‘गलबन्दी’ विवादः प्रकाश सपूतको समर्थनमा उभिए कांग्रेस सांसद
असार ९, काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गायक प्रकाश सपूतको लोकगीत ‘गलबन्दी’ को विवादको विषय उठाएको छ ।
कांग्रेस नेता एवम् सांसद मीनबहादुर विश्वकर्माले गलबन्दी गीतको विवादका विषयमा कुरा उठाएका हुन् ।
null
लोकलय पुर्खाले गाएको गीतलाई पछिल्लो पुस्ताले सिक्दै पछिसम्म जीवित राख्नुपर्ने उनको भनाइ छ ।
गायक प्रकाश सपूतको समर्थन लिँदै उनले भने, ‘मेरो लय नक्कल गरिएको भनेर सत्तारुढ दलका समर्थक शम्भू राईले प्रकाशलाई मुद्दा हालेछन् । प्रकाश सपूतको गीत कुनै पनि भाकासँग मेल खाँदैन । शम्भू राईले सामान्य कलाकारले गरेको काममा चोरी गरेको भन्नु लज्जास्पद छ ।’
उनले एक पुस्ताले एकपल्ट गाएको गीत एकपल्ट मात्र रेकर्ड हुन्छ भने लोक भाका नहुने स्पष्ट पार्दै गलबन्दीका गायक तथा सर्जक प्रकाश र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान गर्नुपर्ने बताए ।
‘तीस दिनमा डेढ करोड पटक हेरिनु चानचुने कुरा होइन । बालकदेखि वृद्धसम्म सबैको मनमा बस्न सफल यो गीत देशमा मात्र नभएर विदेशमा पनि गुञ्जिरहेको छ । यो गीतले नेपाली परम्परा र सँस्कृतिको विकासलाई समेत टेवा दिएको छ । त्यसैले यो गीतका सर्जक प्रकाश र गायिका परियारलाई सरकारले उचित सम्मान गर्नुपर्छ,’
राईका मतियारहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै प्रकाश सपूतलाई जातीय विभेदपूर्ण शब्द प्रयोग गरी गाली गर्नेहरुलाई जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत कारवाही गर्न पनि सांसद विश्वकर्माले माग गरे ।