नमूना बन्दै कृषि प्राविधिक शिक्षालय

साउन ८, म्याग्दी । म्याग्दीको दुर्गम विममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालय कृषि शिक्षाका लागि देशकै नमूना प्राविधिक शिक्षालयका रुपमा चिनिन थालेको छ । वि सं २०६९ बाट सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी सञ्चालन हुँदै आएको सो शिक्षालयमा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, चितवन, कास्की, बागलुङलगायत देशका १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् ।

शिक्षालयमा १८ महिने जेटिए र तीन वर्षे आइएससी (एजी) तहको पढाइ सञ्चालन भएको छ । मासिक रु पाँच हजारमा आवासीय सुविधासहित पठनपाठन हुने प्राविधिक शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले बताउनुभयो । स्थानीय स्रोतको भरमा तीनजना शिक्षकलाई तलब खुवाएर शिक्षालय सञ्चालन गरिएको छ । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा रहेका विमवासीको सहयोगमा शिक्षालय सञ्चालन भइरहेको शिक्षालयका प्रमुख गर्बुजाले बताउनुभयो ।

विद्यार्थीलाई प्रयोगात्मक विधिद्वारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको छ । हुम्लाबाट अध्ययनका लागि विममा आएका किशोर बुढाले यहाँको शिक्षण विधि, प्रयोगात्मक शैली, वातावरण, ग्रामीण परिवेश र सुविधा सबै उत्कृष्ट र विद्यार्थी अनुकूल रहेको बताउनुभयो ।

शिक्षालयले एक शैक्षिकसत्रका लागि जेटिएतर्फ ४० र आइएससी (एजी) तर्फ ४० गरी ८० जना विद्यार्थीलाई भर्ना लिने गरेको छ । हालसम्म जेटिएतर्फबाट १६० जनशक्ति उत्पादन भई सबै सरकारी तथा गैरसरकारी संस्थामा रोजगार भइसकेको प्रधानाध्यापक गर्बुजाले बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *