अत्यधिक गर्मीका कारण बाँकेको जनजीवन प्रभावित

बाँके, साउन ६ । असारको तेस्रो सातादेखि बाँकेको नेपालगञ्जमा पानी पर्न नसक्दा उखरमाउलो गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ । अत्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ ।

गर्मी महिना शुरु भएयता नेपालगञ्जमा अहिलेसम्म ठूलो मनसुनी झरी पर्न सकेको छैन । पानी नपर्नाले पनि आमनागरिकले उखरमाउलो गर्मीको नियति भोग्नु परेको हो ।

गर्मी बढेसँगै यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ ।

पर्याप्त मनसुन नपरेका कारण बाँके जिल्लामा धान रोपाइँसमेत प्रभावित भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार नहर, कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइँ थालिएको छ भने बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन । अत्यधिक गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरू बताउँछन् । यहाँका अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *