निर्भया बलात्कार घटना : चारै दोषीविरुद्ध नयाँ ‘डेथ वारेन्ट’ जारी

फागुन २३, एजेन्सी । निर्भया घटनाका चारै जना दोषीलाई डेथ वारेन्टको नयाँ मिती तोकिएको छ । दिल्ली अदालतले चारैजनालाई २० मार्च बिहान साढे ५ बजे मृत्युदण्डको आदेश जारी गरेको छ ।   

यसअघि कानूनी विकल्पका कारण दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भया घटनाका चारै दोषीको सबै कानूनी विकल्प समाप्त भइसकेको छ । त्यसपछि दिल्ली सरकार नयाँ डेथ वारेन्ट जारी गराउनका लागि पटियाला हाउस कोर्ट पुगेको थियो । एडिशनल सेशन जज धर्मेन्द्र राणाले चारै दोषीलाई नोटिस जारी गर्दै बिहिबारसम्म जवाफ मागेका थिए । 

यसैबीच अदालतको निर्णयपछि निर्भयाकी आमाले भनिन्, ‘मलाई आशा छ कि यो अन्तिम मिति हुनेछ र दोषीलाई २० मार्चमा नै मृत्युदण्ड दिइनेछ । जबसम्म मृत्युदण्ड हुँदैन, हामी लडिरहन्छौं । दोषीले मृत्युदण्ड रोक्न पूर्ण कोसिस गरिरहेका छन् । २० मार्चको बिहान हाम्रो जीवनको पनि बिहानी हुनेछ ।’ 

तर दोषीका वकिल एपी सिंहले चार पटक डेथ वारेन्ट जारी भइसकेको बताउँदै दोषीलाई थुप्रै पटक मारिसकिएको बताए । उनले भने, ‘कम्तीमा न्यायिक हत्या त नगर’ । यसअघि सर्वोच्च अदालतले सोमबार क्यूरेटिव पिटिशन खारेज गरेलगत्तै पवनले राष्ट्रपतिलाई दया याचिका पठाएका थिए । यसै आधारमा ट्रायल कोर्टले दोषीको मृत्युदण्ड तेस्रो पटक स्थगित गरेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *