दोलखाका तत्कालिन प्रजिअविरुद्ध भ्रष्टाचार मुद्दा

माघ २०, काठमाडौं ।  घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्द विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल विरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार सम्बीनध मुद्दा दायर गरेको हो।  रिजालविरुद्ध चार वटा घुस र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध कूल विगो रकम ६ लाख ५२ हजार ६ सय कायम गरी पाँचवटा आरोप पत्र दायर गरिएको हो। 

रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो। 

सेवाग्राहीसँग घुस लिएको आरोप लागेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई मंसिर २४ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो। उनलाई अख्तयारको टोलीले गत पुस १५ गते नियन्त्रणमा लिएको हो। 

अनुसन्धानको सिलसिलामा रिजालले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी महिलासम्बन्धी केश लाग्छ, थुनिदिन्छ, जागिर जान्छ, जिल्ला प्रशासन कार्यालयमा हाजिर गराउँछु भनी मोलाहिजा गरी डरत्रास देखाई गालीगलौज गरी धरौटी भनी झुक्याई सेवाग्राहीहरुबाट घुस  लिएको अख्तियारले जनाएको छ। 

यस्तै, उनले भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी, खाता नै खडा नगरी र कुनै प्रतिवेदन पेश नगरी, कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने अधिकारी पदाधिकारीको दस्तखतसमेत नगरी तथा अनुगमन गएको भनी भ्रमण भत्तासमेत बुझेका दिनहरुमा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैले सुरक्षा समितिको बैठक राखी उपस्थित भई हस्ताक्षरसमेत गरी बिभिन्न पत्रहरुमा हस्ताक्षर गरी र म्याद थपको आदेशसमेत गरेको देखिएको जनाइएको छ। 

रिजालको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएकोले ठहरसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी हिनामिना, हानिनोक्सानी गरेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *