अन्तर्राष्ट्रिय मुलुकहरु बिचको द्वन्द्वको असर ‘सुन’ मा, घट्ला त मूल्य ?

पुस २२, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दिनप्रतिदिन ऐतिहासिक रेकर्ड बनाउँदै उकालो लागिरहेको छ ।  ५ सय, ३ सय र हजारका दरले बढ्दै ०७६ वैशाखमा अधिकतम ६० हजारसम्म पुग्यो । उक्त मूल्यबाट उकालो लाग्दै आज (मंगलबार) सम्ममा ७५ हजार ५ सय पुगेको छ ।   

आइतबार १ हजारले बढेको सुनको मूल्य सोमबार फेरि ५ सयले वृद्धि भई ७६ हजार कायम भएको थियो । आज भने ५ सयले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य वृद्धि भइरहेको छ ।   

किन बढ्दैछ सुनको मूल्य ?   

अमेरिका–इरान बिचको आन्तरिक द्वन्द्वका कारण सुनको मूल्य वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्मा बताउँछन् ।   

‘अमेरिका–इरान–इराक बिचको आन्तरिक तनावले अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य वृद्धि भएको छ, जसको असर नेपालमा पनि पर्न गएको हो’, अध्यक्ष मोहनले भने, ‘त्यस्तै अर्को कारण भनेको अमेरिका र चाइनाको वाणिज्य, व्यापार लगायत विषयमा वार्ता थियो, त्यो समयमै टुंगिन नसकेका कारणले गर्दा सुनको मूल्य स्थिर हुन÷घट्न सकेको छैन ।’ 

उनका अनुसार अहिले विभिन्न देशबिच आन्तरिक विवाद चर्किरहँदा सुनमा मान्छेको आकर्षण बढेको छ । स्वेच्छिक लगानी सुनमा बढेको छ । सुनको मूल्य उकालो लाग्नुको मुख्य कारण यो पनि हो ।   

सुनसँगै बढ्न सक्छ तेलको मूल्य, नेपालको रेमिट्यान्समा पनि प्रभाव   

अमेरिका–इरान तनाव अझै चर्किँदै गए विश्वसँगै नेपाली अर्थतन्त्रमा पनि असर गर्ने विज्ञहरुले बताउँदै आएका छन् ।   

नेपालको रेमिट्यान्समा पनि प्रभाव पार्न सक्ने बताइएको छ । रेमिट्यान्सलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । हाल नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान झन्डै ३० प्रतिशत रहेको छ ।   

द्वन्द्वको सम्भावना कायमै रहे विदेशिने नेपालीको दर घट्ने हुँदा रेमिट्यान्समा प्रभाव पर्ने तथा एकैपटक धेरै देशबाट घटेमा त्यसले नयाँ सङ्कट सिर्जना गर्न सक्ने थप चिन्ता पनि बढेको छ । तनाव चुलिँदै गए विश्वबजारमा पेट्रोलियम पदार्थकोे मूल्य पनि वृद्धि हुन सक्ने अर्थविज्ञहरुको अनुमान छ । 

   

नेपाली बजारमा खस्कियो सुनको कारोबार, व्यापारी भन्छन्– ‘शून्य छ व्यापार’ 

सुनको मूल्य निरन्तर उकालो लागिरहेका कारण कारोबार ठप्प भएको नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिए । ‘कारोबार शून्य छ, देशभरी मुश्किलले १० किलो पनि व्यापार भएको छैन’, उनले भने ।  

यस्तै रिद्धि सिद्धि ज्वेलर्सका सञ्चालक नगेन्द्र गुप्ताले सुनको मूल्य वृद्धिले ग्राहकको संख्या भन्दापनि क्रयशक्ति तथा खरिद परिमाणमा कमि आएको बताए ।   

‘यसैपनि सुनको सिजन होइन पुस महिना । त्यति कारोबार हुँदैन । त्यसैले अहिलेको मूल्य वृद्धिले कस्तो असर गर्छ, त्यो हेर्न बाँकी छ । यद्यपी वैशाखदेखि हुँदै आएको मूल्य वृद्धिले कारोबारमा निकै असर गरेको छ’, नगेन्द्र गुप्ताले भने ।   

सुनको कारोबार विशेषगरी तीज र लगनको महिनामा हुने गर्छ । विवाह, ब्रतबन्धमा सुनका गहना बढी खरिद गरिन्छ । सुन (गरगहना) नेपाली संस्कृतिसँग जोडिएका कारण ग्राहक संख्या घट्ने सम्भावना रहँदैन ।   

‘जब वृद्धि सुरु भयो, तीन चार महिना कारोबार ठप्पै भएको थियो । तिहारपछि मंसिरका लागि कारोबार अलिकति बढ्यो । मूल्य वृद्धि भएपनि संस्कृति, रिति रिवाजका कारण ग्राहकहरुले खरिद गरे तर थोरै गरे’, गुप्ताले भने ।   

एक वर्षमै १५ हजारले वृद्धि आएको छ सुनको मूल्यमा । यो ठुलो मूल्य वृद्धि हो । यसले ग्राहकको क्रयशक्तिमा फरक नपार्ने कुरै भएन । सौखको लागि किन्ने ग्राहकरुको संख्या भने ह्वात्तै घटेको नगेन्द्र गुप्ताको भनाइ छ ।   

उनी भन्छन्– ‘हाम्रा रेगुलर ग्राहकहरु पनि हुनुहुन्छ । संस्कृतिसँग जोडिएको व्यवसाय भएका कारण ग्राहकको संख्या घट्दैन । तर यो वर्ष सौखको लागि किन्ने ग्राहक संख्या चाहीँ ह्वात्तै घटेको छ । शून्य नै छ ।’ 

जयमाता दि गोल्ड प्यालेसका सञ्चालकको पनि भनाइ उस्तै छ । उनले भने, ‘मूल्य वृद्धिले व्यापार निकै खस्किएको छ । यकिन यति नै कारोबार भएको भन्न अलि गाह्रो हुन्छ । तर पहिलेभन्दा ५० प्रतिशत व्यापार घटेको छ ।’ 

ज्याला भने सामान हेरेर तोकिने उनले बताए । ‘सामान हेरेर २ प्रतिशतदेखि १० प्रतिशतसम्म ज्याला लिइन्छ । मूल्य घटबढ हुँदा स्वतः असर गरिहाल्छ’, उनले भने ।   

घट्ला त मूल्य ?   

‘सुनको मूल्य दिनहुँ घट्ने÷बढ्ने भइरहेको छ । अझै बढ्न सक्छ या घट्न सक्छ यसै भन्न सकिने अवस्था छैन’, सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माको भनाइ छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *