पौडेलको मृत्युबारे छानविन गर्न विपक्षीकाे दबाब, आज पनि संसद अवरुद्ध गर्ने चेतावनी

 

साउन १३, काठमाडौं । विपक्षी दल राजपाले आज (सोमबार) दिउँसो बस्ने प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । 

विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयलाई लिएर राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो । यसअघि यसै विषयलाई लिएर कांग्रेस र राजपाले बैठकमा नाराबाजी गरी अवरुद्ध पारेका थिए । 

null

दोहोरो भिडन्तमा मारिएको भनिएका पौडेलको हत्या घटनाको छानविन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहित विपक्षी दलहरुको माग छ ।  

गएको बुधबार बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न सरकार तयार भएपछि अवरुद्ध नगर्ने सहमति भएको थियो । सहमतिपछि बैठक सुचारु भएको थियो । 

तर सोमबारको बैठक भने कुमार हत्याको छानविन गर्न समितिको माग पुरा नगरेका कारण विपक्षीले अवरोध यथावत् राख्ने भएको हो । 

आइतबार रिपोर्टर्स् क्लबमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले सोमबारसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका थिए । 

‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाइरहेका छौँ । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौँ’, यादवले भनेका छन् । 

सर्लाहीको लालबन्दीमा पौडेल प्रहरी कारबाहीमा मारिएको गृहमन्त्रीले पटक पटक संसदमा जवाफ दिइसकेका छन् । दुईवटा मोटरसाइकलमा आएका विप्लवका चार नेताले प्रहरीमाथी गोली प्रहार गरेपछि प्रहरीले आफ्नो सुरक्षाका लागि गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले दाबी गर्दै आएको छ । 

विप्लव समूहले भने सर्लाहीको लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरेको जिकिर गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *