सरकार दलाल र ठेकेदारले चलाएः चित्र बहादुर केसी

मंसिर २२, बागलुङ । सरकार दलाल र ठेकेदारबाट निर्देशित भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चा बागलुङको छैठौं जिल्ला अधिवेशनको गलकोटमा उद्घाटन गर्दै अध्यक्ष केसीले दुई तिहाइको शक्तिशाली सरकार भए पनि संघीय सरकार गतिशिल बन्न नसकेको भन्दै उक्त आरोप लगाएका हुन् । 

उनले अबका दिनमा पनि सरकार जनताको समस्या हल गर्ने दिशामा जान नसक्ने पनि जिकिर गरे । ‘दलाल र ठेकेदारले चलाएको सरकारले जनताका समस्या समाधान गर्ला भन्ने आश छैन ।’ उनले भने । 

 

null

अध्यक्ष केसीले देश विदेशी ऋणको भरमा चलेको दाबी गर्दै दक्ष जनशक्ति विदेश पठाएर रेमिट्यान्सले अब देशको विकास समेत नहुने ठोकूवा गरे । केसीले संघीयता विरोधी एजेण्डा बोकेर राष्ट्रियताको रक्षाका लागि लाग्न आग्रह गरे । अहिले कायम प्रदेश सरकार कामकाजी नभएको आर्थिक बोझ मात्र थपेको भन्दै अब प्रदेश सरकार खारेज गर्नुपर्ने समेत उनको दावि थियो । 

‘संघीयता न नेपाली जनताले चाहेर आएको हो, न त नेपाली नेताको दिमागको उपज नै हो, यो त अरु कसैको ईशारामा जनतामाथि लादिएको मात्रै हो ।’ उनले भने । 

केसीले प्रधानमन्त्री ओलीलाई भारतीय विस्तारवादका पर्याय भएको आरोप पनि लगाए । भारतीय नाकाबन्दीका बेला राष्ट्रवादी छवी बनाएका वर्तमान प्रधानमन्त्री केपी ओलीको अहिलेको सरकार भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद तथा युरोपियन युनियनको दलाली गरेर सत्ता टिकाउन केन्द्रित भएको उनको भनाइ थियो । 

केसीले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक रुपान्तरण हुन नसकेको भन्दै अब समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए । साथै अहिलेको संघीय राज्य व्यवस्थाले जनताको टाउकोमा कर थोपर्ने काम बाहेक अरु केही नगरेको उनको तर्क थियो । 

बाग्लुङ जिल्ला अध्यक्ष अमर थापाले दुई दिनसम्म चल्ने सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *