पनौतीमा वनवाटिका उद्यान स्थापना

बनेपा, ८ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित कपालकोटमा सेतीदेवी वनवाटिका उद्यान स्थापना भएको छ । सांसद रामहरि सुवेदीको संसदीय विकास कोषबाट रु पाँच लाख, जिल्ला वन कार्यालयबाट रु आठ लाख र पनौती नगरपालिकाबाट रु दुई लाख गरी कुल रु १५ लाखको लगानीमा वनवाटिका उद्यान स्थापना भएको सहायक वन अधिकृत शिवराम थापाले जानकारी दिनुभयो ।

वनवाटिकामा अझै बाँकी रहेका काम पूरा गर्न पनौती नगरपालिकाले थप रु १० लाख रकम विनियोजन गरेको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले बताउनुभयो । वनवाटिका उद्यानको शनिबार शुभारम्भ गर्दै सांसद सुवेदीले मानव जीवनलाई समृद्ध बनाउन प्रकृति र वन जंगल जोगाउन आवश्यक रहेको धारणा व्यक्त गर्दै प्राकृतिक विविधता र जैविक विविधताको अस्तित्व संरक्षण सबैको साझा विषय भएको बताउनुभयो ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले वनवाटिकाले मानव जातिलाई प्रकृतिसँग जोड्न सहयोग पु¥याउने उल्लेख गर्दै व्यवस्थापनको कार्ययोजना बनाएर लगानीको संरक्षण गर्नुपर्ने बताउनुभयो । जिल्ला वन कार्यालयका वन अधिकृत प्रेम खनालले वन दशक कार्यक्रमअन्तर्गत जिल्लामा तीनवटा वनवाटिका स्थापना भएको जानकारी दिँदै चालू आवमा पनि थप दुईवटा वनवाटिकाको कार्यक्रम आएको छ भन्नुभयो ।

सो वनवाटिकामा सुन्तला, भोगटे, जुनार, मुन्तला, पारिजात, धुपी, लालुपाते, गुलाबलगायत ४९ प्रजातिका ४३० बिरुवा रोपिएको छ । तीस रोपनी क्षेत्रफलमा वनवाटिका स्थापना भएको छ । पनौतीबाहेक धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकामा पनि रु आठ–आठ लाखको लगानीमा वनवाटिका उद्यान स्थापना हुन लागेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *