कोरोना संक्रमित युवती उपचारपछि टेकु अस्तालबाट डिस्चार्ज
वैशाख ६, काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसको उपचार गराइरहेकी युवती घर फर्किएकी छन्। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवती २७ दिनपछि शनिबार घर फर्किएकी हुन्।
रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन्। उनी कोरोना संक्रमणबाट मुक्त भएपछि टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका महानिर्देशक सागरराज भण्डारीले बताए। ‘यसअघि पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो। आज पनि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो,’ उनले भने।
चैत ४ गते फ्रान्सबाट कतार हुँदै उनी नेपाल आएकी थिइन्। नेपाल आएपछि उनी होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए। नेपालमा देखिएको कोरोनाभाइरसको यो दोस्रो केस थियो। चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन्।