आलोपालो सरकारबारे ओली र दाहालबीच चल्यो जुहारी

पोखरा, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक प्रवृक्ति बढदै गएकामा दुःख व्यत्त गरेका छन् । पोखरामा शनिबार नेपाल स्काउटको राष्ट्रिय युवा सम्मेलन उद्घाटन गर्दै उनले पार्टीभित्र दुई अध्यक्षको सत्ता साझेदारीबारेको बहसतिर संकेत गर्दै भने, ‘एकता हुन नदिने, एकता भएकालाई पनि फुटाउन खोज्ने र पार्टीका शीर्ष नेतामा फाटो ल्याउन खोज्ने प्रवृत्ति बढदै गएको छ ।’ 

प्रधानमन्त्रीले राष्ट्रिय भावनाभन्दा क्षेत्रीय, जातीय तथा अनेक प्रकारका संकीर्ण भावना बढेकोमा पनि चिन्ता जनाए । यसैबीच मोरङ संवाददाताका अनुसार नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको निर्णय र देशको परिस्थिति अनुकूल रहे एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने बताएका छन् । उनले शनिबार विराटनगरमा पत्रकारहरूसँग भने, ‘एक वर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने हो । तर परिस्थिति कस्तो विकास हुँदै जान्छ, त्यसमा पनि निर्भर हुन्छ ।’ 

 

null

पार्टी एकताका बेला ‘ऐतिहासिक रूपमा गरिएको सहमतिलाई इमानदारीसाथ’ कार्यान्वयन गर्ने पनि उनले बताए । आलोपालो सरकार चलाउने विषयलाई लिएर शुक्रबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीमा आफ्नो प्रधानमन्त्री पद ‘४/५ दिन मात्रै बाँकी रहेको’ भन्दै व्यंग्यात्मक शैलीमा दिएको प्रतिक्रिया प्रतीकात्मक भएको दाहालले बताए । दाहालले एक अन्तर्वार्तामा ‘पार्टीका दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको’ विषयलाई उठाएपछि केही दिनयता यो विषयले नेकपाभित्र समेत तरंग ल्याएको छ । 

पार्टीका अन्य नेताले समेत यो विषय खुलारूपमा उठाउन थालेका छन् । ‘अन्तर्वार्तामा पार्टी एकताका बेला हामीबीच भएका सहमतिको कुरा स्मरण मात्रै गरेको हुँ,’ उनले भने, ‘बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय बोलेकै छैन । प्रधानमन्त्रीले त्यो कुरा राम्ररी बुझ्नुभएको छ ।’ अध्यक्ष दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पत्रकारलाई नलेख्न आग्रह गरे । ‘हामीले पार्टी एकताका बेला जे सैद्धान्तिक र व्यावहारिक सहमति गरेका छौं, त्यही लाइनमा अघि बढदै र पार्टीलाई सुदृढ गर्दै जान्छौं,’ उनले भने । 

त्यसैगरी काठमाडौंमा नेकपाका नेता हरिबोल गजुरेलले अब अध्यक्ष दाहाल आलोपालोमा प्रधानमन्त्री बन्ने बताएका छन् । ‘यो कुरा त पहिलेदेखि मिडियामा आइरहेकै कुरा हो, उहाँहरू दुवैले मिलेर पार्टी र सरकार चलाउनु हुन्छ, आलोपालोमा सहमति भइसकेको छ ।’ दुई पार्टीबीच एकता गराउन दुवै अध्यक्षको भूमिका अहम् रहेको उल्लेख गर्दै उनले एउटा सार्वजनिक कार्यक्रममा भने, ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुंगो लाग्छ, हामीलाई दुवै अध्यक्षमाथि विश्वास छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *