मानवअधिकारवादी संस्था ‘हस्टेल फर हुमनिटी’ नेपालमा

फागुन १४, काठमाडौं । स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हस्टेल फर हुमनिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । 

मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको पक्षमा सरोकार भएका संस्थासँग साझेदारी गरेर काम गर्ने जनाएको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाको हित र अधिकारको पक्षमा काम गरिने बताइएको छ । 

काठमाडौँमा पत्रकार सम्मेलन गरी हस्टेल फर हुमनिटी नेपाल च्याप्टरको घोषणा गर्दै संस्थाका अध्यक्ष विनोद शर्माले बालबालिकाको पक्षमा वकालत तथा आवश्यक सहयोग जुटाउने लक्ष्यका साथ संस्थाले काम गर्ने बताउनुभयो । 

यो कार्यक्रमअन्तर्गत बालबालिका र युवाको शिक्षा, स्वास्थ्य र मानवअधिकारको पक्षमा काम गर्ने जनाइएको छ । अमेरिकामा मुख्य कार्यालय रहेको यो संस्थाले नेपालको जुनसुकै क्षेत्रमा निश्चित क्षेत्र वा समुदायको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नेछ ।   

हरेक बालबालिकाको समान अधिकारको सुनिश्चितताका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शर्माको भनाइ छ । नेपाल च्याप्टरमा शर्माको अध्यक्षतामा १७ सदस्यीय समिति घोषणा गरिएको छ । विद्यालय तथा कलेजमा यस्तो कार्यक्रम सञ्चालन गरिने संस्थाका सदस्य ऋषि गौतमले बताए । 

नेपालमा कार्यरत मानवअधिकारवादी संस्था तथा स्थानीय सरकारको सहकार्य र साझेदारीमा संस्थाका गतिविधि अघि बढाइने उनको भनाइ छ । 

रासस  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *