पानी जहाज ल्याउने कुरा हास्यास्पदः नेता सिंह
असार १४, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा र सुशासनमा सरकार असफल भएको आरोप लगाएका छन् ।
गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाको आयोजनामा आज मुर्गियामा ‘लोकतन्त्र, नैतिकता, भ्रष्टाचार र सुशासनका लागि अध्ययनको भूमिका’ विषयक विचारगोष्ठीमा उनले मेलम्चीको पानी धारामा ल्याउन नसक्ने सरकारले पानी जहाज ल्याउने कुरा हास्यास्पद भएको टिप्पणी गरे ।
null
नेता सिंहले सरकारले विधिको शासनलाई समेत लत्याएको उल्लेख गर्दै सरकारले विदेशी लगानी भित्र्याउन नसकेको बताए ।
उनले सरकारले विकास बजेट समयमा नै खर्च गर्न नसकेको आरोपसमेत लगाउँदै विकास निर्माणदेखि सबै विषयमा सरकार असफल भएको दाबी गरे ।
गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाले लोकतन्त्रमा अध्ययनलाई प्रभावकारी बनाउन भन्दै केही समयदेखि पुस्तकालय निर्माणको प्रक्रिया अघि बढाएको छ । सो पुस्तकालयको संरक्षक नेता सिंह हुन् । रासस