किशोरी बलात्कार गर्ने अखिलका केन्द्रिय सदस्य पक्राउ, स्ववियूले भन्यो–‘हदैसम्मको कारवाही होस्’

कार्तिक १४, काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई किशोरी बलात्कारमा मुद्दामा प्रहरीले गिरफ्तार गरेको छ । भैलोका लागि बोलाएर १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ राई परेका हुन् ।   

पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो ।   

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो । आरोपित राईलाई भने मंगलबार बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ‘भैलोको लागि आउन’ भन्दै राईले बोलाएर आफूलाई बलात्कार गरेको बताएकी छिन् । राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको राईकै साथीको कोठामा लगि किशोरीलाई बलात्कार गरेका हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार यतिबेला आरोपितलाई पक्राउ गरी अनुसनधानको काम भइरहेको छ । पीडित किशोरीलाई मेडिकल जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ । अहिले घटनाको प्रारम्भिक अनुसन्धान मात्रै भएकाले यसबारेमा थप केही बताउन नसकिने प्रहरीले जनाएको छ । 

यता बलात्कार आरोपित आफ्ना संगठनका सहसचिव इन्द्रहाङ राईबारे अनुसन्धान गर्न रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको तत्कालीन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले माग गरेको छ । साथै उसले राईमाथि कारबाही गर्दै संगठनको जिम्मेवारीबाट मुक्त गरेको छ । आरआरको स्ववियुले कानूनी दायरामा ल्याएर हदैसम्म कारबाही गर्न माग गरेको हो । 

‘संगठनको फलामे अनुशासनको प्रवाह नगरी यस किसिमको घिनलाग्दा क्रियाकलापमा संलग्न जो भए पनि हदैसम्मको कानूनी कारबाहीको दायरामा ल्याउनु पर्दछ’, रत्नराज्यलक्ष्मी क्याम्पसका तत्कालीन स्ववियु सभापति तपेन्द्रबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रहरी प्रशासनले थप अनुसन्धान गरी सत्य–तथ्य बाहिर ल्याउने विश्वास व्यक्त गर्दै शाहीले छानबिनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

राई अनेरास्ववियुका केन्द्रीय सदस्य समेत हुन् । आरआरको स्वबियुले राईमाथि कारबाही गरे पनि अनेरास्ववियुले भने उनीमाथि लागेको आरोपबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छ । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *