खडेरीले खेतीयोग्य जमिन बाँझै

किशोर खनाल
शुक्रनगर । भरतपुर–२५ निवासी सूर्यप्रसाद ओझाको खेत साउन पहिलो हप्ता सकिन लाग्दा पनि रोपाइँ हुन नपाएर बाँझै बसेको छ । गएको साल असारमै उनको खेतमा धान हरियो भइसकेको थियो । यो वर्ष साउन पहिलो हप्ता सकिन लाग्दा पनि उनको खेत पानीले भिजेको छैन ।
उनको मात्र होइन, भरतपुर महानगरपालिकाभित्र रहेका पश्चिम चितवनका खेतीयोग्य जमिनहरु पानी नपाएर बाँझै बसेका छन् । पश्चिम चितवनका फूलबारी, शिवनगर, पार्वतीपुर, शुक्रनगर, दिव्यनगर, गुञ्जनगर, शारदानगरका अधिकांश खेतीयोग्य जमिन लामो समयको खडेरीले बाँझै बसेको छ ।
‘व्याडको बीउ डढ्नेबेला भइसक्यो, गरा भिज्ने गरेर पानी परेको छैन । कसरी रोपाइँ गर्ने ?’ भरतपुर २५ का किसान सूर्य ओझाले भने, ‘बोरिङ हुनेहरुले कताकतै मात्र रोपाइँ गरेका छन्, तर अधिकांश खेतीयोग्य जमिन बाँझै बसिरहेको छ ।’ उनले पश्चिम चितवनका घोल खेतमा समेत रोपाइँ हुन नसकेको बताए ।
पश्चिम चितवनका अधिकांश खेतहरु आकाशे पानीको भरमा निर्भर छन् । ‘आकाशको पानीका भर पर्दा रोपाइँ हुन सकेको छैन, सिमसिम पानी त परेको छ, तर त्यस्तो पानीले यहाँका माटो भिजाउँदैन । भल बग्ने गरी पानी पर्नुपर्छ’ शुक्रनगरका किसान दीपक खनालले भने, ‘गत वर्ष यतिबेला त धान गोढ्ने बेला भइसकेको थियो ।’
रोप्न नपाउँदा उनको व्याडमा राखिएको बीउ डढ्ने बेला भइसकेको छ । तर पनि पानीको अभावले रोपाइँ हुन सकेको छैन । ‘मकै थन्काइसकिएको छ, बारी खनजोत गरेर राखेको पनि दुई हप्ता भइसक्यो । पानी नपरेको कारणले रोपाइँ हुन सकेको छैन’ खनालले भने, ‘यहाँका किसानको लागि त सिंचाइ सुविधा आकाशको फल भएको छ ।’
जेठ २९ गतेबाट नेपालको पूर्वी भाग हुँदै प्रवेश गरेको मनसुन सक्रिय भइसकेको छैन । मनसुनको आगमन नै कमजोर अवस्थाले भएको हुँदा पर्याप्त पानी पर्न नसकेको मौसमविद्हरु बताउँछन् । पश्चिमी वायुको प्रभाव कम हुन थालेपछि पर्याप्त पानी पर्ने र त्यसको लागि अझै केही दिन लाग्ने मौसमविद्हरुले अनुमान गरेका छन् ।
पर्याप्त पानी नपर्दा पश्चिम चितवनका खेतहरुमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालका प्राविधिक सहायक नोधनाथ लामिछानले जानकारी दिए । उनले भने, ‘पूर्वीचितवनमा ९५ प्रतिशत रोपाइँ भइसकेको छ, माडीमा पनि ९० प्रतिशत रोपाइँ भइसक्यो । तर पश्चिम चितवनका पार्वतीपुर, शारदानगर, फूलबारीका अधिकांश खेतीयोग्य जमिन बाँझै छन् ।’
जिल्ला कृषि विकास कार्यालय भरतपुरका अनुसार पश्चिम चितवनमा हालसम्म जम्मा २२ प्रतिशतमात्र रोपाइँ भएको छ । यतिबेलासम्म गत वर्ष पश्चिम चितवनमा ६० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो । ‘बोरिङबाट र कुलो नहरको पानी लाग्ने ठाउँमा केही भागमा मात्र रोपाइँ भएको छ, अन्यत्र पर्याप्त पानीको अभावले रोपाइँ हुन सकेको छैन’ प्राविधिक सहायक लामिछानेले भने ।
चितवन जिल्लाभर गतवर्ष साउन पहिलो हप्तासम्म ८० प्रतिशत रोपाइँ भइसकेको थियो । पश्चिम चितवनका जमिनमा समयमै रोपाइँ हुन नसक्दा यस वर्ष धान उत्पादनमा कमी हुन सक्ने अनुमान गरिएको छ ।
चितवनमा यस वर्ष १ लाख २५ हजार मेट्रिक टन धान फल्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय भरतपुरका प्रवक्ता कमला न्यौपानेले जानकारी दिइन् । मनसुन ढिलो हुँदा पश्चिम चितवनमा रोपाइँ गर्न ढिलाइ हुँदा धानको उत्पादन घट्न सक्नेछ । यो वर्ष चितवनमा २९ हजार २०० हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ ।
नेपालको खेती हुने कुल क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानखेती हुन्छ । यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४.१ प्रतिशत हेक्टरमा धानखेती हुन्छ । यस वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २८.९ प्रतिशतमा सीमित रहनेछ । अघिल्लो आर्थिक वर्ष जीडीपीमा कृषिको योगदान ३१ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *