भारत पुगेको गैँडा आफ्नै घर ल्याइयो
किशोर खनाल, भरतपुर । बाढीले बगाएर भारत पु¥याएको चितवनको गैँडालाई आफ्नै घरमा ल्याइएको छ । देशका तराई भूभागमा साउन अन्तिम हप्ता आएको भीषण बाढीले बगाएर चितवनको गैँडालाई भारत पु¥याएको थियो । भारत पुगेका ६ गैँडा चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको छ ।
शनिवार बिहान ल्याइएको अन्तिम गैँडालाई सौराहाको हात्तीसार नजिकै जनकौली मध्यवर्ती सामुदायिक वनमा छाडिएको छ । यससँगै बाढीले भारत पु¥याएका ६ वटा गैँडाको उद्धार गरी फिर्ता ल्याइएको छ । शुक्रवार नियन्त्रणमा लिइएको सो पोथी बयस्क गैँडालाई बिहीबार बिहान सौराहा ल्याइएको हो ।
यसअघि भारतबाट ५ गैँडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो । भारतबाट ल्याइएका गैँडामध्ये दुई पोथी माउ तथा एक भाले र एक पोथी बच्चा थिए । बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा पनि तीन वटा गैँडा पु¥याएको मध्ये एक गैँडालाई निकुञ्जमै ल्याइएको छ । बाढीपछि दुई गैँडा मृतअवस्थामा भेटिएका थिए ।
निकुञ्जका अनुसार वाल्मीकि टाइगर रिजर्भमा अझै एक गैँडा रहेको छ । सो गैँडालाई चितवन निकुञ्ज ल्याउने प्रयास भइरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । गैँडाको उद्धारका लागि गत सातादेखि नै एक टोली खटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार सबै अन्यन्त्र गएका गैँडालाई ‘डार्ट’ (बन्दुकबाट लठ्याउने सुई लगाउने काम) गरेर निकुञ्ज ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० कर्मचारी परिचालन गरिएको छ । बाढीका कारण चितवनमा दर्जन बढी हरिण, मृग र अन्य जंगली जनावर मरेको निकुञ्जले जनाएको छ ।