धरान खानेपानी आयोजनामा विद्यमान विवाद
‘राज्य पक्ष आदिवासी जनजातिहरू प्रति असहिष्णु भई रहेको अवस्थामा हिजो कर्मचारी नेतृत्व नगरपालिकाले यस पक्षमा कुनै कुरो सोच्न सकेन । अब जननिर्वाचित प्रतिनिधिहरू भएको अवस्थामा यस विषयलाई गम्भीर रूपमा लिनु पर्दछ’
धरान नगर पालिकाले एसियाली विकास बैकको सहयोगमा स्थानीय विकास मन्त्रालयको एकीकृत शहरी विकास आयोजना अन्तर्गत खानेपानी आयोजना सन् २०१२ देखि सञ्चालन गदै आएको छ । यस आयोजनाको सुरुमा यसको स्थायित्व, पारदर्शिता र सबै पक्षको सहभागिताको प्रशनले धेरै विवाद र आन्दोलनहरू भएता पनि अन्ततः आन्दोलनरत पक्ष र धरान उपमहानगर पालिका बिच ११ बुँदे सहमति भई आयोजना अगाडी बढिरहेको थियो । उक्त ११ बुँदे सम्झौताको कार्यन्जयन स्थिति के छ ? त्यो धरान उपमहानगरपालिका र सङ्घर्ष समितिलाई याद होला । खानेपानी आयोजनाको अनुगमन समितिमा आन्दोलनरत पक्षहरूको नेतृत्व र सहभागिता सहित आयोजनालाई सफल बनाउन कामहरू भई रहेको अवस्थामा विजयपुर गढी स्थित् जङ्गलमा ७ कट्टा जग्गामा ११७ थान रुख काटी ६ लाख लिटरको पानी ट्याङकी निर्माण गर्ने कार्यको सुरुवात भए पछि यहाँ खानेपानी आयोजनाको पुनः अवरुद्ध भएकोछ । यस सवालमा पटक पटक यहाँ आन्दोलनरत चार किरात समुदाय (लिम्बु, राई, याख्खा र सुनुवार)सङ्घर्ष समिति र धरान नगरपालिका बिच वार्ता भई सहमति गरे पनि उक्त सहमतिलाई कार्यान्वयन गर्न धरान उपमहानगर पालिका तदारुकता देखाएकोछैन । यसै सन्दर्भमा यस आयोजना र विजयपुर गढी क्षेत्रमा निर्माण हुने पानी ट्याङकी र आदिवासीहरूको अधिकार अनि यस आयोजनाले पार्ने असर बारे छोटकरीमा छलफल गरिनेछ ।
विवादको सुरुवात
एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित यो खानेपानी आयोजनाको लागि तत्कालीन धरान १४ र १३ को जनताको लागि रिजर्बवेयर निर्माण धरान १४ पन्चकन्या जङ्गल(विजयपुर गढी जङ्गल)मा गर्ने निर्णय तत्कालीन दलिय संयन्त्रमा भएको देखिन्छ । यसरी दलिय संयन्त्रमा सहमति भई सकेपछि आयोजनाले रुख काट्न सुरुवात गरेको भनेर आयोजनाका कर्मचारीहरुले बताउँछन् । तत्कालीन दलिय संयन्त्रका नेताहरू सँग कुरा गर्दा हाल पन्चकन्याको मंन्दिरमा रहेको पुरानो खानेपानी ट्याँङ्कीलाई नै स्तरउन्नति गरी त्यही ठाउँमा बनाउने भन्ने बुझिएको भन्दछन् । तर आयोजनाले पानी ट्याङ्कीको निर्माणको लागि विजयपुर गढी भन्दा ५०० मिटर दक्षिण र पुरानो पानी ट्याङ्की भन्दा माथीमा जङ्गल फडानी गरेकोछ । यसरी गढी छेउको ७ कट्ठा जग्गामा । ६ लाख लिटर पानी ट्याङ्की निर्माण हुन गईरहेकोछ । यहाँ यो क्षेत्रलाई नगरपालिकाले कहिल्यै ऐतिहासिक क्षेत्रको रूपमा लिएन, त्यसैले यस क्षेत्रलाई विजयपुर दरबार वा गढी क्षेत्र भन्नुको बदला पञ्चकन्या जङ्गल भन्ने नामकरण नगरपालिकाले ग¥यो । जसले विजयपुरको इतिहासलाई गौण राख्ने काम भयो । दलिय संयन्त्रले पन्चकन्या जङ्गल भन्दा पन्चकन्या मन्दिर आसपास क्षेत्रलाई मानिनु स्वभाविक हो । त्यसैले सबै भन्दा महत्त्वपूर्ण कुरो धरान उपमहानगरपालिकाले विजयपुरको इतिहास, यसको सामाजिक र सांस्कृतिक महत्वलाई मान्यता दिनु पर्दछ । यस क्षेत्रको नामाकरण यसको इतिहास सँग जोडेर राखिनु पर्दछ ।
विजयपुर क्षेत्रको ऐतिहासिक महत्त्व
फ्रान्सीस बुचन ह्यामिलटनका अनुसार राजा विजयनारायण रायले स्थापना गरेको राजधानीलाई विजयपुर भनिन्छ । उनी साङलाइङ नाम गरेका याक्थुङबा राजाका सन्तान हुन् । इमानसिंह चेम्जोङका अनुसार “साङलाइङका पुर्खाहरू आसामका कामरुपबाट आएको भनिन्छ । साङलाइङले तराई मोरङका क्षेत्रमा आई वि.स.१४२१ देखि शासन गरेका थिए । उनको मृत्यु पछि उनका छोरा पुङलाइङ राजा भए । उनले हिन्दु मत ग्रहण गरी अमर राय उपनाम राखे । त्यसै बेला देखि हिन्दु संस्कृतिकरण प्रभाव पनि देख्न सकिन्छ । आफूलाई सभ्य र उच्च देखाउन हिन्दुपति ग्रहण गर्ने चलन थियो । अमर राय (पुङलाइन) पछि उनका छोरा किर्तिनारायण राय, उनी पछि उनका छोरा अपनारायण राय, उनी पछि उनका छोरा जोरनारायण राय, उनका छोरा इङदिननारायण राय, उनका पछि उनका छोरा विजयनारायण राय राजा भएका थिए । तर तुम्बाहाम्फे वंशवालीमा उपलब्ध सम्बत् १८१४को सातरेनहाङ (सात राय)को वंशावालीमा साङलाइङका छोरा याम्वरायेन, उनका छोरा आपनारांन, उनका छोरा कृइन नारांन, उनका छोरा चारै नारान, उनका छोरा ईतवी नारांन र उनका छोरा वीज्या नारांन भनेर उल्लेख गरेको छ। उनीहरूको राजधानी बारातप्पामा रहेको थियो । बारातप्पा हालको विजयपुर भन्दा पूर्व पानवारी लेटाङ क्षेत्रमा पर्दछ । त्यति बेला राज्यको सिमाना पूर्वमा टिस्टा, पश्चिममा कोसी नदी, उत्तरमा साँगुरीगढी दक्षिणमा जलालगढ सम्म थिए । सो समयमा सो समग्र क्षेत्रलाई मोरङ भनिन्थ्यो । उनीहरूको सन्तानले विजयपुरमा सात पुस्ता सम्म शासन सञ्चालन गरे । तत्कालीन समयमा मुरेहाङ फेदापथुमका प्रख्यात राजा थिए । त्यति बेला फेदाप भन्नाले विजयपुर माथीका समग्र पहाड क्षेत्रलाई भनिन्थ्यो । अथवा सो समय महाफेदाप समयका थिए । राजा विजयनारायणले पहाडमा कुनै आक्रमण नगर्ने तर फेदाप क्षेत्रका राजाहरूले ६/६ महिनामा चौतारिया भएर विजयपुर राज्यका राजकाजमा सहयोग गर्नु पर्ने सन्धी सम्झौता गरे । सोही सम्झौता अनुसार मुरेहाङ पनि विजयपुरका चौतारिया भएका थिए । यसरी दश लिम्बुवानका विजयपुर केन्द्र भएर शासन सञ्चालन भएको पाउछौं ।
विजयपुरका राजा विजयनारयाण पछि विजयपुर राज्य सेनहरुको शासनमा गएको देखिन्छ । यस्तो अवस्थामा विजयपुरकालिन प्रशासनिक व्यवस्थाको कुरा गर्दा सेन शासनकालको प्रवेश अधि र पछिको विश्ेलषण गर्दा उत्तम हुन्छ । सेनकालिन शासन भन्दा अगाडी अरुणपुर्व विजयपूरमा याक्थुङबाहरुको आफ्नो स्वतन्त्र शासन थियो । उनीहरूले आफ्नो पहिचान लिम्बु बनाई सकेको थिएन । उनीहरूले १० लिम्बूवानको रितीथिती अनुसार नै शासन व्यवस्था सञ्चालन गर्दथे । सेनकाल पछि विजयपुरका शासन व्यवस्थामा हाङ (राजा), चौतारिया(मन्त्री), काजी र देवानहरु मार्फत शासन सञ्चालन गरेको पाउँछौं । चौतारिया या मन्त्री पद मोरङ उत्तरका किरात वंशवाहेक अरू जातिले पाउँदैनथे (Hamilton, 124)। सेनकालमा पनि दश लिम्बूवानमा स्वायत्त ढङ्गले शासन सञ्चालन गर्दथे । सेन राजाहरूले विभिन्न समयमा लिम्बूवानका हाङहरुलाई नगरा निशानहरु प्रदान गरेको देखिन्छ । गोर्खा राजाहरूले पूर्वी आक्रमण गर्दाको समयमा लिम्बूवानमा श्री जङ्ग राय आठरायका, श्री फुङ्ग राय पाँचथरका, श्री जमुन राय चौबिसका, श्री आतहाङ्ग राय फेदापका, श्री शुभवन्त राय तम्बर खोलाका, श्रीरैनसिंह राय मेवाखोलाका, श्री देवराय मैवा खोलाका, श्री योङहाङ राय याङरोकका, श्री सुनुहाङ छथरका, श्री आसदेव चारखोलाका र श्री जसमुखी चैनपुरका सुब्बाहरु थिए। उनीहरू सबैले विजयपुरलाई नै केन्द्रमा शासन सञ्चालन गर्दथे ।
आईएल.ओ १६९, युएनड्रिप र विजयपुर
आदिवासीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सम्बन्धमा आई.एल.ओ १६९ र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्रले स्पष्ट रूपमा उल्लेख गरेकोछ । विजयपुर क्षेत्रमा खानेपानीको ट्याँकी निर्माणले नेपाल पक्ष राष्ट्र हस्ताक्क्षर गरेको आई.एल.ओ १६९ र युएनड्रिपको गम्भीर उल्लंधन भएकोछ । आई.एल.ओ १६९ को धारा ६.१ मा ‘समुहहरुलाई (कुनै पनि समुदायहरू) प्रत्यक्षरुपमा असर पार्न सक्ने कानुनी वा प्रशासनिक उपायहरुलाई अवलम्बन गर्ने बारमा सोचाई बनाउँदा सम्बन्धित समुहरु सँग उपयुक्त प्रक्रियाहरुद्वारा तथा खास गरेर उनीहरूको प्रतिनिधिमुलक संस्थाहरूको माध्यमद्वारा परामर्श गर्नु पर्दछ’ भनेर लेखिएकोछ.। तर धरान उपमहानगरपालिकाले खानेपानी आयोजना सञ्चालन गर्दा विजयपुर क्षेत्र र इतिहासलाई आफ्नो गौरव ठान्दै निश्चित पर्वहरुमा सांस्कृतिक अनुष्ठान त्यस जंगलममा गर्ने समुदायहरू सँग कुनै परामर्श न कुनै प्रतिनिधि संस्थाहरू सँग छलफल नै ग¥यो । त्यसरी नै धारा ७.१ मा ‘सम्बन्धित समुहहरुलाई आफ्नो जीवन, आस्था, विश्वास, संस्थाहरू तथा आध्यात्मिक समृद्धि एवं उनीहरूले ओगटेको वा प्रयोग गर्ने भूमिमा असर गर्ने विकासका प्रक्रियाहरुका बारेमा आफ्नो प्राथमिकताहरु निर्धारण गर्ने अधिकार रहनेछ तथा यथासक्य आफ्नो आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमाथि नियन्त्रण राख्ने अधिकार हुनेछ. यसका साथै उनीहरू आफूलाई प्रत्यक्ष असर गर्नसक्ने राष्ट्रिय तथा क्षेत्रीय विकासका लागि बनाइने योजना तथा कार्यक्रमहरूको निर्माण, कार्यान्वयन तथा मूल्याङ्कनमा सहभागी हुने अधिकार हुनेछ’ भनेर उल्लेख गरेकोछ.। चार किरात (लिम्बु, राई, याख्खा र सुनुवार)हरुले प्रत्येक वर्ष उधौली, उभौली पूजाको बैल त्यस गढीको स्थानमा पूजा अर्जना गर्ने चलन छ ।
त्यसरी नै यो स्थान चार किराती समुदायहरूको आस्था, विश्वास र गौरव सँग सम्बन्धित् छ । कंक्रीटका भौतिक वस्तुहरूको निर्माणले त्यस क्षेत्रको वनको विनासको साथै त्यसले भोलि गएर विजयपुर गढीको पहिचान नै सङ्कटमा पर्ने गर्दछ । त्यसरी नै युएनड्रिपको दफा ११.१ मा ‘आदिवासी जनजातिसंग उनीहरूको आफ्नो सांस्कृतिक परम्परा र प्रचलनहरु मान्ने तथा तिनलाई पुनर्जीवन दिने अधिकार छ । यसमा पुरातात्विक तथा ऐतिहासिक स्थल, कलाकृति, नमुना, उत्सव, प्रविधि तथा दृश्य एवं प्रस्तुति कला र साहित्य जस्ता उनीहरूका संस्कृतिका पूर्व, वर्तमान तथा भावी स्वरूपलाई कायम राख्ने, संरक्षण गर्ने तथा विकास गर्ने अधिकार समेत गर्दछ ।’ यो विजयपुर क्षेत्र किरात लिम्बु, राई, याख्खा र सुनुवार समुदायहरूको इतिहास, गौरव र पहिचानसँग सम्बन्धित् छ । त्यसरी नै चासोक, यक्वा, साकेला आदि चाडपर्वहरुमा विजयपुर गढीमा पुजापाठ गर्ने चलनछ । त्यसरी नै विजयपुर क्षेत्र किरात समुदायहरूको सांस्कृतिक महत्वको क्षेत्र पनि हो । त्यसरी नै युएनड्रिपको धारा १५.१ मा ‘आदिवासी जनजातिसंग उनीहरूको आफ्नो संस्कृति, परम्परा, इतिहास तथा आकांक्षाहरुको सम्मान तथा विविधता सम्बन्धी अधिकार छ र यो शिक्षा तथा सार्वजनकि सूचनामा उपयुक्त रुवमा प्रतिविम्बित् हुनेछ ।‘
विजयपुर दरबार र गढि क्षेत्र किरात आदिवासीहरूको गौरव र इतिहास हो । यसको सम्मान सरकार अन्य पक्षहरुले गर्नु पर्दछ । तर आयोजना र धरान उपमहानगर पालिकाले यसको सम्मान गरेको देखिँदैन बरु त्यस क्षेत्रको वनलाई अतिरन्जित ढङ्गले काट्दै विकासको नाममा पहिचान मेटाउने काम गरिरहेकोछ । त्यसरी नै युएनड्रिपको धारा १८ मा ‘आदिवासी जनजातिसंग उनीहरूको आफ्नो अधिकारमाथि प्रभाव पार्ने विषयहरूको निर्णय प्रक्रिया अनुरूप आफैले छानेका प्रतिनिधिमार्फत् सहभागी हुने एवं आफ्नै मौलिक निर्णय गर्ने संस्थाहरूलाई कायम राख्ने तथा सृजन गर्ने अधिकार छ ।’ विजयपुर जङ्गल क्षेत्रमा पानी ट्याङ्की निर्माण गर्ने कुरामा आदिवासी जनजातिहरूको संस्थागत सहभागिता धरान नगर पालिकाले आज सम्म गरेको छैन । स्थानीय समुहदायहरुको स्वीकृति लिने नाम विजयपुर वडा नं १४ का समुदायहरू सँग छलफल गरेको देखिन्छ तर जसको इतिहास, गौरव र संस्कृति सँग सम्बन्धित् छ उनीहरू सँग कुनै छलफल र अन्तरक्रिया गरेको देखिन्दैन । यसर्थ यसमा आयोजना र धरान उपमहानगर पालिकाको अत्यन्त ठुलो त्रुटि छ र आदिवासी जनजातिको मानवअधिकार हनन् गर्ने काम गरेकोछ भने नेपाल पक्ष राष्ट्र भएर गरेको सन्धि र सम्झौताको उलंघन गरेकोछ ।
अब के गर्ने ?
यस सवालमा चार किरात समूह (लिम्बु, राई, सुनुवार र याख्खा) र धरान उपमहानगर पालिका बिच पटक पटक वार्ता भई सकेकोछ । त्यही वार्ता अनुसार विजयपुर गढी क्षेत्र जङ्गलको ७ कट्टा भूभागमा काटिएको काठलाई उठाउन दिइएको हो । तर त्यसपछि पनि त्यस क्षेत्रको विकल्प खोज्ने काम धरान उपमहानगर पालिकाले गर्न सकेको छैन । ठुला भौतिक निर्माणले त्यस क्षेत्रको मूल सांस्कृतिक पहिचान सङ्कटमा पार्दछ, त्यसै पनि त्यस विजयपुर गढी क्षेत्रलाई पञ्चकन्याको रूपमा रुपमान्तरण गरिदैछ त्यसमा अझ भोलि गएर पानी ट्याङ्की क्षेत्रमा खानेपाी ट्याङ्की नामकरण हुनेछ । जसले विजयपुर गढीको सिङगो इतिहास सङ्कटमा पर्दछ । त्यसैले त्यस क्षेत्रमा खानेपानीको ट्याङ्की निर्माण गर्नु हुँदैन । त्यसको साथै विजयपुर जङ्गल क्षेत्रलाई पन्चकन्या जङ्गल नामकरण गर्नु हुँदैन । त्यसक्षेत्रको समग्र विकासको योजना निर्माण गर्नु पर्दछ , जसमा चार किरात समुदायहरूको औचित्यपुर्ण सहभागिता हुनु पर्दछ । यादरहोस् हालको जङ्गल क्षेत्र गढी क्षेत्र भने दरबार क्षेत्र भनेको बुढा सुब्बा र गढि जङ्गल जाने चौकको दाहिने पट्टीका क्षेत्रहरू हो जहाँ सुकुम्बासीहरुको बसोबास छ । धरान उपमहानगर पालिकाले ती सुकुम्बासीहरुलाई अन्य स्थानमा पुर्नवास गराई त्यस क्षेत्रको संरक्षण गर्नु पर्दछ ।
अन्तमा
समय अझ पनि छ, विजयपुर क्षेत्रलाई संरक्षण र सम्बर्धन गर्नको लागि । राज्य पक्ष आदिवासी जनजातिहरू प्रति असहिष्णु भई रहेको अवस्थामा हिजो कर्मचारी नेतृत्व नगरपालिकाले यस पक्षमा कुनै कुरो सोच्न सकेन । अब जननिर्वाचित प्रतिनिधिहरू भएको अवस्थामा यस विषयलाई गम्भीर रूपमा लिनु पर्दछ । धरान उपमहानगर पालिकालाई सांस्कृतिक पर्यटनको सहर निर्माण गर्ने हो भने यस क्षेत्रका समुदायहरूको इतिहास गौरव र संस्कृतिलाई संरक्षण गर्नु पर्दछ । कसैको पहिचानलाई मेटाउन खोजिन्छ भने त्यो सबै भन्दा प्रतिउत्पादक हुन्छ । त्यसैले धरान उपमहानगर पालिकाले खानेपानी ट्याङ्की धरान १४ विजयपुर गढी जङ्गलमा नबनाई अन्य विकल्पहरू खोजी अन्य स्थानमा निर्माण गरिनुपर्दछ ।