अस्ट्रेलियामा संक्रमित सबै नेपाली निको भए, भारतमा एकै परिवारका ८ नेपालीमा कोरोना

चैत २९, काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित सबै नेपाली निको भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।   

क्यानबेरामा रहेको नेपाली दूतावासका अनुसार अस्ट्रेलियामा आठजना नेपालीको कोरोना संक्रमण देखिएको थियो । दुई साताअघि सिड्नीका ४ विद्यार्थी र मेलबर्नका ३ जनामा संक्रमण देखिएको थियो । आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ । 

एकजना विद्यार्थी भने साता दिनअघि नै निको भएर फर्किसकेका थिए । अब कोरोना भाइरस देखिएका सबै नेपाली निको भएर आफ्नो दैनिकीमा फर्किसकेको दूतावासको भनाई छ ।   

यता भारतमा एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमाकोभिड-१९ को संक्रमण देखिएको हो ।   

सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । योसँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ । एउटै परिवारका यति धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो घटना हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *