श्री ५ विद्यादेवी भण्डारीको सरकारको जनता हुन पाएकोमा धन्यवाद : नेता रामहरि खतिवडा

  

बैशाख २३, काठमाडाैँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुक यतिवेला अप्ठ्यारोमा रहेको बताउँदै पानीजहाज, रेल र सुनको कुरा सुन्दा निन्द्रा नै नलाग्ने अवस्था भैसकेको पनि व्यंग्य गरेका छन् । 

 

null

उनले रिपोर्टर्स क्लब नेपालमा सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा यी कुरा बताएका हुन् ।  

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै भने,‘विगतका कार्यक्रमहरुमा श्री ५ को सरकार लेखिने तथा राजाले मेरो सरकार भन्ने चलन थियो । तर, अहिले नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेर सम्बोधन गरियो ।’ श्री विद्यादेवी भण्डारीको सरकारको जनता हुन पाएकोमा धन्यवाद भन्दै खतिवडाले पूनः व्यंग्य कसे । 

उनले भने,‘हामीले एउटा राजा अर्को राजा स्थापना गर्न फालेका होईनौं । यो सरकार हामी सबै नेपालीहरुको हो ।’ नेपालमा विदेशी पाहुनाहरु आउँदा नेपालको राष्ट्रिय पोशाक उपहार दिनुपर्ने पनि उनले सुझाए । उनले भने,‘म पार्टी र जातीभन्दा धेरै माथि छु । म नेपाली हुँ भन्ने भावना सबै नेपालीमा आउन जरुरी छ।’ 

आजमात्रै फोरम नेपालसँग एकता घोषणा गरेका बाबुराम भट्टराईलाई जतिसुकै पार्टी परिवर्तन गरेपनि पोशाक भने परिवर्तन नगर्न पनि उनले आग्रह गरे । भुटानका राजाले विश्वकै जुनसुकै देशको भ्रमणमा जाँदापनि राष्ट्रिय पोशाक लगाएको उदाहरण दिँदै नेपालीहरुले पनि आफ्नो पोशाकलाई माया गर्नुपर्नेमा पनि खतिवडाले जोड दिए । 

नेता खतिवडाले भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा जनकपुरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्थित् भारतीय दुतावासमै लुगाको नापजाँच गरेर मोदीकै जस्तो नक्कल गरेको आरोप लगाए । उनले भने,‘नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलेजस्तै पोशाक लगाएर जानुले नेपालको राष्ट्रियतालाई कमजोर पारेको छ । भारतप्रति उहाँले लम्पसार पर्नुभयो । र, त्यो उहाँको आत्मसमर्पणवादी कदम हो । यदि उहाँले त्यो ठाउँमा एउटा मात्रै भादगाउँले टोपी उपहार दिएर मोदीलाई पनि लगाउन दिएको भए त्यतिवेला हामी उहाँको राष्ट्रियताप्रति वाहवाही गर्दथ्यौं ।’ 

खतिवडाले आफू ०७० सालमा सांसदमा निर्वाचित हुँदा संसद बैठकको सुरु दिनदेखि अन्तिम दिनसम्मपनि राष्ट्रिय पोशाकमै उपस्थिति भएको सुनाए । नेताहरुले पनि आफ्नो देशको पहिचान जोगाउनुपर्ने उनले सुझाए । 

देशमा संसद नहुँदा पनि रिपोर्टर्स क्लब नेपालले संसदको भूमिका निर्वाह गरेको सुनाए । उनले भने,‘देशमा निरंकुश शासन व्यवस्था हुँदा हामीले रिपोर्टर्स क्लब नेपालमा आएर बोलेका छौं । क्लब सबैको कुरा राख्ने थलको रुपमा रहेको छ । यसको लागि म ऋषिजीलाई धन्यवाद दिन चाहन्छु ।’ 

 

त्यस्तै रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रिपोर्टर्स क्लब नेपाल सधैंभरि राष्ट्रिय पोशाकको पक्षमा रहेको सुनाउँदै आगामी दिनमा पनि क्लबले यसलाई बहसको रुपमा जनतासामू लैजाने विश्वास दिलाए ।  

सबै राजनीतिक दलहरुलाई सहमति गराएर आगामी दिनमा राष्ट्रिय पोशाक अनिवार्य गराउनको लागि अभियान चलाउनुपर्ने पनि धमलाले जोड दिए । उनले भने,‘राष्ट्रिय पोशाकको विकल्प छैन । जनप्रतिनिधिहरुले राष्ट्रिय पोशाक लगाएमात्रै आम जनताले त्यसलाई अनुशरण गर्नेछन् ।’ 

आफूले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दौरा–सुरुवाल लगाएर अर्न्तवाता  लिने र त्यो दिन प्रचण्डपनि दौरा सुरुवालमै उपस्थिति हुने धमलाले विश्वास दिलाए । उनकाअनुसार आगामी जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन प्रचण्डसँग राष्ट्रिय पोशाकसहित अर्न्तवाता हुनेछ । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *