‘लोकतन्त्रमाथि खतरा आए सरकार ‘बघिनी शैली’मा उत्रन्छ’

असोज १, काठमाडौं । केहि ब्यक्तिहरुका कारण लोकतन्त्रमाथि खतरा उत्पन्न भए सरकार ‘बघिनीको शैली’मा उत्रने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले केही व्यक्तिहरू जसरी पनि वातावरण बिगार्ने काममा लागिरहेको उल्लेख गर्दै सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने चेतावनी दिए । 

‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुँदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन । डेमोक्रेसीमाथि, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।’ प्रधानमन्त्री ओलीले भने । 

उनले डेढ वर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको भन्ने आलोचनालाई सरकारले गम्भीर रूपमा लिएको र अझै तिब्र गतिका साथ काम गर्ने प्रतिबद्धता जनाए ।  ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराउँदै भने–‘भ्रष्टाचार नियन्त्रण सरकारले मात्र गर्न सक्दैन, सबैले आआफ्ना स्थानबाट उत्तिकै लाग्नु जरुरी छ ।’ 

प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ पनि असन्तुष्टि व्यक्त गरे । ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न बहानामा पैसा थप्ने काम नगर्न सहरी विकास मन्त्रीलाई निर्देशन उनले निर्देशन समेत दिएका थिए ।   

उनले डेढ वर्षमा थुप्रै काम भएका र ती काम देखिन थालेको बताउँदै मोतीहारी–अमलेखगञ्ज पाइप विस्तार, धरहरा निर्माण र रानीपोखरीको पुनःनिर्माण सरकारका देखिने खालका काम रहेको उदाहरण दिए । ‘निर्माण कार्यमा बिलम्ब हुने गर्या छ । यो मान्य हुँदैन । जति समय भनिएको छ त्यो समयभित्र काम सम्पन्न हुनुपर्छ । गुणस्तरमा कुनै सम्झौता हुँदैन । कबुल भन्दा पछि पैसा थप्ने काम हुँदैन ।’ 

कार्यक्रममा बोल्दै नेत्र विक्रम चन्द समूहका क्रियाकलाप प्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले हिंसा नितान्त ‘वितण्डा’ मात्रै भएको टिप्पणी गर्दै हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप  सरकारलाई कुनै पनि अवस्थामा सह्य नहुने र आवश्यक परे नियन्त्रणकारी भूमिका पनि खेल्न सकिने बताए । ओलीले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको भन्दै भने–‘अब के प्राप्त गर्नको लागि हिंसा गर्ने हो ?’ 

सो अवसरमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले २०५५ सालदेखि संसद् भवन निर्माण गर्ने सरकारको कार्यक्रम भए पनि अहिलेको सरकारले प्राथमिकतामा राखेर भवन निर्माणको शुरुआत गरेको बताउँदै तोकिएको समय तीन वर्षभित्र भवन निर्माण गरिने जानकारी दिए । कुल रु नौ अर्ब ६० करोडमा निर्माण हुने उक्त भवनमा विभिन्न ११ संरचना निर्माण हुनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *