सडकको सास्तीले पर्यटक भित्रिएनन्

चितवन, साउन ७ । भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटन व्यवसाय गत आर्थिक वर्षमा राम्रो सुधार हुने अपेक्षा गरिए पनि नारायणगढ मुग्लिन सडकका कारण लक्ष्यअनुरुप पर्यटक जिल्ला भित्रिन सकेनन् ।

जसका कारण गत आर्थिक वर्षमा भूकम्प जानु अघिको अवस्थामा पर्यटक भित्र्याउने जिल्लाका पर्यटन व्यवसायीको लक्ष्य पूरा हुन नसकेको हो ।

भूकम्पपछि ओरालो लागेको पर्यटन व्यवसाय गत आवमा पनि सन्तोषजनक हुन नसकेको एक तथ्याँकले देखाएको छ । चितवन राष्ट्रिय निकुञ्जकाअनुसार आव. २०७३÷७४ मा एक लाख ३९ हजार १२५ पर्यटक मात्रै निकुञ्ज भित्रिएका छन् । जसमध्ये नेपाली ३६ हजार ५६ जना, सार्क राष्ट्रका १५ हजार ८७९ र अन्य विदेशी ८७ हजार १९० रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।

गत आवमा रु २० करोड चार लाख ४८ हजार ३७२ राजश्व सङ्कलन भएको छ । भूकम्पपछिको आर्थिक वर्ष २०७२÷७३ मा भने ८७ हजार ३९१ पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका थिए । जसबाट रु ११ करोड ६८ लाख ५३ हजार ७१० मात्रै राजश्व सङ्कलन भएको थियो ।

पर्यटकीय मौसम सकिँनै लाग्दा भूकम्प गएकाले आव ०७१÷७२ मा हालसम्मकै बढी पर्यटक निकुञ्ज भित्रिएका थिए । सो आर्थिक वर्षमा एक लाख ७८ हजार २२० पर्यटक भित्रिएका थिए । जसबाट रु २४ करोड ९४ लाख राजश्व सङ्कलन भएको थियो ।

त्यसको अघिल्लो आर्थिक वर्ष ०७०÷७१ मा एक लाख ७३ हजार १२५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । जसबाट रु २४ करोड ७४ लाख राजश्व सङ्कलन भएको थियो ।

व्यवसायीले गत आर्थिक वर्षमा क्रमशः पर्यटक आगमनमा वृद्धि भएको भन्दै पूर्ववत् अवस्थामा पर्यटक भित्राउन सकिने जनाउँदै आएका थिए । क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले भूकम्प र नाकाबन्दीपछि नारायणगढ–मुग्लिन सडक खण्डका कारण सोचेजति पर्यटक चितवन आउन नसकेको बताए ।

बुकिङ भएका पर्यटक पनि बाटोको कारण चितवन आउने कार्यक्रम रद्द गरेर अन्यत्र गएको उनले बताए ।

निकुञ्जका सूचना अधिकारी अर्यालले भूकम्पअघिको अवस्थामा पर्यटक आउने लक्ष्य सबैले लिएको भए पनि बाटोको कारण पर्यटक सोचे जति नआएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंँडा, पाटेबाघलगायतका दुर्लभ वन्यजन्तु हेरेर रमाउने पर्यटक आउने गर्दछन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *