लकडाउन कडा बनाउन नयाँ रणनीतिमा प्रहरी

चैत्र १५, काठमाडौं। नेपाल प्रहरी ‘लकडाउन’को पालना गराउन थप कडारुपमा प्रस्तुत हुने भएको छ। सरकारले कोरोना भाइरस (कोभिड-१९)को जोखिम कम गर्न गत मंगलवारदेखि लकडाउन घोषणा गरेको छ। 

लकडाउनको पाँचै दिन आज बिहान ९ बजेसम्म मात्र प्रहरीले काठमाडौंमा मात्र ३ सय १५ जनालाई नियन्त्रणमा लिएको छ। सरकारको निर्णय नटेरेको भन्दै प्रहरीले उनीहरुलाई धमाधम पक्राउ गरेको हो। सरकारले कसैलाई पनि अनुमतिविना घरबाहिर ननिस्किन अनुरोध गरेको छ। तर मानिसहरु सडकमा निस्किएपछि प्रहरी थप कडारुपमा प्रस्तुत हुने भएको हो।   

‘आज धेरै मानिस सडकमा आएको देखियो। त्यसैले नियन्त्रणमा लिएका हौं,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने। प्रहरीले राज्यको लागि भन्दा पनि जनताको सुरक्षाका लागि लकडाउन भएकाले अब थप कडारुपमा प्रस्तुत हुने जनाएको हो।   

‘पहिलो दोस्रो दिने धैरैले बुझेनन्। थाहा पाएनन् होला भनेर पनि छोडियो। अब त्यस्तो हुँदैन सडकमा देखियो कि समाउने हो,’ डिआइजी पोखरेलले भने। त्यस्तै ट्राफिक प्रहरीले पनि अनुमति नलिइ सवारी चलाउनेलाई नियन्त्रणमा लिइरहेको छ। 

यसरी समातिएकाहरुलाई अवस्था हेरी केही घन्टा वा दिनभरि पनि नियन्त्रणमा राख्न सक्ने प्रहरीले जनाएको छ। कोरोनाको त्रासका कारण हिरासतमा भने राखिँदैन। प्रहरीले यस्ता मानिसलाई समात्न नयाँ प्रविधिको प्रयोग गर्न थालिसकेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *