कोरोना भाइरस संक्रमणको प्रभाव, आईफोन आपूर्ति प्रभावित हुने !

फागुन ६, एजन्सी । अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ। 

उक्त प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने बताएको छ। 

कोरोना भाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्त्वपूर्ण अमेरिकी कम्पनी हो। 

यो वर्षको पहिलो त्रैमासिकमा सर्वाधिक ६७ अर्ब अमेरिकी डलर आय हुने एपलको पूर्वानुमान थियो। तर उसले आफ्नो आय कति प्रभावित भएको छ भन्ने विवरण चाहिँ दिएको छैन। 

‘मार्च त्रैमासिकका लागि निर्धारित आयको लक्ष्य पूरा हुने अपेक्षा हामी गर्दैनौँ,’ एपलले एउटा विज्ञप्तिमा भनेको छ। उसका अनुसार सामान्य स्थितिमा फर्किने गति पनि सुस्त छ। 

अधिकांश पसल बन्द 

चीनमा अवस्थित अधिकांश पसलहरू बन्द भएका वा थोरै समय मात्रै सञ्चालन हुने गरेकाले आफ्ना उत्पादनको विक्रीवितरण घट्ने एपलले जनाएको बबिीसीमा उल्लेख गरिएको छ। 

आईफोन उत्पादन गर्ने आफ्ना साझेदारहरू हुबे प्रान्तबाहिर अवस्थित भए पनि ती पुनः खुल्दा काम भने अपेक्षा गरेभन्दा सुस्त हुन पुगेको एपलको भनाइ छ। 

‘चीनमा भएका हाम्रा सबै स्टोर र धेरै साझेदार स्टोरहरू बन्द छन्,’ एपल भन्छ, ‘खुलेका स्टोर पनि कम समय सञ्चालन हुन्छन् र आउने ग्राहक पनि कम छन्।’ 

अर्थतन्त्रमा असर पर्ने 

भाइरसका कारण सवारीसाधन उद्योग पनि प्रभावित भएको छ। गत हप्ता ठूला उपकरण बनाउने कम्पनी जेसीबीले यूकेमा आफ्नो उत्पादन घटाउने घोषणा गरेको थियो। 

चीनबाट आउने सामग्रीको अभाव भएकाले त्यस गर्नुपरेको उसको भनाइ छ। 

विगत १३ दिनयया हुबेप्रान्त बाहिर नयाँ सङ्क्रमण भएका बिरामीको सङ्ख्या घटिरहेको छ। 

गत हप्ता सोमबार हुबेबाहिर ४५० नयाँ बिरामी फेला परेकोमा यो सोमबार त्यो सङ्ख्या ह्वात्तै घटेर ११५ पुगेको छ। 

बिस्तारै उद्योग र पसलहरू सामान्य अवस्थामा फर्किए भने पनि एपलको चेतावनीले कोरोनाभाइरसका कारण चीनको अर्थतन्त्र नराम्ररी प्रभावित हुने सङ्केत गर्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *