द्वन्द्वपीडितका माग : दिगो पुनःस्थापना हुनुपर्ने

बैतडी, ८ साउन । यहाँ द्वन्द्वपीडितले आफूहरुको दिगो पुनःस्थापना हुनुपर्ने माग गरेका छन् । दोगडाकेदार गाउँपालिका श्रीकेदारका ६० वर्षीया विष्ना विष्टले आफ्ना एक मात्र २२ वर्षीय छोरा द्वन्द्वकालमा विद्रोही माओवादीद्वारा मारिएकाले बुढ्यौलीमा आफ्नो स्याहार गर्ने कोही नभएको बताउनुभयो ।

दशरथचन्द नगरपालिका–२ देहीमाडौँंका ६० वर्ष नाघ्नुभएका गोजडी बोहरालाई पनि बुढेसकाल लागेपछि अब कसरी बाँच्ने भन्ने चिन्ता छ । राहतको रकम बुझ्न सदरमुकाममै भेटिनुभएका उहाँले पनि पैसाले छोराको माया नमेटिने बताउँदै सरकारले आफूहरुको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

डिलाशैनी गाउँपालिका कोटपेटराका राम रानाले पनि द्वन्द्वकालमा आफ्नो छोरा गुमाउनुभयो । प्रत्येक वर्ष राहतका लागि सदरमुकाम पुग्ने रानाले राहत रकम पाए पनि द्वन्द्वपीडितका लागि सरकारले दिगो व्यवस्थापनका कार्यक्रम ल्याउन नसकेको गुनासो गर्नुभयो । द्वन्द्वपीडितले सरकारले आफूहरुको दिगो व्यवस्थापन हुने किसिमको कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् । द्वन्द्वपीडित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारलगायत क्षेत्रमा सहज पहुँच पुग्ने किसिमको कार्यक्रम ल्याउनुपर्ने डिलाशैनी गाउँपालिका– १ रामालाका धर्मानन्द भट्टले बताउनुभयो ।

सशस्त्र द्वन्द्वका बेला बैतडीमा एक सय ७१ जनाले ज्यान गुमाएका तथा २५ जना बेपत्ता भएका छन् । तीन सय ५० परिवार विस्थापित भएको स्थानीय शान्ति समितिसँग तथ्यांक छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *