सरकारले काम कम, गफ बढी दिन्छः महामन्त्री कोइराला


वैशाख १, बनेपा । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकार काम गर्नतिर भन्दा ठूलाठूला भाषण गरी सपना बाँड्नतिर लागेको टिप्पणी गरेका छन् ।
कांग्रेस बनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
null
‘नेपाली नागरिक अहिले सार्वजानिक यातायातमा सुधार खोजिरहेका छन् । तर प्रधानमन्त्री रेल र पानी जहाजको सपना बाँडिरहनुभएको छ । सरकारले काम भन्दा बढी गफ गर्न लागेको छ । यो राम्रो होइन,’ उनले भने ।
कार्यक्रममा सरकारको आलोचनासँगै उनले प्रधानमन्त्रीको पनि छुट्टै आलोचना गर्न भ्याए । प्रम ओलीको आलोचना गर्दै महामन्त्री कोइरालाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली जनताका आवश्यकता पूरा गर्ने भन्दा आफू शक्तिशाली बन्ने बाटोको खोजीमा हुनुहुन्छ । प्रधानमन्त्री ओली न्यायालय आफ्नो पक्षमा पार्ने, नेपाली सेनाको शक्ति आफ्नो हातमा लिने, प्रहरी, प्रशासनमा आफ्नो हात माथि पार्ने बाटोको खोजीमा हुनुहुन्छ ।’
कोइरालाले आफू कांग्रेसलाई भावनात्मक रुपमा एक बनाउने अभियानमा रहेको समेत स्पष्ट पारे ।
