‘चीनसँग नाका खोल्ने कुरा नेपाली कांग्रेसले गरेको हो’ सुजाता कोइराला
काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने बताएकी छिन् । शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै कोइरालाले भनिन् ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदै हुनुुहुन्छ, यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो ।’ सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ । ‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ ।’ सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाई छ ।
‘यतिबेला चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री विच कुराकानी भैरहेको छ । सी र मोदीबीच राम्रो कुरा भयो भने त्यसले नेपाललाई पनि ठूलो फाईदा हुन्छ ।’ नेतृ सुजाताले भनिन् । उनले गिरिजा प्रसाद कोइरालाले भारत र चीनबीच राम्रो सम्बन्ध भयो भने त्यसले नेपाललाई हित र राम्रो हुन्छ भन्ने गरेको सुनाइन् । ‘गिरिजाबाबु भन्नुहुन्थ्यो भारत र चीनबीच मित्रता भयो भने नेपाललाई पनि फाईदा हुन्छ । र, मेरो सोचमा हामी अगाडि गयौं भने यो रिजनलाई नै फाईदा हुन्छ । त्यसैले अहिले भारतमा भैरहेको मोदी र सीको वार्ताको पनि ठूलो महत्व छ ।’
उनले चिनियाँ राष्ट्रपति सी नेपाल आउनु धेरै राम्रो भएको बताउँदै विपीको पालादेखि चीनसँग मित्रता भएको सुनाईन् । उनले भनिन्,‘चीनलाई हामीले बढि महत्वको साथ हेरेका छौं । चीनले नेपाललाई संकट पर्दा सहयोग गर्दै आएको छ । उनीहरुले अब नेपालमा विकास हुन्छ भनिरहेका छन् । उनीहरु केरुङ, किमाथांका नाका, बाटो, सुरुङमार्गको कुरा गर्छन् । नेपालले एउटा ठूलो फड्को मार्छ ।’
गिरिजाबाबुले जहिल्यैपनि ‘एक चीन नीति’ लाई नै समर्थन गर्दै आएको सुनाउँदै कोइरालाले भनिन्,‘उहाँ प्रधानमन्त्री हुँदा स्टेट भिजिटमा जानुभयो । पार्टीको सभापति हुँदापनि पार्टी–पार्टी सम्बन्ध बनाउनको लागि दुई चोटी प्रतिनिधिमण्डल लिएर चीन जानुभयो । छिमेकीसँग पिपुल–टु–पिपुल रिलेशन हुन्छ । पार्टी–टु–पार्टी रिलेशनपनि हुन्छ । यसलाई गलत हिसाबले हामीले सोच्नुहुँदैन । गिरिजाबाबुले सिपिसी पार्टीलाई नेपालमा आमन्त्रित गर्नुभएको थियो ।’
उनले नेपालमा रेल ल्याउने कुरा खुशीको कुरा भएको बताईन् । ‘ट्रेन, कनेक्टिभिटी भनेको यसको धेरै महत्व छ । पूर्वाधार विकासको लागि बाटो हो । विकासको पूर्वाधार नै बाटो हो । सुरुमा मलाई पनि ट्रेनको कुरा गर्दा अर्कै लाग्दथ्यो, तर धेरै अध्ययन गरेपछि ट्रेन चाहिन्छ भन्ने निष्कर्षमा पुगेको छु । भारतबाट र चीनबाट पनि काठमाठौं ट्रेन आउँछ । यो भयो भने दुवै देशबाट नेपालमा लाखौंको संख्यामा पर्यटकहरु आउँछन् ।’
चीनसँग नाका खोल्ने कुरापनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको उनको जिकिर छ । ‘चीनसँग नाका खोल्ने कुरा नेपाली कांग्रेसले गरेको हो । चीन अहिले आर्थिक रुपमा दोस्रो ठूलो शक्ति हो । अहिले नाका खोल्नेबारे महत्व दिएको छ । परिस्थिति परिवर्तन भएको छ । यो खुशीको कुरा हो ।’ चीनको बिआरआई परियोजना राम्रो भएको सुनाउँदै यसबाट नेपालले पनि ठूलो लाभ लिनसक्ने उनको तर्क छ । उनले थपिन्,‘हामीले योमार्फत धेरै परियोजना ल्याउन सक्छौं । लगानी ल्याउन सक्छौं ।’
उनले रेलवे ल्याउने कुरामा पनि सबै कुरामा नेपालले अनुदानमात्रै खोज्न नहुने तर्क गरिन् । उनले भनिन्,‘केरुङ–काठमाडौं रेलको जो कुरा छ, हामी सबै अनुदान नै खोज्छौं । हामीले पनि मेहनत गर्नुपर्छ । मगन्तेजस्तो सबै कुरा लिनु राम्रो होईन । निःशुल्क देउ भन्नुहुँदैन । सस्तो व्याजमा ऋण लिनुपर्छ । हामीले थोरै भएपनि ईनपुट दिँदा कसैको दास भएको हुँदैन । यो रेल हाम्रो हो भन्ने भावना हुन्छ । आत्मसम्मान हुन्छ ।’
नेतृ कोइरालाले चीनबाट लगानी ल्याउनु्पर्नेमा जोड दिईन् । उनले नेपाल विपत्तमा पर्दापनि चीनले ठूलो सहयोग गरेको सुनाईन् । ‘भुकम्प, बाढी, पहिरोले नेपालले धेरै दुःख पायो । प्रकृतिले पनि हामीलाई सहयोग गरेन् । चीनमा प्रविधि आधुनिक छ । उनीहरुले नयाँ नयाँ आविष्कार गरेका छन् । बाटो चाँडो र बलियो बनाउने उनीहरुको प्रविधि छ । हाम्रा ठेकेदारलाई पनि तालिम दिनुपर्छ । चीनबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’