लकडाउनमा ज्यान गुमाएका रणवीरको त्याे अन्तिम कलः ‘छाती दुखिरहेको छ, मलाई लिन आऊ’

मृतक रणवीर 

‘मेरो छाती दुखिरहेको छ, मलाई लिन आउन सक्छौ भने आऊ !’ 

यो शब्द ती व्यक्तिको हो जसको दिल्लीबाट पैदल हिँड्दै मध्य प्रदेश पुग्दै गर्दा आगरा नजिकै मृत्यु भएको थियो । रणवीर नामका ती व्यक्ति दिल्लीमा एक डेलिभरी म्यानका रुपमा काम गर्दै आएका थिए । 

रणवीर सिंह

लकडाउनपछि भने दिल्लीमा खान, बस्न समस्या भएपछि उनले आफ्नो गाउँ जाने फैसला गरेका थिए । तर कुनै साधन पाएनन् । त्यसपछि उनले हिँडेरै आफ्नो गाउँ फर्किने सोच बनाएका थिए ।  

मृत्युअघि रणवीरले आफ्ना केही साथीहरुसँग मिलेर घर जाने फैसला गरेका थिए । तर बस नै नपाएपछि रणवीरले हिँड्न सुरु गरे । दिल्लीबाट फरीदाबाद पुगेका रणवीरले राती साँढे ९ बजे आफ्नी बहिनीसँग कुरा गरेका थिए फोनमा ।  

पिंकी भन्छिन्– ‘मैले त्यसदिन अचानक दाजुलाई फोन गरेँ । उनले लकडाउनका कारण आफू हिँडेरै घर फर्कँदै गरेको बताएका थिए । मलाई यो निकै अजिव लागेको थियो । फोनमा कुरा गरेपछि म औषधी खाएर सुतेँ । बिहान जब उठेँ, मैले सबैभन्दा पहिले उनैलाई फोन गरेँ ।’ 

पिंकीका अनुसार बिहानपख फोन गर्दा रणवीरले आफ्नो छाती दुखेको बताएका थिए ।  

रणवीर दिल्लीबाट मथुरा हुँदै बिहान आगरासम्म पुगिसकेका थिए । त्यतिबेलासम्म रणवीर निकै थाकिसकेका थिए । बाटोमा केही दुरी उनले ट्याक्टरबाट पार गरेका थिए । बाँकी पैदल नै हिँड्ने निर्णय गरे ।  

रणवीर सिंह त्यो बाटोमा एक्लै हिँडिरहेका थिएनन् । उनीसँगै उनैको उमेरका कयौ युवा, वृद्ध र बच्चा पनि हिँडिरहेका थिए ।  

रणवीर दिल्लीको एक भोजनालयमा डेलिभरी म्यानका रुपमा काम गर्थे । उनको साथमा एक आफन्त अरविन्द पनि थिए । अरविन्द त्यही व्यक्ति हुन् जसलाई रणवीरले अन्तिम पल्ट कल गरेका थिए । अरविन्द त्यो पुरा रात रणवीरकै सम्पर्कमा थिए ।  

अरविन्दलाई एउटा ट्रकमा ठाउँ मिलेको थियो जबकी उनको भिनाजु पैदल आइरहेका थिए ।  

अरविन्द भन्छन्– ‘रणवीरसँग मेरो कुरा राती भएको थियो । त्यो समयमा नै उसले थकानको कुरा गरेको थियो । तर कोरोनाको डरका कारण कसैले उनलाई सहयोग गरेनन् । ऊ पैदल हिँडेरै आगरासम्म आउँदा उसकाे हालत खराब भयो ।’ 

मर्नुअघि रणवीरले अरविन्दसँग गुहार मागेका थिए फोनमा । अरविन्द भन्छन्– ‘उसले मलाई फोन गरेर आफ्नो छाती दुखेको र मलाई सक्छौ भने लिन आऊ भनेको थियो । मैले उसलाई १०० मा फोन गरेर कसैको सहयोग लिऊ भनेको थिएँ, त्यसपछि उसको आवाज बन्द भयो ।’ 

त्यसको करिब ८ मिनेटपछि अरविन्दले पुनः फोन गरेका थिए रणवीरलाई तर फोन अर्कैले उठाएर भन्यो– ‘उसको हालत गम्भीर छ ।’ त्यसपछि रणवीरको मृत्यु भयो ।  

रणवीरको मृत्युपछि उनको घरमा कोलाहल मच्चिएको छ । रणवीरकी पत्नी र ३ बच्चा शोकाकुल छन् ।  

रणवीरकी बहिनी पिंकी भन्छिन्– ‘हाम्रो बुवाको पनि छिट्टै निधन भएको थियो । त्यसपछि दाजुले नै घरको जिम्मेवारी सम्हालेका थिए । उनको तीन सन्तान छन् । घरमा अरु कोही छैनन् कमाउने । दाईले ऋण पनि लिनुभएको थियो डेढ लाख, अब त्यो कसरी तिर्ने ! तनावमा छाैँ । ’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *