‘हातेमालो गर्दै धरान नगरको विकासमा लाग्ने छु’
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धरान उपमहानगरपालिकाको उपमेयरका लागि अगाडी सरेका युवा हुन् प्रकाश राई । राप्रपा नेपालको धरान नगर उपाध्यक्ष समेत रहेका राई धरानलाई शिक्षा, स्वास्थ्य क्षेत्रको हव बनाउने कुरा गर्नुहुन्छ । धरानलाई पर्यटकीय शहरमात्रै भनेर धरानको दिगो विकास हुन नसक्ने उहाँको ठहर छ । असार १४ गते हुन लागेको स्थानीय निर्वाचनमा राईको उम्मेद्वारी किन र के का लागि भन्ने विषयमा गरिएको कुराकानीको संक्षेपः
स्थानीय निकायको चिर्वाचनमा नजिँकिदै गर्दा निर्वाचन प्रति धरानबासीले कस्तो प्रतिक्रिया दिएका छन् ?
२ दशक पछि हुन लागेको स्थानीय निकायमा उत्साहपूर्वक सहभागी हुनुपर्छ भनेर आम धरानबासी लाग्नु भएको पाएका छौं । मैले उपमेयरमा उम्मेद्वारी दिइरहँदा पनि धेरै नगरबासीले युवाहरु राजनीति र नेतृत्वमा आउनुपर्छ भनेर सकारात्मक सुझाव नै दिनु भएको छ । र निर्वाचन भनेको आम जनताको नैसर्गिक अधिकार पनि भएकोले सबैको सहभागीतामा उत्साहपूर्ण र भयरहित वातावरणमा हुनुपर्छ भन्ने सोच रहेको पाएको छु ।
‘धरानको विकासमा युवाहरुको प्रत्यक्ष सहभागीता हुनु पर्छ’ |
तपाईले उपमेयरमा उम्मेद्वारी दिनुको कारण के हो ?
हामी कहाँ अहिलेसम्म युवाहरु नेतृत्व तहमा पुग्न सकेका छैनन् । र, पछिल्लो समय देशको राजनीतिक अवस्थाले पनि राजनीति प्रति वितृष्णा बढेको पाएको छु । मैले यहि परिप्रेक्षमा पनि यस पटक उम्मेद्वारी दिएको हुँ । अबको धरानको विकासमा
युवाहरुको प्रत्यक्ष सहभागीता हुनु पर्छ भन्ने हो । धरानलाई युवाहरुको शहर त्यसमाथि लागूपदार्थ सेवन गर्ने दुब्र्यसनीहरुको शहर भनेर गिज्याई रहँदा मैले यो ट्यागलाई निमिट्यान्न बनाउन पनि उम्मेद्वारी दिएको हुँ ।
धरानका मुख्यमुख्य समस्याहरु के–के छन् ?
मुख्य रुपमा मैले देखेको समस्या भनेका, अब्यवस्थित बसपार्क, सुकुम्बासी समस्या, फोहरमैला ब्यवस्थापन, गुण्डागर्दी नै हो । यसका अलावा हामीले धरानलाई पर्यटकीय शहर भनेर भनिरहँदा हाम्रा पर्यटकीय क्षेत्रको पहिचान गरी त्यसको उचित संरक्षण र विकास गर्न सकेका छैनौं । विजयपुर क्षेत्र, विष्णुपादुका क्षेत्र जस्ता ऐतिहासिक धार्मिक क्षेत्रको संरक्षण गरेर त्यसको प्रचार प्रसार गर्न सकेका छैनौं । युवावर्गहरु लागूपदार्थ दुब्र्यसनीको शिकार भएका छन् । युवाहरुमा बेरोजगारी बढ्दो छ । भने, उपमहानगरपालिकाको आफ्नै आम्दानीका स्रोतहरु बढ्न सकेका छैनन् ।
धरानको विकासमा कस्तो योजना आवश्यक छ ?
धरानलाई अहिलेसम्म हामीहरुले पर्यटकीय शहर भनेरमात्र भनेका छौं । धरानलाई कुन क्षेत्रमा कुन विषय लिएर गर्न सकिन्छ त्यता ध्यान दिनुपर्छ । यहाँ देशकै एउटै खाद्य प्रविधि पढाई हुने हात्तिसार क्याम्पस छ, पूर्वाञ्चल इन्जिनियरिङ कलेज, चिकित्सा शिक्षामा दक्षिण एशिया कै प्रतिष्ठित र गुणस्तरीय वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । त्यो वाहेक सरकारी र निजी क्षेत्रबाट सञ्चालन भएका धेरै शैक्षिक संस्थाले धरानको शिक्षा क्षेत्रको विकासमा ठूलो योगदान दिएका छन् । र अब हामीले यहि विषयलाई उठाएर धरानको विकास गर्न आवश्यक छ । धरानको विजयपुर, बुढासुब्बा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ । त्यहाँका ऐतिहासिक स्थलको संरक्षण गर्न आवश्यक छ । पाँचकन्या क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकास गर्न पर्छ । विष्णुपादुका क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्र बनाउनुपर्छ । मैले धरानको विकासमा बोक्ने एजेण्डाहरु यीनै हुन् ।
उपमहानगरबासीका दैनिक प्रशासनिक काम कारवाहि चुस्त दुरुस्त नभएको अवस्थामा यहाँ विजयी भएर आएपछि कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
यो हामी सबैले भोगेको कुरा हो । यसको कारण भनेको स्थानीय निकायमा जनप्रतिनिधी नहुनु नै हो । दुई दशकसम्म स्थानीय निकाय कर्मचारीका भरमा चल्दा जनताले भने अनसार सेवा सुविधा पक्कै पाएका छैनन् । कर्मचारीमा जवाफदेहिता, जिम्मेवारीताकम भएर गएकै हो । यदि म उपमेयरमा विजयी भएर आएको अवस्थामा सबैभन्दा पहिला वडा तहदेखि नगरसम्मका सम्पूर्ण जनप्रतिनिधीलाई जनताप्रति उद्दरदायी बनाउने काम गर्छु । अब राज्य संघिय संरचनामा गइसकेको अवस्थामा स्थानीय निकाय पनि सोहि ढाँचामा जानुपर्छ । र त्यसका लागि म समाजका रहेका हरेक वर्ग समुदाय र उमेरका ब्यक्तिहरुसँग हातेमालो गर्दै नगरको विकासमा लाग्ने छु ।
तपाईले उपमेयरमा जित्ने आधार के के हुन् ?
म अहिलेको युवा पुस्ताबाट प्रतिनिधित्व गर्ने ब्यक्ति हुँ । मैले उम्मेद्वारी दिइरहँदा धरानका ५० प्रतिशत भन्दा बढि युवाहरुको प्रतिनिधित्व गर्दछु । म यहि ठाउँमा जन्मिए, यहिँ हुर्किए र यहाँका हरेक समस्या र विषय प्रति जानकार छु । मैले पार्टीमा लागेर पार्टी प्रति र जनता प्रति जिम्मेवार रुपले काम गरेको देखेर नै अगाडी सारेको हो । त्यस कारण मेरो जित भनेको समग्र युवाहरुको जीत भएको हुने छ ।
धरानका युवावर्गको नेतृत्वको कुरा गर्दा उनिहरुको विकासका लागि के कस्ता योजना ल्याउनु हुन्छ ?
यहाँको मुख्य समस्या भनेको युवाहरु लागूपदार्थ दुब्र्यसनको चपेटामा परेका छन् । यसका विभिन्न आयामहरु छन् । मुख्य जनचेतनाको कमी, बेरोजगारी, सहि दिशानिर्देश गर्न नसक्नु नै हो । म यही विषयमा केन्द्रित रहेर युवा लक्षित कार्यक्रम बनाउछु । लागूपदार्थ दुब्र्यसन नियन्त्रण गर्न, युवा स्वरोजगारका कार्यक्रम बनाउने छु । यसका लागि उनिहरुलाई निःशुल्क शिपमुलक तालिम दिने, प्राविधिक शिक्षामा जोड दिने, कृषि क्षेत्रमा आकर्षित गर्ने, खेदकुद तर्फ लाग्न सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने लगायतका योजना रहनेछन् ।
अन्तमा धरानबासीलाई भन्नुपर्ने कुरा केही छ ?
दुइ दशकपछि हुनलागेको स्थानिय निकायको निर्वाचनले स्थानीय सरकारमा जनप्रतिनिधी पठाउने हुँदा यसले स्थानीय तहको विकासमा ठूलो भूमिका निर्वाह गर्छ । यो निर्वाचनले देशलाई संघिय संरचना लैजानेछ । यसका साथै नयाँ संविधान कार्यान्वयन गर्ने मौका पनि भएकोले आउँदो असार १४ गतेको निर्वाचनमा सम्पूर्ण धरानबासी जनतामा सक्रिय सहभागीता जनाएर योग्य र सक्षम जनप्रतिनिधी चयन गर्न हार्दिक अनुरोध गर्दछु ।