काम छोडेर काठमाडौँमा प्रदर्शन गर्दै देशभरका कर्मचारी

 

पुस १०, काठमाडौँ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ को प्रक्रिया अगाडी बढाइरहँदा यसको विरोध जनाइरहेका स्थानीय तहका कर्मचारीहरु मंगलबार आन्दोलनमा उत्रिएका छन् । 

राष्ट्रिय कर्मचारी महासंघ नेपालले सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजनको विरोध जनाउन आह्वान गरिरहँदा मंगलबार देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले कर्मचारी अध्यादेश सच्याउन सरकारलाई दबाब दिएका छन् । आन्दोलनरत कर्मचारीहरुले कार्य अनुभव र शैक्षिक योग्यताको आधारमा यथोचित सेवा, सुविधा वृद्धि गर्न माग गरेका छन् । 

null

‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ खारेज गरेर कर्मचारी समायोजन गर्नुअघि संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन र कर्मचारी समायोजन ऐन एक साथ जारी गर्न पनि उनीहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

महासंघले अस्थायी, करार र ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई प्रक्रिया पुर्या‍एर स्थायी गर्न पनि सरकारसँग माग गरिएको छ । 

स्थानीय तहका कर्मचारीहरुले स्थानीय तहमा कार्यरत ज्यालादारी, करारमा रहेका कर्मचारीहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन्। उनीहरुले निजामती कर्मचारी सरह सेवा र सुविधाको व्यवस्था नगरेसम्म कर्मचारी समायोजना अध्यादेश मान्य नहुने स्पष्ट पार्दै एक हप्तायता कामकाज नै प्रभावित हुने गरी आन्दोलन सुरु गरेका हुन्। 

यता सरकारले कर्मचारीको व्यापक विरोधकाबीच पनि कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहको नयाँ संगठन संरचना र कर्मचारी दरबन्दीको टुंगो लगाउँदै स्वीकृतिका लागि मन्त्रिपरिषद्समक्ष पठाएको छ । 

तीनै तहको नयाँ संगठन संरचना र दरबन्दी स्वीकृत हुनासाथ समायोजनका लागि २१ दिनको सूचना प्रकाशित गर्ने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ । 

कर्मचारी समायोजन अध्यादेश २०७५ मा तीनै तहको संगठन संरचना र कर्मचारी दरबन्दीको अन्तिम टुंगो लगाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको नेतृत्वमा संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण समिति व्यवस्था गरिएको थियो । सो समितिले एक साताको अवधिमा संघ, प्रदेश र स्थानीय तहको नयाँ संगठन संरचना र कर्मचारी दरबन्दीको टुंगो लगाएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *