महरालाई आज अदालत लैजाँदै, महरा र रोशनीको फरेन्सिक जाँच, प्रस्ताविक १३ सुरुङमार्ग र कसुरमा मुछिँदै माननीयहरु

असोज २८, काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले फरकफरक विषयलाई समावेश गरेका छन् । कान्तिपुर, अन्नपुर्ण पोस्ट, नयाँपत्रिका, गोरखापत्रले फरकफरक विषयलाई उठाएका छन् ।   

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीनबाट   

बहुप्रतीक्षित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् ।   

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल–चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो । चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गरिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइने लेख्छन् ।   

महरा र रोशनीको फरेन्सिक जाँच 

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।   

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।   

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ । कान्तिपुर दैनिकमा मातृका दाहाल लेख्छन् । 

मेलम्ची आयोजनाले माग्यो कार्ययोजना 

मेलम्ची खानेपानी आयोजनाले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग कार्ययोजना माग गरेको छ। मेलम्चीको सुरुङ र मुहान क्षेत्रको बाँकी रहेको काम सम्पन्न गर्न आयोजनाले कार्ययोजना मागेको हो । 

इटालियन निर्माण कम्पनी सीएमसी दि रिभेनाले अधुरो छोडेर बाँकी रहेको काम पूरा गर्न आयोजनाले नयाँ ठेक्का लगाएको थियो। यसमा चिनियाँ कम्पनी छनोट भई असोज १२ गते सम्झौतासमेत भइसकेको छ । 

अहिले ठेकेदारहरूले कार्यक्षेत्र अवलोकन गरिरहेकाले फर्केर आएलगत्तै कार्ययोजना पाउनेमा विश्वस्त रहेको उनले बताए । बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको यस आयोजनाले २७ किलोमिटर सुरुङमार्ग पार गर्दै काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खोलाको पानी खुवाउने योजना छ नेपाल समाचारपत्रमा उल्लेख छ ।   

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास   

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने भएको छ । 

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले कातिक ४ गते यस सुरुङमार्गको शिलान्यास कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार यो सुरुङमार्गको पूर्वतर्फको मुख्यद्वार (पोर्टल)मा प्रधानमन्त्री केपी शर्मा ओलीले यस सुरुङमार्गको शिलान्यास गर्नेछन् ।   

यो सुरुङमार्ग निर्माणका लागि भएको सम्झौतापत्रको कपी अन्तिम स्वीकृतिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई पठाइसकिएको छ । शिलान्यासका लागि सम्बन्धित सबै तहमा छलफल सुरु भइसकेको उहाँले बताए । गोरखापत्र दैनिकमा समाचार छ ।   

सभामुखका लागि नेकपाभित्रै तानातान 

कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पाटीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ ।   

संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ । हाल नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन् । नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन ।   

पार्टी एकीकरणपछिको भागबन्डामा सभामुख पद पूर्वमाओवादीको भागमा परेकाले अहिलेपनि आफूहरुबाटै छानिनुपर्ने उक्त खेमाको दावी छ । उक्त खेमाबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दावेदार गरिएका छन् । सभामुख नेकपाले लिए संविधानअनुसार उपसभामुख पद भने उसले छाड्नुपर्नेछ । कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् । 

प्रस्तावित १३ सुरुङमार्ग 

सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ । प्रस्तावित सुरुङमार्ग यस्ता छन् ।   

१.बुटवल–सिद्धबाबा 

२. टोखा–छहरे–गुर्जे भन्ज्याङ 

३. कोटेश्वर–जडीबुटी 

४.खुर्कोट–चियावारी (सिन्धुली) 

५.कैलाली खुटिया–बीपीनगर–दियायल खण्ड 

६.थानकोट–चित्लाङ 

७.गोदावरी (ललितपुर)–मानेचौर (काभ्रे) 

८. नयाँ बनेश्वरमा अन्डरपास 

९. कुलेखानी–भीमफेदी 

१०. हेम्जा–नयाँपुल (पोखरा–बागलुङ सडक) 

११. दोलखाको लामाबजर 

१२. बुटबल–नारायणगढको दाउन्ने खण्ड 

१३.बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी) 

कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन् । 

मन्त्रीमण्डल हेरफेर हुने 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे । 

ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो । शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामाका विषयमा छलफल गरी मन्त्रीपदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो ।   

कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो । सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवयस्था छ । अन्नपूर्ण पोस्ट लेख्छ । 

कसुरमा मुछिँदै सांसदहरू   

संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरू विभिन्न अभियोगमा मुछिन थालेका छन् । हत्या, बलात्कार, भ्रष्टाचारलगायतका कसुरमा मुछिने सांसदमा कृष्णबहादुर महरा, मोहम्मद अफताब आलम, हरिनारायण रौनियार, रेशम चौधरी, नारदमुनि राना छन् । महरा प्रतिनिधिसभाका निवर्तमान सभामुखसमेत हुन् ।   

संसद् नियमावलीले फौजदारी अभियोगमा परेर प्रहरीको हिरासतमा रहेका सांसदहरूले संसद्को सेवासुविधा नपाउने व्यवस्था गरेको छ । अपराध प्रमाणित भएमा सांसद पद नै निलम्बन हुने प्रावधान छ । 

नियमावलीको धारा २४४ को दफाको उपदफा ४ मा भनिएको छ, ‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ ।’ नियमावलीअनुसार जाँदा अदालतले दोषी ठहर नगर्दासम्म सांसद पद निलम्बित हुनेभन्दा पनि सेवासुविधा मात्रै वञ्चित हुने देखिन्छ । 

महरालाई आज अदालत लगिने 

संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा उपस्थित गराउन लागिएको हो । १८ असोज (फूलपाती)मा पीडित महिलाले जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दिएकी थिइन् । १२ असोजमा तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले बलात्कार प्रयास गरेको महिलाको जाहेरीमा उल्लेख छ । नयाँ पत्रिकामा मुख्य समाचार छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *