विषादी परीक्षण बिनै भारतीय तरकारी र फलफुल खुलेआम बजारभरी, सर्वाेच्चकाे आदेश थाहा छैन

 

साउन ६, विराटनगर । प्रदेश नं. १ का जनता अझै विषादी युक्त तरकारी खान बाध्य हुँदै आएका छन् । सर्वोच्च अदालतले दिएको आदेश वेवास्ता गर्दै भन्सार कार्यालयले विषादी परीक्षण विनै फलफुल तथा तरकारी आयात गर्न दिएपछी प्रदेश नं. १ का जनता अझै पनि विषादी युक्त फलफुल तथा तरकारी खान बाध्य भएका हुन् । 

भारतबाट मासिक रुपमा ठुलो परिमाणमा फलफुल तथा तरकारी नेपाल भित्रने गरेको छ । परीक्षण विनै तरकारी तथा फलफुल आयात हुने गरे पछी नेपाली जनताको स्वास्थ्यमाथि ठुलै खेलबाड भइरहेको उपभोक्ता अधिकारकर्मीहरुले आरोप लगाएका छन् । 

null

उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले सर्बोच्च अदालतको आदेशका बावजद पनि परीक्षण विना तरकारी तथा फलफुल आयात हुनु नेपाली जनताका लागि दुखद भएको बताए । ‘सर्वोच्च अदालतको आदेश पालना नहुनु र विना परीक्षण तरकारी तथा फलफुल आयात हुनु राज्यको कमजोरी हो । अदालतले परीक्षण बिना विक्रिवितरणमा रोक लगाए पनी भन्सारबाट त्यसै भित्री रहेको छ । यो जनताको स्वास्थ्यमाथि ठुलो खेलबाड हो ।’ उनले भने । 

अधिकारकर्मी ढुंगेलले विषादीयुक्त तरकारी आयात हुँदा जनताको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले तीनै तहका सरकारले विशेष चासो राखेर तत्काल रोक लगाउनुपर्ने बताए । ‘विषादी परीक्षणको हल्लाले तरकारी तथा फलफुलको मुल्य बढेपनि तरकारी फलफुलहरु भने परीक्षण बिनै जनताको घरघरमा पुगेर मानव स्वास्थ्यमा गम्भिर असर गरीरहेको छ ।’ ढुंगेलले भने । 

 

सर्वसाधारण उपभोक्ताहरु भने विषादी परीक्षणका विषयमा अनभिज्ञ रहेको पाइएको छ । विराटनगर वडा नं. ७ हाटखोलाका केशर घतानीले विषादी परीक्षण गरेर मात्र आयात भइरहेको लागेर नै फलफुल तथा तरकारी खरिद गर्ने गरेको बताए । उनले विषादी परीक्षण भएको नभएको तरकारी फलफुल खरिद गर्दा थाहा नहुने बताए । ‘हामीले कसरी चिन्नु तरकारी भारतको हो की नेपालको ? परीक्षण विनै भारतीय तरकारी आएको रहेछ भने हामी त्यसै मर्ने भयौँ । सरकार चाँही के गर्दैछ ? के हामीलाई सरकारले मार्न खोजेको हो ?’ उनले प्रति प्रश्न गरे । 

विराटनगर कै कमल खातीले विषादीयुक्त तरकारीले जनताको स्यास्थ्यमा गम्भिर असर पर्ने भएकाले परीक्षण गरेर मात्र नेपाल भित्रयाउन सरकारसँग माग गरे । उनले भने, ‘तरकारी हामीलाई नभइ नहुने चिज हो । सरकारले जसरी भएपनि विषादीयुक्त तरकारी बन्देज लगाउनुपर्छ ।’ 

यता व्यापारीहरुले भने तरकारी तथा फलफुलको परीक्षण गर्ने गरेको दावी गरेका छन् । विराटनगरका फलफुल तथा तरकारी व्यापारीहरुले विराटनगरमा परीक्षण ल्याब नभएपनि झापाको विर्तामोड स्थित ल्याबमा परीक्षण गराएर मात्र विक्रि वितरण गर्ने गरेको दावी गरेका छन् । विराटनगर गुद्री बजारका थोक तरकारी व्यापारी गौरिशंकर भगतले भने, ‘हामीले जतिपनि तरकारी आयात गरेका छौँ । सबै चेक गराउन पठाएका छौं । तरे विराटनगरमा भएको ल्याबलाई मान्यता नदिने रे ? अब टाढा जाँदा हाम्रा तरकारी कुहिन्छ यतातिर सरकारको ध्यान जाओस् ।’ उनले भने । उनले सरकारले तरकारी तथा फलफुलको विषादी परीक्षण गराउने कार्य सवै नाकामा व्यवस्था मिलाउनु पर्ने बताए । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो । त्यस लगतै भारतीय पत्र आएपछी असार १८ गते सरकारले प्राविधिक तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने आफ्नै निर्णय फिर्ता लिएको थियो । तर, असार २५ गते नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध दर्ता भएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको थियो । आदेशमा ‘तत्काल विषादी परीक्षण नगर्ने सरकारको निर्णय उपभोक्ता संरक्षण ऐन २०७५ र मुलुकी अपराध संहिता २०७४ विरुद्ध रहेको वा नरहेको प्रश्न उठेको’ उल्लेख छ । 

सर्वोच्चको आदेशमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १०७ ले हानिकारक रासायनिक पदार्थ वा अखाद्य पदार्थ बिक्री वितरण पैठारीसमेतको कार्यलाई निषेधित अपराधिक कार्य मानेको हुँदा असार २ गते राजपत्रमा प्रकाशित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना विपरीत मन्त्रिपरिषदको निर्णय संविधान र कानूनका यी समस्त व्यवस्थाहरुको के कति अनुकुल हुन्छ भन्ने प्रश्नसमेत उत्पन्न हुन गएको छ ।’ 

सर्बोच्च अदालतले सरकारका नाममा यसरी अन्तरिम आदेश जारी गरेको भएपनी आदेशको वेवास्ता गर्दै विषादी परीक्षण नगरी भारतीय तरकारी तथा फलफुल नेपाल आयात भइरहेको छ । प्रदेश नं. १ का विराटनगर नाकाबाट निर्वाधरुपमा विषादी परीक्षण विना तरकारी तथा फलफुल आयात भइरहेको छ । विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी मणिराम पौडेलले सर्बोच्च अदालतको आदेशका सम्बन्धमा आफुहरुलाई कुनै जानकारी नभएका कारण यथास्थितीमै तरकारी तथा फलफुल आयात भइरहेको बताए । उनले परीक्षण गर्नुभन्ने आधिकारिक पत्र हाल सम्म नआएको र हल्लाकै भरमा रोक्का गर्न नमिलेको बताए । 

 

‘सुरुमा सरकारले परीक्षण गरेर मात्र आयात गर्ने निर्णय गरेको हामीलाई पत्र आयो, पछी फेरी तयारी नपुगेको भन्दै छ महिनाका लागि स्थगीत गर्नु भन्ने विभागको आदेश आएपछी अहिले परीक्षण नगरिकनै तरकारी तथा फलफुल आयात भइरहेको छ । सर्बोच्चको आदेश सञ्चारमाध्यममा सुनेका हाैं आधिकारिक जानकारी छैन ।’ उनले भने । 

कृषि मन्त्रालयले २०७५ सालमा प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र गठन गरेको छ । बाली संरक्षण निर्देशनालय, राष्ट्रिय प्लान्ट क्वारेन्टिन कार्यक्रम र विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा गाभिएर प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र बनाइएको हो । 

अहिले केन्द्रीय स्तरमा एउटा प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र तथा त्यस मातहतमा १५ वटा क्वारेन्टिन कार्यालय र सातवटा विषादी अवशेष द्रुत विश्लेषण इकाई स्थापना भई निरन्तर तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्दै आएका छन् । 

काठमाडौंको कालीमाटी तरकारी बजार, सर्लाहीको नवलपुरमा रहेको फलफूल तथा तरकारी बजार विकास समिति, झापाको बिर्तामोडमा रहेको कृषि उपज केन्द्र, कास्कीको पोखरामा रहेको शान्तिवाटिका कृषि बजार, रुपन्देहीको बुटबलमा रहेको कृषि उपज थोक बजार, बाँकेको नेपालगन्जमा रहेको रानीतलाउ कृषि उपज केन्द्र र कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक बजारस्थित परीक्षण केन्द्रहरूले विषादी परीक्षण गरिरहेका छन् । 

आर्थिक वर्ष २०७४/०७५ मा देशभर रहेका यी सबै विषादी परीक्षण केन्द्रमा ४ हजार ७८२ तरकारी तथा फलफूलका नमुना परीक्षण गरिएकोमा ३३ वटा नमुनामा खानै नहुने गरी अत्याधिक विषादी प्रयोग भएको तथा १०३ नमुना केही दिन पर्खेर खानुपर्ने अवस्थाका पाइएको थियो । 

 

सरकारले विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गरे यता मात्र साढे ३३ लाख किलो फलफुल तथा तरकारी आयात भएको छ । विराटनगर भन्सार नाका भएर आर्थिक वर्ष २०७५/०७६ को असार महिना भित्रमा मात्र १७ करोड ५८ लाख ४५ हजार रुपैयाँ मुल्य बराबरको ३३ लाख ४५ हजार किलो आलु, प्याज कोशे तरकारी, हरियो तरकारी, कागती, आँप, स्याउ, अनार र नरिवल लगायतका तरकारी तथा फलफुल नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार ५२ करोड ५ लाख ६४ हजार किलो फलफुल तथा तरकारी आयात भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *