तीन घेरामा निर्वाचन सुरक्षा: यी विषयमा केन्द्रित हुन्छन् सुरक्षाकर्मी
मंसिर १०, काठमाडाैं । चार सुरक्षा निकायको समन्वयमा कडा सुरक्षाबीच आइतबार ६ वटा प्रदेशका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । आजका पत्रपत्रिकामा यो खबर छापिएका छन् । निर्वाचनमा म्यादी प्रहरीबाहेक सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १ लाख ७० हजार सुरक्षाकर्मी सुरक्षार्थ खटिएका छन् । म्यादी प्रहरी मात्रै ९८ हजार २ सय ६८ जना चुनावमा खटिएका छन् ।
चुनाव बिथोल्ने समूहले बुथ कब्जादेखि मतदानस्थलमा बम विस्फोट, मतपेटिका लुटपाट र उम्मेदवार अपहरण गर्नेसम्मका चुनौती आकलन गरेर सुरक्षाकर्मी खटिएका छन् । हाल चुनाव भइरहेका ३२ जिल्लामध्ये प्रदेश नम्बर ७ र ४ सुरक्षा चुनौतीका दृष्टिले अन्य प्रदेशको तुलनामा त्यति संवेदनशील मानिएका छैनन् ।
केन्द्रीय सुरक्षा समितिले तीन घेरामा सुरक्षा व्यवस्था मिलाएको छ । पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेना खटिएका छन् । राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी भने मतदानस्थलवरिपरि शंकास्पद गतिविधि गर्नेमाथि सूक्ष्म निगरानी गर्नेछन् । विभागका कर्मचारीसँगै तीन वटै सुरक्षा निकायबाट सादा पोसाकमा सुरक्षाकर्मी मतदानस्थलमा खटाइएको मन्त्रालयले जनाएको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
यी विषयमा सुरक्षाकर्मी केन्द्रित
– मतदातालाई सुरक्षित मदतानस्थल पुर्याउने
– मतपत्र सुरक्षित राख्ने
– उम्मेदवारको सुरक्षा
– मतदानस्थलको सुरक्षा
– मतपेटिकाको सुरक्षा
– निर्वाचन सामग्री बोक्ने सवारीसाधनको सुरक्षा
– मतदान सकिएपछि मतपेटिका राख्ने स्थानको सुरक्षा
– शंकास्पद गतिविधि गर्नेलाई तत्काल नियन्त्रण र सोधपुछ
– सुरक्षाकर्मीको सुरक्षा