सङ्लो तादीको धमिलो कथाः प्रहरी नै किन लुकाउँदैछ हत्यारा ?
हत्या गरिएका गणेशका बाबुआमा अहिले घर अगाडिबाट स्कुल गइरहेका विद्यार्थीहरुलाई देख्दा भक्कानिन्छन् । स्कुल पढ्न हिँडेका अरु किशोरहरुका अनुहारमा गणेशलाई नै देख्छन् । उनी परिवार र आफूलाई सम्हाल्न सक्दैनन् । अरुका छोरीहरु देख्दा रुन मन लाग्छ र झल्झली सम्झिन्छन् । घरमुनि बग्ने तादी र त्रिशुली नदीको पानी जस्तै दाहाल परिवारको आँशु बगिरहेका छन् । नजिकका छिमेकीहरु भन्छन् ‘यी अभागी परिवारको काख खोसिएको महिना दिन भइसक्दा पनि परिवारको आँखामा आँशु रित्तिएका छैन ।’
यो कथा हो, एक अभागी परिवारको । जसले तामाको मुना जस्तो कलिलो किशोर छोराका हत्यारालाई कारबाही दिलाउन नसकेर आँशुका बलिन्ध्र धारा झारेर रुँदै हिँड्नु परेको छ । घटना भएको महिना दिन वित्यो, तर गणेशको हत्यारा पत्ता लाग्न सकेको छैन । भर्खरै जुँगाको रेखी बस्दै गरेका किशोर छोराको हत्यारा पत्ता लगाई कारबाही गर्न परिवारले प्रहरी प्रशासन पनि नधाएका होइनन्, तर अझै न्याय पाउन सकेका छैनन् ।
null
गणेश देवीघाटको सहिद जगतप्रकाश जंग शाह संस्कृत माविको कक्षा ९ मा अध्ययनरत थिए । बैशाख २३ गते नेत्रविक्रम चन्द्र विप्लव समुहले बन्द आव्हान गरेको थियो । घरबाट १० मिनेट मात्र टाढा रहेको संस्कृत माविमा पढ्ने गणेश सोही दिन स्कुलबाट छिट्टै फर्किए । अपरान्ह ४ बजे ‘क्यारेमबोर्ड खेल्न जान्छु’ भनेर हिँडेका गणेश घर फर्किएनन् । साँझसम्म घर नआएपछि उनको खोजी सुरु भयो । नजिकैको इलाका प्रहरी चौकी देविघाटमा परिवार तथा आफन्तले गणेशको खोजी गरिदिन आग्रह गरे । तर, प्रहरी सहायक निरीक्षक नेतृत्वमा रहेका चौकीका प्रहरीहरुले भने आफूहरुलाई निद्रा लागेको बताउँदै भोलिदेखि मात्रै खोजीमा जुट्ने बताए । नागरिकको ज्यान धनको सुरक्षा गर्ने जिम्मेवारी बोकेको सुरक्षा निकायकै यस खालको लापरवाह र गैर जिम्मेवार जवाफपछि परिवार र आफन्तले नै विभिन्न ठाउँमा खोजी गरे । रातभर सोधखोज गर्दा पनि गणेशको पत्तो लागेन ।
भोलिपल्ट दिउँसो ठूलो चिच्याहट दाहाल परिवारको कानमा गुन्जियो, घरबाट उत्तरपूर्वी क्षेत्र तादी नदीतिरबाट । उनीहरुले यति ठूलो विपत्ति आफैंमाथि आइपर्ला भन्ने सोचेका पनि थिएनन् । अघिल्लो दिन हराएका गणेश त भेटिए, तर मृत अवस्थामा । देविघाट बजार तादी नदी र त्रिशुली नदीको बीचमा पर्छ । त्रिशुलीमा तादी मिसिएको संगमभन्दा करिब सात आठ मिटर अगाडि बालुवा खानी छेउमा गणेशको शव थियो ।
ढुंगाको चेपमा भेटिएको शवको टाउको, छाती, हात तथा विभिन्न भागमा चोट थियो । पोष्टमार्टम रिपोर्टमा फलामको रड तथा ढुंगाले हानेर हत्या गरिएको देखियो । अघिल्लो दिन सकुशल हिँडेको छोरालाई त्यो अवस्थामा देख्दा परिवारको कस्तो हाल भयो त्यो शब्दमा ब्यक्त गर्न सकिन्न ।
त्यसयता सन्तान वियोगको दर्दनाक पीडा बोकेर हत्यारामाथि कारबाहीको माग गर्दै दाहाल परिवार आँशुका धारा बोकेर भौतारिइ रहेका छन् । स्थानीय भन्छन्, ‘सन्तान वियोगको यस्तो दर्दनाक दृश्य हामीले टुलुटुल हेरेर बस्नुपरेको छ, प्रहरी प्रशासनले देखाउनपर्ने जति चासो देखाएको छैन, पर्याप्त अनुसन्धान गरी दोषी पत्ता लगाएर तत्काल कारबाही हुनैपर्छ ।’
प्रहरीले समेत घटनाको गम्भीरतापूर्वक छानबिन नगर्दा पीडित परिवार झन् पीडामा छन् । हत्या जस्तो जघन्य अपराध भनेको सरकारवादी मुद्दा हो । जहाँ प्रहरी प्रशासनले हत्याराविरुद्ध आफैं प्रमाण जुटाउने र मुद्दा दायर गर्ने गर्छ । तर, प्रहरी प्रशासनले गणेश हत्यामा खासै चासो दिएको छैन । अनुसन्धानमा ढिलाई हुँदा भएका घटनाका प्रमाण समेत मेटिँदै जाने पो हो कि भन्नेमा गणेशको परिवार चिन्तित छ । ‘बोल्न नसक्नेका लागि न्याय पनि धेरै महंगो पर्दो रहेछ, अब आफैले छोराको हत्याको कसरी अनुसन्धान गरांै,’ छोराको फोटो छातीमा लपेट्दै मृतकका बुबा केदार भन्छन् ‘छोराको आत्मा र मेरो आँशुलाई सान्त्वना दिन मरेको छोराको न्यायको लागि म लडिरहनेछु ।’
दाहाल परिवार नेपाली समाजको यस्तो अभागी पात्र हुन् जसले आफ्ना कलिलो छोराको जीवन लुटिएर काख रित्तो हुँदासमेत आँशु झार्नु शिवाय केही गर्न सकेका छैनन् । समाजमा अचेल दिनहुँ अबोध बालबालिकाहरु हत्याको शिकार भइरहेका समाचार आउँछन् । तर, अनाहकमा मारिएका एक अबोध किशोरको हत्या भएपनि प्रहरी प्रशासनले फाइल अगाडि नबढाउँदा स्थानीय समेत अचम्मित छन् । देविघाटका स्थानीय भन्छन् ‘नेताका छोराछोरी मारिएका भए आन्दोलन गर्थे होलान्, दोषी पत्ता लगाउन ठूला नेता तथा उच्च पदाधिकारीसम्म धाउँथे होला, तर सामान्य परिवारको एउटा केटो मारिँदा यो मुलुकमा कोही बोल्दा रहेनछन ।’
एकपछि अर्को उस्तै प्रकृतिका घटना सार्वजनिक हुने क्रम बढे पनि सरकार सुरक्षामा गम्भीर हुन ढिलो भइसकेको प्रष्ट देखिन्छ । उता अनुसन्धान र निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको दायरामा ल्याउन तदरुकता नदेखाउनुले लापरबाहीको चरम हद नाघेको स्पष्ट हुन्छ ।
गणेश हत्या घटना सम्बन्धमा गम्भीरतापूर्वक छानबिन भइरहेको नुवाकोटका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको दावी छ । उनले भने ‘कसैलाई दुःख दिने नियतले ल्याएर अनुसन्धान गर्ने कुरा भएन, हामीले भित्रभित्रै अनुसन्धान गर्दैछौं, छिट्टै अपराधी पत्ता लगाउने प्रयासमा छौं ।’
नुवाकोटका प्रहरी प्रमुखले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए पनि पीडित पक्षले पत्याउने आधार फेला पारेका छैनन् । प्रहरी प्रशासनले आवश्यक अनुसन्धान नगरी गुपचुप रहनुले यस्ता घटनाले दण्डहीनता र विधिको शासनको हाकाहाकी खिल्ली उडाइरहेको छ । यदि बेलैमा प्रहरी प्रशासनले शंकास्पद व्यक्ति र अभियुक्त भनिएकाहरुसँग केरकार गरेको भए हत्याको घटनाका दोषी सजिलै भेटिन सक्थे ।
आउँदा दिनमा अरु निर्दाेष गणेशहरुले दिनदिनै अनाहमा हत्याको शिकार हुनुपर्ने थिएन । बोल्न नसक्ने गरिबका छोरीहरुको जीवनको कुनै मूल्य छैन । दाहाल परिवारको आँशुको अर्थ छैन । त्यसैले अपराधीको मनोबल बढिरहेको छ । प्रहरी प्रशासनले साँच्चै पाइला चाल्ने हो भने दाहाल परिवारको आँशु पुछ्ने हिम्मत गरोस्, अपराधीहरु वरिपरि नै छन् ।