लगातारको लकडाउनले धरानमा औषधि अभाव
वैशाख ७, धरान । सामान्य अवस्थामा पनि अतिआवश्यक औषधि सहजै नपाइने क्षेत्र धरान, झन् अहिले मुलुकमा भएको लगातारको लकडाउनका कारण औषधि अभाव हुन थालेको छ । गम्भीर प्रकृतिका बिरामीहरु समस्यामा पर्न थालेका छन्, औषधि नपाएर ।
भारत सरकारले अत्यावश्यक २३ प्रकारका औषधि आयात गर्न दिने भनेपनि उपलब्धता कम हुँदै गएपछि बिरामीहरु समस्यामा पर्ने गरेको व्यवसायीहरुले बताएका छन् ।
धरानका अस्पताल वरिपरि रहेका फार्मेसीहरुमा विशेष गरेर शल्यक्रिया,आइसियु र सिसियुमा प्रयोग हुने अत्यावश्यक औषधिहरु अभाव हुन थालेको धर्म मेडिकल धरान–१८ का रबिन श्रेष्ठले जानकारी दिए । सरकारले यसतर्फ ध्यान नदिए बिरामीले समस्या भोग्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार लाईसेबिङ ड्रग, सेनिटाईजर, अप्रेशन गर्दा लगाईने डिस्पोजेवल पिपीई लगायतका औषधी तथा मेडिकल सामानहरुको अभाव सुरु भएको छ ।
श्रेष्ठले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दर्जनौँ विभिन्न रोगका शल्यक्रिया हुने र सिकिस्त बिरामीलाई सघन उपचार सेवा (आइसियु) र बच्चालाई सिसियुमा राख्दा अत्यावश्यक औषधि प्रयोग हुने गदर्छ । यी औषधिहरु तत्काल नभए बिरामीको ज्यान समेत जान सक्ने उनले बताए ।
उनले औषधी ब्यवसायी संघकै मानिसहरुलाई औषधी लिन जाँदा पनि प्रहरी प्रशासनले प्रक्राउ गरी लठ्ठी हान्न थालेको पनि बताए । जसकारण औषधी ब्यवसायीहरुलाई समस्या हुने गरेको उनको भनाइ छ ।
उता धरान–१८ स्थित बीपी क्याम्प अगाडि अनिता मेडिकल हलका संचालक वीरेन्द्र गुप्ताले पनि अतिआवश्यक औषधि अभाव हुँदै गएको बताउँछन् ।
अत्यावश्यक औषधिको अभाव हुन नदिन औषधि व्यवसायी संघले सरकारलाई ध्यानाकर्षण समेत गराएको अवस्थामा पनि त्यति चासो देखाएको पाइएको छैन सरकारले ।
नेपाल औषधि व्यवसायी संघ सुनसरीका महासचिव सुवास पौडेलले आइसियु तथा शल्यक्रियामा प्रयोग हुने औषधि सर्टेज हुँदै गएकोले समयमै आपूर्ति गर्न नसके यसले ठूलो समस्या निम्त्याउन सक्ने बताए । उनका अनुसार लगातारको बन्दले एकातिर बीपी प्रतिष्ठानका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द हुँदा बिरामीहरु मारमा परेका छन् भने अर्कोतर्फ औषधि समेत सकिँदै जाँदा यसले झन् ठूलो समस्या निम्त्याउने देखिएको निश्चित छ ।
नेपाल सरकारले नागरिकको स्वास्थ्यलाई मध्येनजर गर्दै उपलब्धतामा सहजता कायम गर्न औषधिजन्य अतिआवश्यक सामग्रीहरुको आयात बढाउनुपर्ने देखिन्छ ।