प्रधानमन्त्रीलाई मुस्कानको चिठी– तपाईंको ठाउँमा म भएको भए तेजाब हान्नेलाई फाँसी दिन्थेँ

कार्तिक ८, काठमाडौं । एसिड आक्रमणमा परेकी वीरगञ्जकी १४ वर्षीय मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भावुक चिठी लेखेकी छिन् ।   

उनले यसभन्दा अघि नै कडा कानून भइदिएको भए आफू तेजाब आक्रमणमा नपर्ने भन्दै चिठिमा गुनासो पोखेकी छिन् । उनले चिठीमा लेखेकी छिन्, ‘तेजाब आक्रमण ठुलो घटना हो । संगीता खड्का, जेनी खड्कामाथि तेजाब आक्रमण भएकै बेला कडा कानून भइदिएको भए आज म अस्पतालको बेडमा हुने थिइनँ होला । प्रधानमन्त्रीज्यू, तपाईँको ठाउँमा म भइदिएको भए अपराधीलाई फाँसी दिन्थेँ होला ।’ 

उनले प्रधानमन्त्रीसँग आग्रह गर्दै आफ्नो पिडा बुझिदिन आग्रह गर्दै अबका दिनमा आफूजस्तै कोही पनि छोरी अस्पतालमा आउन नपरोस् भन्ने कामना समेत गरेकी छिन्। 

‘यसपाली उसले ठूलो भन्दा ठूलो सजय पाओस् कि मजस्तो एउटा बालिकामाथि या चेलीबेटी वा कसैमाथि पनि तेजाव आक्रमण नहोस्,’ उनले चिठीमा लेखेकी छिन् ।   

गएको भदौ २० गते मुस्कान स्कुल जाँदै गर्दा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले उनीमाथि एसिड प्रहार गरेका थिए ।   

प्रेम प्रस्ताव अस्वीकार गरेका कारण खातुनमाथि एसिड प्रहार गरेको ती युवाहरुले प्रहरी अनुसन्धानका क्रममा बयान दिएका थिए ।   

अहिले उनी किर्तिपुर अस्पतालमा उपचाररत छिन् । सामाजिक अभियान्ता उज्वल थापाले रेखदेख गरिरहेका छन् । सरकारले मुस्कानको उपचारका लागि ३ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ ।   

प्रधानमन्त्रीलाई मुस्कान खातुनकाे चिठीः 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *