पशुपतिमा बाबाको चर्तिकला, पैसा मागेरै हैरान ! (२९ तस्वीर)

फागुन ७, काठमाडौं । काठमाडौंस्थित पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । शिवरात्री नजिकिएसँगै तयारी तीव्र पारिएको हो ।   

पशुपति मन्दिरको मुख्य प्रवेशद्वार तथा पशुपति क्षेत्र झकिझकाउ पारिँदै छ । बत्तीको व्यवस्थापन पनि भइरहेको छ । फागुन ९ गते पर्ने यो पर्वका लागि भारत तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त तथा बाबाहरु आउने क्रम सुरु भइसकेको छ ।   

मन्दिर परिसरमा प्रवेश गरेका भक्तजनहरु बाबाहरुलाई हेर्न मग्न देखिन्छन् । सँगसँगै माग्न बस्नेहरुको पनि जमातै देखिन्छ । पशुपति क्षेत्रलाई ‘मगन्तेरहित’ क्षेत्र घोषणा गरिएपनि शिवरात्री नजिकिएसँगै मगन्तेको ताँती लागको छ ।   

कोही बाबाको भेष धारण गरी माग्न बसेका छन् भने कोही अपांग, वृद्धवृद्धा र बालबालिका छन् । अधिकांश माग्न बसेकाहरु भारतीय मुलका देखिन्छन् ।   

पशुपति दर्शनका लागि छिर्नेबित्तिकै कोही दुई हातले बैशाखी टेक्दै ‘बालिके कृपा करो’ भन्दै पछिपछि आउँछन् । कोही भने आफू बसेको ठाउँमा मान्छे देख्नेबित्तिकै हात फैलाउँछन् । कोही भने ‘चन्दन निधारमा टाँसिदिने’ बहानामा पैसा मागिरहेका भेटिन्छन् ।   

माग्न बसेकाहरुको मात्रै होइन, बाबाहरुको चर्तिकला पनि उस्तै छ । उनीहरुलाई हेर्नेको जमातै छ पशुपतिमा । कोही आफू छेउ आउनेबित्तिकै उनीहरु माग्न सुरु गरिहाल्छन् । तस्विर त झन् खिच्नै हुन्न, पैसा माग्न सुरु गरिहाल्छन् ।   

फोटो खिच्नै लाग्दा ‘कुछ तो दो ना बेटी’ भन्दै हात फैलाइरहेका एक बाबाले भने, ‘पैसा नदिए शिवरात्रीमा मात्रै खिच्न आउनू ।’   

वास्तवमा साधुसन्त तथा बाबाहरुको मुख्य उद्देश्य धर्मको जगेर्ना र प्रचार गर्नु हो । सन्यासी एवम् अघोरीहरु आफैंमा भोक लोभ, मोहबाट मुक्त हुनुपर्ने हो । तर, पशुपतिमा आउने सबै साधकहरु यस्ता गुणी छैनन् ।     

पशुपति क्षेत्रमा शिवरात्रीमा नेपाल लगायत भारतका विभिन्न सन्यासी अखडाबाट साधुहरु आउने गर्छन् । भारतको जुना अखडा, निरञ्जनी अखडा, पञ्चदशनाम अखडाजस्ता जोगीका चर्चित अखडा हुन् भने काठमाडौंको थापाथलीमा पनि गोरखनाथ, वैष्णव, नानक र उदासी अखडा छन् ।   

पशुपति क्षेत्र विकास कोषका अनुसार शिवरात्रीको दिनसम्ममा यो वर्ष मात्रै पाँचदेखि छ हजारको हाराहारीमा विभिन्न सम्प्रदायका साधकहरु पशुपति आउने अनुमान गरिएको छ । यद्यपि अहिलेसम्म भने आधा पनि साधकहरु आएका छैनन् ।   

नागाबाबा पशुपति आएसँगै गुठी संस्थानले धुनी, भोजन र बिदाइको व्यवस्था गर्छ । यसका लागि संस्थानले यस वर्ष ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

बाहिरबाट आएका साधकहरुको लागि खान र बस्ने व्यवस्था शिवायल क्षेत्रमै मिलाइएको छ । संस्थानले बिदाईका समयमा साधुको परिचयपत्रका आधारमा एक जना साधुलाई ३ सय ५१ देखि १ हजार ७ सय रुपैयाँसम्म दक्षिणा समेत दिने गर्छ ।   

यो वर्ष स्वदेशी र विदेशी गरी करिब २० लाखको हाराहारीमा दर्शनार्थीहरु आउने अपेक्षा राखिएको छ । सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । शिवरात्रीका लागि पशुपति क्षेत्रमा ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको कोषले जनाएको छ । 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *