रंगेलीको आदर्श मा.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
असार १६,विराटनगर । दक्षिण पूर्वी मोरङको रंगेली स्थित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको छ ।
लायन्स क्लब अफ विराटनगर एलिटका नयाँ पदाधिकारीहरुको जुलाई १ देखि कार्यकाल सुरुभएको अवसर पारेर पहिलो सामाजिक कार्यका रुपमा रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत २ सय ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
null
विद्यार्थीहरुलाई सोमबारदेखि कार्यकाले सुरु भएको अवसर पारेर क्लबकी अध्यक्ष सोविका पाण्डे, प्रथम उपाध्यक्ष अनुराधा थापा , सचिव प्रेरणा जोशी, क्लबका निर्देशक सर्वजीतराज पाण्डे लगायतले कक्षा १ देखि ५ सम्म अध्ययनरत २ सय ५० जना विद्यार्थीहरुलाई कपि, पेन्सिल, इरेजर, कटर र खाजाका रुपमा विस्कुट वितरण गरेका हुन् ।
सो अवसरमा विद्यालयका आधारभुत तहका प्रमुख कृष्णदेव दाशले सो विद्यालयमा अत्यन्त गरिब, दलित तथा सिमान्तकृत समुदायका वालवालिका मात्र अध्ययनरत रहेको बताउँदै गरिविकै कारण विद्यार्थीहरुले अध्ययनमा निरन्तरता दिन नसकेको दावी गरे । उनले शैक्षिक सामाग्रीकै अभावमा विद्यार्थीको पठन पाठनमा समस्या सृजना भइरहेको अवस्थामा क्लबले विद्यार्थीलाई सामाग्री दिएर उनिहरुको अध्ययनमा सहयोग गरेको भन्दै आभार प्रकट गरे ।
उनले भने ‘यो विद्यालयमा अत्यन्त गरिव परिवारका वालवालिकाले अध्ययन गर्छन् । अभिभावकको आर्थिक अवस्थाकै कारण आफ्ना दाजु वा दिदीले पढेका पुराना खालि पानामा लेखेर पढ्न यहाँका विद्यार्थी वाध्य छन् । कतिपय विद्यार्थीहरु खाना नखाई खालि पेट पढ्न आउने गर्छन् ।
यो अवस्थामा यो क्लबले गरेको सहयोग एकदमै सराहनिय छ, आगामी दिनमा पनि यहाँका विद्यार्थीहरुको अध्ययनका लागि यस्तै किसिमका सहयोगहरुलाई निरन्तरता दिनुहुन अनुरोध छ ।’
शैक्षिक सामाग्री वितरण कार्यक्रममा क्लबकी अध्यक्ष सोविका पाण्डेले आफ्नो पहिलो कार्यकाल सोहि विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेर सुरु भएको बताउदै विपन्न तथा सिमान्तकृत समुदायका वालवालिका अध्ययन गर्ने सो विद्यालयका विद्यार्थीहरुलाई आगामी दिनमा क्लब मार्फत निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले भनिन् ‘हाम्रो कार्यकाले आजबाट सुरुवात भएको छ । आज यो हाम्रो सानो सहयोग मात्र हो, आगामी दिनमा पनि हामी यो विद्यालयका विद्यार्थीहरुका लागि निरन्तर सहयोग गर्नेछौँ ।’
लायन्सका सवै क्लबहरुको कार्यकाल जुलाई १ तारिखदेखि सुरु हुने गरेको छ । आफ्नो कार्यकाल सुरु भएको अवसरमा लायन्स क्लब अफ विराटनगर एलिटले सो कार्यक्रम गरेको हो ।
गत वर्ष डिसेम्बर महिनामा मलिका रिजालको अध्यक्षतामा स्थापना भएको उक्त क्लबले हाल सम्म ताप्लेजुङ जिल्लाका अनाथ वालवालिकालाई न्यानो कपडा वितरण, प्रत्येक महिना विराटनगर स्थित वृद्धाश्रमलाई खाद्यान्न वितरण, अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, रक्तदान, योग शिविरमा पानि वितरण लगायत थुप्रै सामाजिक कार्यहरु गरेको जनाइएको छ ।