राष्ट्रवादी सरकारका एक वर्ष र सिके राउतसँग स्खलित प्रधानमन्त्री

 

एजेण्डाको हिसाबले नेपाल कम्युनिस्ट पार्टी (माओबादी र एकीकृत माक्र्सवाद लेनिनवाद) दुई ठुला पार्टी कार्यगत मात्र नभइ जब सङ्ठनात्मक रुपमा एक भए तत्पश्चात पार्टीको नयाँ न्वारन भयो । ‘नेपाल कम्युनिस्ट पार्टी’ 

सधैं बहुमतको कोठरीको आधारमा चल्ने सरकारबाट वाक्क दिक्क भएका जनता कम्युनिस्टको सङठनात्मक एकता पछि संसदिय पाटो बलियो बनाउन लागे र परिणाम पनि आशा अनुरुप देखियो । फलस्वरूप संसदमा दुई तिहाइ प्रतिनिधित्व सहित दरिलो खम्बा तयार भयो । जस्को जगमा के.पि. शर्मा ओलि देशको प्रधानमन्त्री हुन सफल हुनुभयो । 

null

प्रधानमन्त्री भए पश्चात पदभार ग्रहण गर्दैमा मेरो प्रधानमन्त्रीको जिब्रो डग्मगायो र CTEVT लाई CCTV भन्नुभो जुन क्ष्यम्य नै बन्यो । प्रधानमन्त्री मिस्टेक गर्नु भो भन्ने भो बिपक्षिले केही दिन हल्ला गरे । तर, खासै बहसको बिषय भएन । लाग्यो प्रधानमन्त्री झुक्किनु भयो । 

मेरो प्रधानमन्त्री सङ्ग एउटा गौरबको इतिहास जिबित थियो । अघोषित भारतीय नाकाबन्दीमा देखाएको शान र आत्मसम्मान जसको कारण सानो बिचलनमा डराउनु हुदैन र थाक्नु हुँदैन मेरो प्रधानमन्त्री भन्नेमा सबै जनता बिश्वस्त थिए । आम नेपाली जनतालाई बेग्लै राष्ट्रवादको हुटहुटी थियो । चिया पसलमा सर्बसाधारण गफिन्थे ‘अब कांग्रेस सक्कियो’ अब ओलिले देश ढल्न र मन गल्न दिँदैनन । 

कार्यकर्तामा यती धेरै जोस र उमंग बढ्यो कि स्थानीय नेता कार्यकर्ता सांसद नै भए जस्तो भान हुन थाल्यो जुन राजनैतिक पर्यावरण अनुसार स्वाभाविक नै थियो । प्रत्येक गाउँ शहरले भरिपुर्ण भयो । कतै जागिर, कतै रोड, कतै पक्कि पुल, कतै छानो फेरिदिने आश । जनताको आशा इच्छा भावना अनुरुप मेरो प्रधानमन्त्री बोल्न थाल्नुभो । 

तराई जाँदा पानीजहाज, पहाड जाँदा स्विजरल्यान्ड कै जस्तो रेल, हिमाल जाँदा हावाबाट बिजुली । प्रधानमन्त्री जहाँ जानुहुन्थ्यो बोल्न सुरु गरे देखि अन्त्य सम्म परर.. ताली आउँथ्यो । सुनौ सुनौ लाग्थ्यो उहाँको भाषण । लाग्थ्यो अब विकासको मुल फुटिरहेछ । सरकार भिजन छ, संबृद्ध नेपाल सुखी नेपालीको रोड म्याप छ । जुन कार्यन्वयन गर्न बाँकी मात्र हो । 

प्रधानमन्त्रीको त्यो बलियो सपना सङ्गै सुरु भयो यातायात क्षेत्रमा दशकौं देखि विद्यमान सिन्डिकेट हटाउने चर्चा । संसदिय अभ्यासमा बलियो पिल्लरका सशक्त गृहमन्त्रीले संसद तताउनुभयो ‘अब सिन्डिकेटको अन्त्य हुन्छ’ त्यो बेला संसदमा पक्ष प्रतिपक्षका सबै सांसदहरुले एकनासले ताली बजाएर सरकारको निर्णयको स्वागत गरे । सुरुका केहि दिन सिण्डिकेटका विरुद्ध मन्त्री, यातायात क्षेत्रका सचिब, कर्मचारीको कार्यशैली क्रान्तिकारी जस्तो भयो । राजधानीमा सार्वजनिक बसमा यात्रा गर्ने आम नागरिक उत्साहित भए । ‘अब सरकारले केहि गर्छ ।’ 

दिनहरु वित्दै गएपछि बिस्तारै यातायात क्षेत्रको सिण्डिकेट पुनः बलियो बन्न थाल्यो । यातायात क्षेत्रका माफियाहरु सल्वलाउन थाले । एकाध महिनामै पुनः उनीहरुले राजधानीका सडक कब्जा गरे । आम नागरिकलाई लाग्यो, परिवर्तन कहाँ एकैचोटी हुन्छ र ! सरकारलाई एकैचोटी काम गर्न गार्हो हुन्छ । सिण्डिकेटका नारा बिस्तारै सेलाएर गयो । 

कञ्चनपुरमा ७५ साल साउन १० गते स्थानीय उखुबारीमा १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्या भयो । मेरो गृहमन्त्रीले संसदमा उभिएर भन्नुभयो ‘पुँजीवादका कारण बलात्कार भयो ।’ 

बिस्तारै क्रमशः अन्य काण्ड बाहिरिँदै गए । गृहमन्त्री सुन काण्डमा जोडिनुभयो ‘ठुला माछा’ को कुरा आयो । गृहमन्त्रीले आफुभन्दा माथि ठूला माछा रहेको अभिब्यक्ति दिए । सुन काण्ड बिस्तारै सेलायो । सुन भनेर पक्रिएको सुन तामा निस्कियो । 

बिस्तारै राष्ट्रपतिको हेलिकप्टर काण्ड ,मेनपावर काण्ड, ठेकेदार काण्ड दशैंको टीका काण्ड, होली वाइन काण्ड । सबैमा प्रधानमन्त्री देखि सरकार र राष्ट्रपति सम्म जोडिनुभयो । पछि वाइडबडी काण्ड आयो । मेरो लोकप्रिय प्रधानमन्त्रीको एक वर्ष काण्डैकाण्डले वित्यो । फागुन ३ गते प्रधानमन्त्रीले बर्षगाठ मनाउनुभयो । जनताका नाममा सार्वजनिक संवोधन पनि गर्नुभयो ।  

जनतालाई लाग्यो एक बर्ष न हो के नै पो गर्न सकिन्छ र ! दोस्रो वर्ष लागेसँगै अब धमाधम सुरु हुन्छ संबृद्ध नेपाल सुखी नेपालीका काम । जनताले सोचे । पुराना कुरा विर्सिए । 

पहिलो बर्षगाठको अन्त्य, सङ्गै मेरो प्रधानमन्त्रीले नागरिकता सम्बन्धी बिधेयक, सि के राउत सँग सम्झौता र बिप्लब माओवादीलाई राजनीतिक प्रतिबन्ध लगाउनु भयो । त्यसपछि भने, आम जनतामा त्रास फैलियो, हाम्रा प्रधानमन्त्री कतै गलत ट्रयाकमा त हुनुहुन्न ! राष्ट्रवादी प्रधानमन्त्री कतै सिके राउतसँगको संम्झौतामा चिप्लिनु त भएन ? 

सामान्य अर्थमा बुझ्दा नागरिकता एक व्यक्ति र एक देशको बिशेष सम्बन्धका रूपमा रहेको अभिलेख हो ।नागरिकता सम्बन्धी नेपाली नागरिकता ऐन संसोधन बिधेयक २०७५ मा प्रष्ट रुपमा नेपालको सार्वभौम अस्तित्वलाई समाप्त पार्ने प्रपन्च गरिएको छ । 

२०७२ साल असोज ३ गतेभित्र जन्मेका आधारमा नागरिकता लिएका विदेशीहरूका सन्तानहरूलाई बंशजको नागरिकता दिने, नेपालभित्र रहेका आमाबुबा पहिचान नभएका बच्चालाई नागरिकता दिने, बाबुको पहिचान नभए पनि आमाको नाममा नागरिकता दिने, विदेशीसँग विवाह गरेका नेपाली महिलाका सन्तानहरूलाई अंगिकृत नागरिकता दिने, विदेशीसँग विवाह गरेर त्यस देशको नागरिकता नलिएको दाबी गरे उक्त महिलाका सन्तानलाई नागरिकता दिने र नेपाली पुरुषसँग विवाह गरि आउने विदेशी महिलालाई पनि तत्काल नागरिकता दिने प्रावधानहरू राखिएका छन् । जस्ले सरासर नेपालको भुअखण्डमा प्रत्यक्ष असर पार्ने निश्चित छ । 

गणितीय हिसाबमा राजनीतिमा सम्झौता भन्नू राम्रो र सकारात्मक बिषय हो । तर, बस्तुगत हिसाबले भने के र किन भन्ने प्रश्नको उत्तर खोज्छ । स्वतन्त्र मधेशको अभियानका नाइके सिके रावतसँग जुन तबरमा ११ बुँदे सम्झौता भयो के त्यो पुरै राष्ट्रको पक्षमा थियो त ? थियो भने सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच लामो अस्थिरता पछि गरिने सम्झौता जस्तो भाषामा किन गरियो ? 

सम्झौतामा र सम्झौता पश्चात् कहिँ कतै पनि राउतले ‘अब उपरान्त स्वतन्त्र मधेशको नारा दोहोराउने छैन र देश टुक्राउने कुरा गर्ने छैन भनेर किन भन्न सकिरहेका छैनन्, उनका भाषणहरु अझैपनि किन जनमत संग्रह तर्फ इङिगत भइरहेका छन् ? किन U.N.P.O.बाट सदस्यता फिर्ता गर्छु भन्दैनन् । 

राउतका यी सबै कृयाकलाप हेर्दा उनले सरकारसँग गरेको सहमति कतै स्वतन्त्र मधेशकै पक्षमा त गएन ? कतै हाम्रा प्रधानमन्त्री विखण्डनकारीको चंगुलमा त पर्नु भएन ? आम जनतामा यी प्रश्न छन्, जसको जवाफ प्रधानमन्त्रीले अहिले दिनुहुन्छ कि समयले हेर्न बाँकी छ । 

बर्तमान संविधानलाई बहिस्कार गर्दै राष्ट्रियता, स्वाभिमान र आत्मसम्मानका कुरा उठाउँदै अर्घभूमिगत रुपमा शशस्त्र आन्दोलन गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टी (विप्लब) लाई यो साता सरकारले प्रतिबन्ध लगायो । 

विप्लब माथिको प्रतिबन्धले यतिबेला सारा देश आश्चर्य चकित भएको छ । राष्ट्रियताका सन्दर्भमा भारतीय सिमा क्षेत्रमा काँडेतार लगाउनुपर्छ भन्ने विप्लब समुहलाई आतंककारी भन्दै प्रतिबन्ध लगाउँदा र देश विखण्डनको नारा लगाएको सिके राउतसँग सहमति गर्दा हाम्रा राष्ट्रवादी प्रधानमन्त्रीको चौतर्फि आलोचना भएको छ । 

नेपाल तरल भू–राजनीति भएको देश हो । यसलाई हतियार बनाएर अमेरिका र इण्डो पश्चिमा मुलुक चीनसँगको शक्ति संघर्षलाई मुर्तरुप दिन चाहन्छन् । विदेशी शक्तिहरुको स्वार्थ नेपाल सधैं अस्थिर होस भन्ने छ । विप्लबलाई आतंककारी घोषित गरेर राज्यसँग भिडाई देशलाई पुनः अस्थिर बनाउने अमेरिकी र इण्डोपश्चिमा राष्ट्रहरुको ग्राइण्ड डिजाइन भइरहेको बुझ्न सकिन्छ । नेपाललाई जाति, धर्म, संप्रदाय, आर्थिक, सामाजिक तथा भौगोलिक रुपमा अस्थिर बनाउँदा भारत चीन र अमेरिकी स्वार्थ पुरा हुने भएकोले विप्लबलाई हतियार बनाइएको हो । 

अहिलेको परिवेशलाई बिष्लेषण गर्ने हो भने यहाँ दिर्घकालिन खेल चलिरहेको छ । नेपाललाई अस्थिर राख्न अमेरिकाको आफ्नै स्वार्थ छ । छिमेकी मुलुक भारतको झन ठूलो स्वार्थ देखिन्छ । चीन, पाकिस्तानका पनि आ–आफ्ना रणनीति छन् । 

यो एउटा ठूलो राजनीति हो । गरिब मुलुकको राजनीति अस्थिर बनाइयो भने त्यहाँ धनी मुलुकले अघोषित शासन गर्न पाउँछन् । त्यसमाथि भू–परिवेष्टित देशहरुमा विकसित देशको अधिनायकवाद सदैव देखिएको छ । संसारका अधिकांश भूपरिवेष्ठित देशहरु नामांकन र सिमांकनको हिसाबले स्वतन्त्र होलान्, तर आर्थिक, सामाजिक र विकासका दृष्टिकोणले सधैं परजिवी हुनुपरेको छ । नेपाललाई पनि त्यहि बनाइने खेल भइरहेको छ । 

पछिल्लो समयमा सि के राउतसँग सम्झौता र विप्लब माथिको प्रतिबन्ध बिदेश निर्देशित राजनीति हो । यस्ता सम्झौतालाई बुझ्न सकिएन भने राष्ट्रको इतिहास धर्मराउन पनि सक्छ । नक्साङ्कन तल माथी हुन सक्छ । रुवाण्डाको इतिहास दोहोरिन सक्छ वा फिजि, सिक्किमीकरण हुन बेर लाग्दैन । 

यो विषयमा हाम्रो नेतृत्व न जिम्मेवार छ न राष्ट्र सेवक नै । हाम्रा राजनेता हरुमा अझै सत्ता लिप्सा छ । उनीहरुमा नैतिकता, इमान्दारिता र सदाचारिता छैन । जसको फाइदा विदेशी साम्राज्यवादहरुले उठाइरहेका छन् । 

अहिले मुलुकको अर्थतन्त्र विदेशी अनुदान र रेमिट्यान्समा आधारित छ । मुलुकको आन्तरिक आयस्रोत बृद्धि गर्न राज्यसँग अल्पकालिन, दिर्घकालिन योजना छैन । संसारमै जलस्रोतको दोस्रो ठूलो देशका ४० प्रतिशत जनता अझैपनि अन्धकारमा छन् । वर्षेनी अरबौंको उर्जा खरिद गर्नुपर्ने अवस्था छ । 

विदेशी ऋण र अनुदानले हामीलाई हाम्रो प्रकृति र श्रोत साधनबाट टाढा बनाइरहेका छ साथमा हाम्रो सार्बभौम अस्तित्वलाई अझ कम्जोर बनाउदै छ । हाम्रो जस्तो भिन्न जातिय पहिचान भएको मुलुकलाइ अस्तब्यस्त बनाउन २१ औ शताब्दीको हतियार बनेर आएका एनजिओ आइएनजिओ खुल्ला रुपमा गाउँ बेशी भित्रिएका छ्न । जसले जातिय लिगल टेन्डर (Ethnic legal Tender) खोले जसरी ताम्सालिङ, थरुहट, मगरात, नेवा, राज्य भन्दै जनतामा जातिय द्वेश फैलाउने कार्य गरिरहेका छन् । 

अब बुझ्नु जरुरी छ भर्बल डायारिया(Verbal diarrhea) बाट ग्रसित मेरो प्रधानमन्त्री र विभिन्न पार्टी नेतृत्व पुर्णरुपमा सच्चिएनन् भने देशले ठूलो क्षति बेहोर्न सक्छ । देशको इतिहास र पहिचान मेटिन सक्छ । 

सबै भन्दा ठूलो कुरा राष्ट्र र राष्ट्रियता हो । तर, यहाँ हामीहरु राष्ट्र राष्ट्रियताका सवालमा लम्बेतान भाषण दिन सक्छौं, ब्यवहारमा उतार्न सक्दैनौं । अघोषित भारतीय नाकावन्दीमा केपी ओली भित्र देखिएको राष्ट्रवाद सिके राउतसँगको सम्झौतामा स्खलित भइसकेको छ । उनीपनि उहि ड्याङको…..जस्तो निस्किए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *