्यानले पहल गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा आयोजक ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले उच्च शिक्षाका लागि विदेश जान रोक्नु समस्याको समाधान नभएको भन्दै सरकारले स्वदेशमा विदेशी विद्यार्थी भित्राउन सक्ने विस्वस्तरीय शिक्षा निर्माण गर्नुपर्ने बताए । उनले नेपालभित्र प्रर्याप्त अवसर सिर्जना हुन नसकेको कारणले नेपाली विद्यार्थीहरू उच्च शिक्षा र अवसरका लागि बाहिरिन बाध्य भएको बताए ।
उद्धघाटन सत्रमा नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, अभिभावक सङ्घ नेपालका उपाध्यक्ष सुवास भण्डारी, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अधिकृत तारानाथ निरौला, ब्रिटिस काउन्सिलका विजनेज डेभलप्मेन्ट हेड विक्रन्त गुरुङ लगायतले मेलाको सफलताको शुुभकामना दिएका थिए ।
मेलामा भारत ,चीन, बङ्गलादेश, अस्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, श्रीलंका लगायत विभिन्न मुलुकका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका प्रतिनिधि सहितका स्टलहरु रहेका छन् । मेलामा इक्यानमा आबद्ध शैक्षिक परामर्शदाताहरुका दुई सय पचासभन्दा बढी स्टलहरुको सहभागिता रहेको इक्यानका प्रथम सचिव देवीदास भट्टराईले बताए ।
मेलामा विद्यार्थीहरूले उच्च शिक्षाका लागि कस्ता विषय रोज्ने, विश्वमा भएका उत्कृष्ठ विश्वविद्यालय, कलेज र पाठ्यक्रमका बारेमा विज्ञहरुबाट निःशुल्क परामर्श पाउन सक्छन् ।
शैक्षिक मेलाले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई एकै थलोबाट विभिन्न देशका शिक्षा नीति, भिसा नीति, इन्ट्री रिक्वारमेन्ट, छात्रवृत्ति तथा सम्पूर्ण आवश्यक सूचना एवं जानकारी दिने इक्यानका महासचिव सन्तोष प्याकूरेलले बताए ।
मेलाको पहिलो दिन करिब २० हजार विद्यार्थी तथा अभिभावकहरुले मेला अवलोकन गरेको इक्यान सचिव तथा सूचना र सन्चार विभाग प्रमुख उमेश ढुंगेलले बताए ।
अरिना इन्टरनेशनल एजुकेसन् सर्भिसेज, बाबा एजुकेशन कन्सल्टेन्सी, कङ्गारु एजुकेशन फाउन्डेसन्, गोल्डेन गेट इन्टरनेशनल एजुकेसन्, फास्ट ट्रयाक एजुकेशन् कन्सल्टेन्सी र इन्लाइटिन इन्टरनेशनल एजुकेसन मेलाको स्पोन्सरका रूपमा रहेका छन् ।
मेलामा १७ वटा पेभिलियन छन् । मेला १ लाख ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
“