जब झाडु बोकेर मुख्यमन्त्री र सचिव सडकमा निस्किए….

 

मंसिर १९, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश मुख्य सचिव दिपक सुवेदी जनकपुर शहर सरसफाइ अभियानमा सहभागी भएका छन् । बुधबार ‘जनकपुर महासफाइ अभियान’ मा सहभागी भएका मुख्यमन्त्री राउत र सुवेदीले सडकमा झाडु लगाएका छन् । 

मुखमा मास्क र हातमा झाडु लिएर मुख्यमन्त्री राउत र सुवेदीले सडक बढार्न थालेपछि सुरक्षा निकायका प्रमुखहरू, विद्यार्थी, कर्मचारी सबैले हातमा झाडु बोेकेर सफाई अभियानमा होमिएका हुन् । सबै निकायका प्रमुखसहित जनकचोकदेखि जानकी मन्दिसम्मको सरसफाइमा सहभागी भएका हुन् । 

null

 

सरसफाइको क्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुर धाम पर्यटकीय ऐतिहासिक र साँस्कृतिक महत्वले भरिपूर्ण भएका कारण शहरलाई सुन्दर हराभरा बनाउँदा र सरसफाइमा ध्यान दिँदा यहाँको पहिचान बढ्ने बताए । प्रदेशलाई स्वच्छ बनाउन नियमित सरसफाइमा ध्यान दिनुपर्ने उनको धारणा थियो । 

सरसफाइ अभियानमा सहभागी प्रदेश २ का मुख्य सचिव दिपक सुवेदीले ‘कुनै पनि ठाउँको सुसभ्य नागरिकको परिचय त्यस स्थानको सरसफाइ र वातावरणले पनि दिने हुँदा घरघरबाट फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । 

 

प्रदेश मुख्य सचिव सुवेदीलेले भने, ‘यस प्रदेशभित्रको हरेक गाउँपालिका, नगरपालिकादेखि महानगरपालिकासम्म सरसफाई अभियान चलाउनु पर्छ, तबमात्र हामी सफा र स्वस्थ हुन सक्छौं ।’ 

फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले चासो नदेखाउँदा पछिल्लो समय जनकपुर शहरमा नाक थुनेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । शहरको मुख्य र भित्री सडकमा जथाभावी फोहर फालिएकाले डम्पिङ साइट पुगेजस्तै भान हुन्छ । नाला सफाइ गर्दा झिकिएको लेदोसहितको फोहोर सडकमै छाडिएका कारण जनकपुर दिनदिनै दुर्गन्धित बन्दै गएको छ । 

 

विभिन्न निकायको संयुक्त आयोजनमा भएको महासफाइ अभियानमा जनकपुरको धार्मिक तथा ऐतिहासिक स्थल रामचोक, जनकचोक, जानकी मन्दिर लगायत जनकपुर अन्तरगृह परिक्रमा सडकको समेत सरसफाइ गरिएको छ । 

सरसफाइ अभियानमा प्रदेश नम्बर २ को भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनाल, नेपाली सेना २ नम्बर प्रदेश पृतना पति ईश्वर हमाल, प्रदेश प्रहरी प्रमुख हरिबहादुर पाल, सशस्त्र प्रहरी २ नम्बर प्रमुख प्रविन श्रेष्ठ लगायत ५ सय सुरक्षाकर्मी, २ सय भन्दा बढी विद्यार्थी, समाजसेवी, सर्वसाधारण लगायत सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *